BIZMANDU
www.bizmandu.com

दसैं तिहारमा ३५०० भन्दा धेरै गाडी डेलिभरी, १४ अर्बको व्यापारमा कुन ब्रान्डका कति?

२०८२ कात्तिक १०

दसैं तिहारमा ३५०० भन्दा धेरै गाडी डेलिभरी, १४ अर्बको व्यापारमा कुन ब्रान्डका कति?
दसैं तिहारमा ३५०० भन्दा धेरै गाडी डेलिभरी, १४ अर्बको व्यापारमा कुन ब्रान्डका कति?

काठमाडौं। अटो व्यवसायीले यसपालि दसैं र तिहारमा ग्राहकलाई १४ अर्ब रुपैयाँभन्दा बढीका गाडी बिक्री गरेका छन्।

Tata
GBIME
Nepal Life

बाढी पहिरो र जेनजी आन्दोलनको चपेटामा परेका व्यवसायीले दसैं र तिहारमा १४ अर्ब रुपैयाँ भन्दा बढी मूल्यका गाडी बिक्री गरेका हुन्।

अटो व्यवसायीका लागि दसैं र तिहार व्यापारको मुख्य सिजन मानिन्छ। यो समयमा उनीहरुले वर्षभरि बिक्री हुने गाडीको करिब ४० प्रतिशत गाडी डेलिभरी गर्ने गरेका छन्। व्यवसायीले दसैं र तिहारमा ३५०० भन्दा धेरै गाडी डेलिभरी गरेका छन्।

व्यवसायीले दसैं र तिहारलाई लक्षित गरी ग्राहकलाई आकर्षित गर्न छुट र सुविधाका अफर ल्याएका थिए। चाडपर्वलाई लक्षित गर्दै बिक्रेताहरुले भदौमा भएको नाइमा र नाडा अटो शोमा गाडीका धेरै मोडल सार्वजनिक गरेका थिए।

अटो शोका बेला बुकिङ भएका गाडी डेलिभरी गर्ने समय पनि दसैं र तिहार नै हो। तर, यो वर्ष बाढी पहिरोले चीनसँगका मुख्य दुई नाका लामो समय बन्द हुँदा र जेनजीको आन्दोलनका कारण मुख्य सिजनमा गाडी बिक्री प्रभावित भएको व्यवसायीले बताएका छन्।

बाढीले बाटो अवरुद्ध हुँदा व्यवसायीले गाडी ल्याउनै सकस झेल्नुपर्‍यो। असार २३ गते बन्द भएको चीनसँगको मुख्य व्यापारिक नाका रसुवामा पुल निर्माणको काम नसकिएकाले अझै खुलेको छैन।

सडकमा खसेको पहिरो पन्छाउन भएको ढिलाइले तातोपानी नाका पनि एक महिना भन्दा लामो समय बन्द भयो। जसले गर्दा गाडी आयात नै प्रभावित भएको र त्यसको असर डेलिभरीमा परेको व्यवसायीहरुले बताएका छन्।

भन्सार विभागको तथ्यांंक अनुसार साउनदेखि असोजसम्म इन्धन र विद्युतीय प्यासेन्जर क्यारिङ गाडी करिब ५४०० युनिट आयात भएका छन्।

नाइमा र नाडा अटो शोमा बुकिङ गरेका ग्राहक जेनजी आन्दोलनले गर्दा अलमलमा परेकामा उनीहरुले दसैंपछि गाडी लिएका छन्।

दसैं र तिहारमा बीवाइडी गाडी सबैभन्दा धेरै करिब ११०० युनिट डेलिभरी भएको छ। नाइमा र नाडा अटो शोबाट नेपाली बजारमा इन्ट्री गरेका एटो-२ र एटो-१ सबैभन्दा धेरै बिक्री भएको हो।

बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले एटो-२ गाडी ४७५ युनिट डेलिभरी दिएको छ। बीवाइडीको ह्याचब्याक कार एटो-१ पनि ४२० युनिट डेलीभरी भएको कम्पनीले जनाएको छ।

बीवाइडीको लक्जरी सेगमेन्टको गाडी सिलायन-७ पनि दसैं र तिहारमा गरी करिब २०० युनिट डेलभरी भएको छ। कम्पनीले एम-६ र डल्फिन गाडी पनि बिक्री गरेको छ।

दसैं र तिहारमा टाटाका ५७७ युनिट गाडी डेलिभरी भएको छ। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार फेस्टिभ सेलमा कम्पनीले एक्सप्रेस टी १९० वटा, पन्च इभी १७७ वटा, टियागो इभी १२० वटा, कर्भ इभी २० वटा, नेक्सन इभी के-३ ५० वटा र इन्धन गाडी २० युनिट डेलभरी दिएको हो।

यसैगरी डिपल गाडी दसैं तिहारमा २०० युनिटभन्दा धेरै डेलिभरी गरिएको छ। चांगन डिपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले डिपलका विभिन्न मोडलका २०० युनिटभन्दा धेरै गाडी डेलिभरी गरेको जनाएको छ। कम्पनीले अहिले डिपलको एस०५ र एस०७ गाडी धेरै बिक्री गरिरहेको छ।

यस्तै ओमोडा एण्ड जेको ब्रान्डका गाडी करिब ३५० युनिट डेलिभरी भएको छ। ओमोडा एण्ड जेकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सका अनुसार नाइमा मोबिलिटीमा बुकिङ भएका गाडीमध्ये ३५० युनिट हाराहारी डेलिभरी गरिएको हो।

कम्पनीले नाइमा मोबिलिटी एक्स्पोमा जेको जे-५ गाडी लन्च गरेर बुकिङ लिएको थियो। यस्तै ओमोडा एण्ड जेकोका पुराना मोडल पनि डेलिभरी गरेको कम्पनीले जनाएको छ।

लिपमोटरले दसैं र तिहारमा बी१०, टी०३ र सी१० गाडी १६० युनिट हाराहारी डेलिभरी दिएको छ।

यसपालिको चाडबाडमा डोङफेङ नामीका करिब १५० युनिट गाडी बिक्री भएका छन्। डोङफेङ नामीको आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स (एमएडब्लू) वृद्धि मोटर्सले यो ब्रान्डका दुई वटा मोडलका गाडी बिक्री गर्दै आएको छ। कम्पनीले नामी भिगो गाडी नाडा अटो शोमा लन्च गरेर बुकिङ लिएको थियो। बुकिङ लिएका गाडी दसैं र तिहारमा डेलिभरी गरेको कम्पनीले जनाएको छ।

सिजी मोटर्सले कमर्सियल र प्यासेन्जर गरी कुल ११२ युनिट गाडी डेलिभरी गरेको छ। एक्सपेङ, जीएसी आयोन, स्मार्ट र नेटा गाडी दसैं र तिहारमा डेलिभरी गरेको कम्पनीले जनाएको छ।

जेनजीको आन्दोलनका क्रममा सबैभन्दा ठूलो क्षति बेहोरेको सिजी मोटर्सले थापाथलीस्थित शोरुम र कार्यालय क्षतिग्रस्त भएपछि अहिले पानीपोखरीबाट काम गरिरहेको छ।

हुन्डाई ब्रान्डका गाडी दसैं र तिहारमा ६०० युनिट हाराहारी बिक्री भएका छन्। दसैं र तिहारमा क्रेटा इभी, भेन्यु, क्रेटा पेट्रोल फेसलिफ्ट गरी करिब ६०० युनिट गाडी डेलिभरी गरेको हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ।

अर्को पुरानो ब्रान्ड मोरिस ग्यारेज(एमजी)का २०० युनिट गाडी ग्राहकमाझ पुगेका छन्। एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका अनुसार दसैं र तिहारमा एमजी एस५ गाडी २०० युनिट बिक्री भएका छन्।

यसबाहेक अरु ब्रान्डका गाडी पनि बिक्री भएका छन्। तर कतिपय ब्रान्डका बिक्रेताले दसैं र तिहारमा डेलिभरी गरेका गाडीको संख्या खुलाएका छैनन्।