BIZMANDU
www.bizmandu.com

एनएसी अध्यक्षका विवादित निर्णय प्रधानमन्त्री कार्कीको ‘नोटिस’मा, करारमा कर्मचारी नियुक्ति रोक्ने

२०८२ कात्तिक ७

एनएसी अध्यक्षका विवादित निर्णय प्रधानमन्त्री कार्कीको ‘नोटिस’मा, करारमा कर्मचारी नियुक्ति रोक्ने
एनएसी अध्यक्षका विवादित निर्णय प्रधानमन्त्री कार्कीको ‘नोटिस’मा, करारमा कर्मचारी नियुक्ति रोक्ने


काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)का कार्यकारी अध्यक्ष युवराज अधिकारीले कार्यकालको अन्तिम समयमा गरेको विवादित निर्णयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यान्वयन हुनबाट रोक्ने भएको छ।

Tata
GBIME
Nepal Life

अधिकारीले लगातार घाटाका कारण आधा खर्बभन्दा बढी ऋणले थिचिएको संस्थालाई आर्थिक भार थोपर्ने निर्णय गरेकामा प्रधानमन्त्री कार्यालयले त्यसलाई कार्यान्वयन हुन नदिने भएको हो।

प्रधानमन्त्री कार्यालयले अधिकारीले कार्यकालको अन्तिम समयमा आएर गरेका विवादित निर्णयलाई ‘नोटिस’मा लिएको छ। अधिकारीले कर्मचारी विनियमावलीको धज्जी उडाउँदै संस्थालाई थप आर्थिक संकटमा पार्नेदेखि कनिष्ठ कर्मचारीलाई निमित्त तोक्ने लगायत विवादित काम गरेपछि प्रधानमन्त्री कार्यालयले गम्भीर चासो दिएको हो।

‘एनएसीका अध्यक्षले जाने बेलामा गरेका विवादित निर्णयमा प्रधानमन्त्रीज्यूले गम्भीर चासो दिनुभएको छ। संस्थालाई आर्थिक भार पार्ने निर्णय कुनै हालतमा कार्यान्वयन गर्न नदिन प्रधानमन्त्रीज्यूले एनएसीको तालुकवाला पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइसक्नु भएको छ,’ प्रधानमन्त्री कार्कीको सचिवालयका एक सदस्यले भने, ‘हामीले पनि अधिकारीले गरेका विवादित निर्णयबारे बुझ्ने काम गरिरहेका छौं।’

पर्यटन मन्त्रालय अहिले प्रधानमन्त्री कार्कीसँगै छ।

अधिकारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बेला २०७८ कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकबाट एनएसीको अध्यक्ष नियुक्त भएका थिए।

मन्त्रिपरिषद्को निर्णयका आधारमा तिहार बिदासँगै अधिकारीको कार्यकाल सकिइसकेको छ। अधिकारीले भने आफूले कात्तिक १२ गते नियुक्ति लिएका कारण ११ गतेसम्म काम गर्न पाउने बताउँदै आएका छन्।

उनले तिहार बिदा सकिएपछि हाजिर हुने गरी तिहारअघि तीन देखि पाँचौं तहका ४८ कर्मचारी करारमा नियु्क्तिको निर्णय गर्दा एनएसीको कर्मचारी विनियमावलीको धज्जी उडाएको खुलेको छ। अधिकारीले सञ्चालक समितिको पूर्वस्वीकृतिविनै करारमा कर्मचारी नियुक्त गरेको खुलेको हो।

‘म करिब एक वर्षदेखि एनएसीको सञ्चालक समितिको सदस्य छु। तर करारमा कर्मचारी नियु्क्तिको प्रस्ताव बोर्ड बैठकमा आएकै छैन,’ एनएसीका एक सञ्चालकले भने, ‘अध्यक्षले कुन कुन तहमा कति कर्मचारीलाई करारमा नियु्क्त गरेका हुन् भन्ने हामीलाई जानकारी छैन। विनियमावलीले नमिल्ने अवस्था हो भने निर्णय उल्टिने सम्भावना हुन्छ। तर राम्रोसँग नबुझिकन अहले नै भन्न सकिंदैन।’

एनएसीको विनियमावलीमा रिक्त दरबन्दी पूर्ति हुने अवस्था नभइ दैनिक कामकाज सञ्चालन गर्न अप्ठेरो परे तेस्रो तहसम्मका कर्मचारी कार्यकारी प्रमुखको स्वीकृति र त्यसभन्दा माथिका कर्मचारी सञ्चालक समितिको पूर्वस्वीकृतिमा निश्चित अवधिका लागि करारमा नियुक्त गर्ने व्यवस्था छ।

‘अध्यक्षको एकपछि अर्को लापर्बाहीका कारण जहाज राम्रोसँग चलाउन नसकेर एनएसी आर्थिक संकटमा परेका बेला करारमा जथाभावी कर्मचारी नियुक्त गर्नु कुनै हालतमा स्वाभाविक देखिंदैन। एनएसीमा उसै त कर्मचारीको ओभरलोड छ। भएकै कर्मचारीलाई तलब खुवाउन हम्मे परिरहेको अवस्थामा करारमा भर्ना गरेर संस्थालाई आर्थिक भार थोपर्ने निर्णय हामी कार्यान्वयन गर्न दिंदैनौं,’ स्रोतले भन्यो, ‘उहाँले विगतमा विभागीय मन्त्रीलाई रिझाएपछि जे पनि गरेजस्तो छुट हुँदैन अहिले।’

अधिकारीले यसअघि विभागीय मन्त्रीका कार्यकर्ता र आफन्तलाई करारमा राख्दा आफूले चाहेका व्यक्तिलाई तह अनुसार पैसा लिएर नियुक्ति दिएको एनएसी स्रोतले बतायो।

उनले अहिले कर्मचारी भर्नाका अलावा कनिष्ठ कर्मचारीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिने अर्को विवादित काम पनि गरेका छन्। उनले ११औं तहमा जनक कालाखेती हुँदा हुँदै १०औं तहका इन्जिनियर डोलेश्वर कोइरालालाई कात्तिक ४ गतेदेखि लागू हुने गरी निमित्त अध्यक्षको जिम्मेवारी दिएका हुन्।

एनएसीको कर्मचारी विनियमावलीमा वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिने व्यवस्था छ। अधिकारीले आफ्नो अनुपस्थितिमा निमित्तको जिम्मेवारी तोक्दा पनि विनियमावलीको बेवास्ता गरेका हुन्।

उनले कोइरालालाई एकाउन्टेबल म्यानेजर समेत तोकेका छन्। अधिकारीले रोजेका कोइराला तिनै हुन् जसलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एकाउन्टेबल म्यानेजरका रुपमा यसअघि नै अस्वीकार गरिसकेको छ।

जहाज मर्मतमा खेलाँची गरेबापत गत भदौ पहिलो साता क्यानले आफूलाई एकाउन्टेबल म्यानेजरबाट बर्खास्त गरेपछि अधिकारीले आफू निकट कोइरालालाई एकाउन्टेबल म्यानेजर तोकेका हुन्। जबकि क्यानले अपरेसन विभाग प्रमुख दिपु ज्वारचनलाई एकाउन्टेबल म्यानेजरको जिम्मेवारी दिन भनेको थियो।

तर, अधिकारीले क्यानको पत्र सञ्चालक समितिमा नै नलगि कोइरालालाई आफूखुशी जिम्मेवारी दिएका हुन्। क्यानले कोइरालालाई यसअघि नै एकाउन्टेबल म्यानेजरमा अयोग्य भनेको थियो।

अधिकारीले जाने बेलामा विभिन्न देशमा ११ कर्मचारीलाई सरुवा गर्न खोजेकामा मन्त्रालयको हस्तक्षेपले रोकिएको छ। उनले दमाम र क्वालालम्पुरको उडान काटेर चीनको ग्वान्जाओमा नियमित व्यावसायिक उडान गर्ने निर्णय गरेकामा अहिलेसम्म प्रवर्धनात्मक उडान मात्र भएको छ।

जहाज मर्मत सम्भार, व्यावसायिक उडानदेखि कर्मचारी सरुवामा एकपछि अर्को विवादमा मुछिएका र व्यवस्थापकीय जिम्मेवारीमा आफैंले आफैंलाई ‘अक्षम’ सावित गरेका अधिकारीले कार्यकाल दोहोर्‍याउन ठूलो कसरत गरेकामा उनलाई प्रधानमन्त्री कार्कीले बालुवाटार प्रवेशमै निषेध गरेकी छन्।