काठमाडौं। भदौ २४ गते लुटिएको गोलीसहित प्रहरीले २ किशोरलाई गोलीसहित नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बर्दियाको बढैया गाउँपालिका-३ घर भई हाल कपनमा डेरा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापाको झिलझिले घर भई हाल काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्गमा बस्दै आएका १६ वर्षीय सोनम थापा मगर छन्।
काठमाडौं महानगरपालिका-३२ नरेफाँटमा चेकजाँचको क्रममा शुक्रबार दिउँसो करिब १२:३० बजे कोटेश्वर प्रहरी प्रभागको टोलीले शंकास्पद अवस्थामा अनिशलाई पक्राउ गरेको थियो।
सोधपुछका क्रममा अनिशले गत भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली आफूले लुकाएको बताएका छन्। सोही घटनामा संलग्न साथी सोनमले पनि गोली लुकाएको उनले बताएका थिए।
उनको बयानका आधारमा प्रहरीले सम्बन्धित कार्यालयहरूसँग समन्वय गरी लाजिम्पाटस्थित डेराकोठामा खानतलासी गरेको थियो। सो क्रममा ३११-२३ लेखिएको पेस्तोलका ३ थान गोली फेला परेको छ।
त्यसपछि प्रहरीले सोनमलाई खोजी गर्दा सोही दिन अपराह्न ३:३० बजे मालिगाउँस्थित उनको डेरामा खानतलासी गरेको थियो। सो कोठाबाट पनि ३११-२३ लेखिएको पेस्तोलका २ थान गोली र छालाको पेटी बेल्टको बक्कल एक सेट बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरूलाई आवश्यक कागजी प्रक्रिया पूरा गरी प्रहरी वृत्त दरबारमार्गमा थप अनुसन्धान र कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि अघि बढाएको जनाएको छ।