काठमाडौं। अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टोले फेरि कर्णाली याक्सबाटै नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। पहिलो संस्करणमा कर्णालीका लागि प्रभावशाली अलराउण्ड प्रदर्शन गरेका बोसिस्ट दोस्रो संस्करणमा पनि कर्णालीमै अनुबन्धित भएका हुन्।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अस्ट्रेलिया यु–१९ टिमका खेलाडी बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिए। बोसिस्टो कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन्। यसअघि टोलीले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाटलाई अनुबन्ध गरेको थियो।
पहिलो संस्करणमा ३२ वर्षे उनले ७ खेलमा दुई अर्धसतकसहित १९४ रन बनाएका थिए। त्यस्तै, ९ विकेट पनि हात पारेका थिए।
सम्बन्धित समाचार: एभेन्जर्सको ६ विकेट लिएका बोसिस्टो : २०१२ विश्वकपमा नेपालविरुद्धको धुमिल सम्झना
बासिस्टो सन् २०१२ मा भएको यु–१९ विश्वकप क्रिकेटमा उपविजेता हुँदा अस्ट्रेलियन टिमको कप्तान थिए। उनी प्लेयर अफ दि टुर्नामेन्ट हुँदा ६ खेलमा २ सय ७६ रन बनाएका थिए।
निर्देशक घिमिरेले अन्य विदेशी खेलाडी पनि चाडै सार्वजनिक गरिने जानकारी गराएका छन्। कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दैछ।
दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।
यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट कर्णालीमा पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री पुगेका थिए।
एनपीएल नजिकिँदै गर्दै सबै फ्रेन्चाइजहरुले विदेशी खेलाडी अनुबन्धनलाई तीब्र बनाएका छन्।