BIZMANDU
www.bizmandu.com

त्रिदेशीय सिरिज : नेपाली महिला फुटबल टोलीले आज भारतविरुद्ध खेल्दै, कस्तो छ तयारी?

२०८२ कात्तिक १०

त्रिदेशीय सिरिज : नेपाली महिला फुटबल टोलीले आज भारतविरुद्ध खेल्दै, कस्तो छ तयारी?
त्रिदेशीय सिरिज : नेपाली महिला फुटबल टोलीले आज भारतविरुद्ध खेल्दै, कस्तो छ तयारी?

काठमाडौं। नेपाली महिला फुटबल टोलीले आज भारतविरुद्ध खेल्दैछ। भारतको सिलोङमा जारी त्रिदेशीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाली टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो। यो खेल साँझ सवा ६ बजे सुरु हुनेछ।

Tata
GBIME
Nepal Life

प्रतियोगितामा लगातार दुई जित निकाल्दै इरान यसअघि नै च्याम्पियन बनिसकेको छ। आफ्नो पहिलो खेलमा हार ब्यहोरेका नेपाल र भारत अन्तिम खेलमा सान्त्वना जितको खोजीमा रहनेछन्।

नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो खेल यात्राको थकानका बीच हुँदा नतिजा ल्याउन नसकेको भन्दै अब भने टोली कम्फर्टेबल भइसकेको बताउँछन्।

‘लामो दुरीको यात्राले पहिलो म्याच राम्रो हुन सकेन। राति २ बजे आइपुग्यौँ। मसल फ्याटिग लगायतको असर दोस्रो हाफमा देखियो। अब चाहिँ हामी यहाँ अनुकुल भइसकेका छौँ,’ भारतसँगको खेल अघि न्यौपानेले भने, ‘भारत राम्रो प्रतिद्वन्द्वी हो। आज भारतविरुद्ध जित निकालेर अस्तिको हारलाई परिपूर्ति गर्नेछौँ। इरानले ट्रफी लगिसके पनि ३ अंक लिएर सकारात्मक सन्देश दिन चाहन्छौँ।’

इरानसँगको खेलअघि नेपालको बसोबासलाई लिएर पनि समस्या भएको थियो। इरान र भारतको टोलीलाई राम्रो होटलमा राखेर नेपाललाई सामान्य होस्टलमा राखेको भन्दै प्रशिक्षकले नै आयोजकले अन्तर्राष्ट्रिय मापदण्ड पालना नगरेको बताएका थिए।

त्यसताका अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतको एफएलाई पत्र पठाउँदै ध्यानकर्षण गराएको थियो।

नेपाली टोलीकी कप्तान सावित्रा भण्डारीले १० मिनेटको कमजोरीले हार ब्यहोरेको बताउँदै त्यसमा सुधार ल्याएर जित निकाल्ने लक्ष्य रहेको बताए।

‘दोस्रो हाफको १० मिनेटमा मिस ब्यालेन्स हुँदा गोल खान पुग्यौँ,’ उनले भनिन्, ‘हामी त्यसमा अब तयार भएर भारतविरुद्ध मैदानमा उत्रनेछौँ। होम मैदानमा उनीहरूको एडभान्टेज छ तर हामी जितका लागि मैदान उत्रनेछौँ।’

यसअघि भारत इरानसँग २-० र नेपाल ३-० गोलले पराजित भएका थिए।