BIZMANDU
www.bizmandu.com

इन्धन सवारीसाधनको बजार बुम, गाडीको आयात ५५% ले बढ्दा भित्रिए करिब ८० हजार बाइक

२०८२ कात्तिक ९

इन्धन सवारीसाधनको बजार बुम, गाडीको आयात ५५% ले बढ्दा भित्रिए करिब ८० हजार बाइक
इन्धन सवारीसाधनको बजार बुम, गाडीको आयात ५५% ले बढ्दा भित्रिए करिब ८० हजार बाइक

काठमाडौं। इभीको आयात प्रभावित हुँदा इन्धन सवारीसाधनको बजार बढेको छ। भन्सार विभागको तथ्यांकले इन्धन गाडी र बाइकको बजार बढेको देखाएको हो।

Tata
GBIME
Nepal Life

चार पाङ्ग्रे इन्धन सवारीसाधनको आयात ५५.५१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष पहिलो तीन महिनामा चार पाङ्ग्रे इन्धन सवारीसाधन ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको २ हजार ६९५ युनिट आयात गरिएको छ।

यसबाट सरकारले ७ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष सोही अवधिमा १७ सय ३३ युनिट मात्रै चार पाङ्ग्रे इन्धन सवारीसाधन आयात भएका थिए।

चालु आवमा अनएसेम्बल अवस्थाका चार पाङ्ग्रे इन्धन सवारीसाधन १ हजार १७ युनिट आयात भएका छन्। अहिले नेपाली बजारमा हुन्डाई ब्रान्डका मात्रै गाडी नेपालमा एसेम्बल हुने गरेको छ। हुन्डाईले चालु आवको तीन महिनामा १ हजार युनिट भन्दा धेरै गाडी भित्र्याएको छ।

तीन महिनामा दुई पाङ्ग्रे इन्धन सवारीसाधन १० अर्ब रुपैयाँ बराबरको ७९ हजार ६८३ युनिट आयात गरिएको छ। यसबाट सरकारले ९ अर्ब ९० करोड रुपैया राजस्व संकलन गरेको छ।

गत वर्षको सोही अवधिमा ६८ हजार ५४० युनिट इन्धन दुई पाङ्ग्रे सवारीसाधन आयात भएको थियो। यो वर्ष इन्धन बाइकको आयात ११ हजार युनिट भन्दा धेरै बढेको हो।

आयात गरिएका बाइकमा प्राय: अनएसेम्बल छन्। ६९ हजार ७१९ युनिट अनएसेम्बल दुई पाङ्ग्रे इन्धन सवारीसाधन आयात गरिएको भन्सारको तथ्यांकले देखाउँछ।

इन्धन अटो रिक्सा १७ करोड रुपैयाँ बराबरका ७८५ युनिट आयात गरिंदा सरकारले १७ करोड ७९ लाख रुपैयाँ राजस्व पाएको छ।

यसैगरी ३ अर्ब २८ करोड रुपैयाँ बराबरका २ हजार १४० युनिट कमर्सियल इन्धन सवारीसाधन आयात भएका छन्। यसबाट सरकारले २ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्ष तीन महिनामा २ हजार ७१३ युनिट चार पाङ्ग्रे विद्युतीय गाडी आयात भएको छ। भन्सार विभागले आइतबार प्रकाशित गरेको तथ्यांक अनुसार कुल ६ अर्ब ५३ करोड रुपैयाँ बराबरको चार पाङ्ग्रे इभी आयातबाट सरकारले ३ अर्ब ९९ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

गत आर्थिक वर्ष सोही अवधिमा ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको ५ हजार ६६६ युनिट चार पाङ्ग्रे इभी आयात भएका थिए। यो वर्ष बाढीपहिरोले चीनसँगका मुख्य दुई नाका ठप्प हुँदा सवारीसाधनको आयात घटेको हो।

असार २३ गते बन्द भएको मुख्य नाका रसुवा अझै खुलेको छैन भने एक महिनाभन्दा बढी बन्द भएको तातोपानी नाका असोज पहिलो साताबाट सञ्चालनमा आएको थियो।

दुई पाङ्ग्रे इभी ४४ करोड रुपैयाँ बराबरका ४ हजार २६४ युनिट आयात भएको छ। यसबाट सरकारले १५ करोड ५५ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

साउनदेखि असोजसम्म ६१ करोड १९ लाख बराबरका ५ हजार ५५३ युनिट तीन पाङ्ग्रे इभी आयात गरिएको छ। यसबाट सरकारले करिब २१ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।