BIZMANDU
www.bizmandu.com

नेपाली महिला फुटबल टोलीलाई बसोबासमा विभेद, एन्फाले भारतको एफएलाई गर्‍यो पत्राचार

२०८२ कात्तिक ७

नेपाली महिला फुटबल टोलीलाई बसोबासमा विभेद, एन्फाले भारतको एफएलाई गर्‍यो पत्राचार
NEPAL VS India (1-0) Some pictures from SAFF Woman's Championship 2022 football Semi final match between NEPAL and india (1-0) at Dashrath Stadium in Kathmandu Nepal on Friday 16 September 2022.

काठमाडौं । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक नविन न्यौपानले भारतमा बसोबासको व्यवस्था राम्रो नभएको बताएका छन्। आज महिला त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु अघि प्रिम्याच कन्फ्रेन्समा उनले बसोबासको व्यवस्थालाई लिएर गुनासो गरेका हुन्।

Tata
GBIME
Nepal Life

‘यो कम्प्लेन होइन सुझाव हो। अन्तर्राष्ट्रिय नियम बमोजिमको बसोबासको व्यवस्था भने चित्त बुझ्दो छैन,’ उनले भने।

शिलोङका स्थानीय सञ्चार माध्यम हरुका अनुसार प्रिम्याच कन्फ्रेन्सपछि पनि न्यौपानेले भारत र इरानको टोलीलाई स्तरीय होटलमा राखेर नेपाली टोलीलाई भने सामान्य होस्टलमा राखेको बताएका थिए।

‘हामीलाई इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको होस्टलमा राखिएको छ,’ उनले भनेका छन्।

यसअघि इरानी टोलीका प्रशिक्षकले पनि भारत पुगे लगत्तै खेल तालिका भएकाले पहिलो खेल पछि धकेल्नु पर्ने अन्यथा यो अस्वीकार्य हुने बताएका थिए।

भारतीय फुटबल संघलाई पत्राचार गरिसकेका छौँ: एन्फा

यता अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही विषयलाई लिएर भारतीय फुटबल संघ (एआईएफएफ)लाई पत्राचार गरिसकेको जनाएको छ। एन्फाका प्रवक्ता शुरेश शाहले पत्राचार भइसकेको पुष्टि गर्दै यो समाधानको बाटोमा अघि बढिसकेको जनाए।

‘यो कुराहरु हामीले आधिकारिक रुपमा भारतको एफएलाई पठाइसकेका छौं। त्यहाँ बस्ने व्यवस्था लगायतको विषयमा। यसलाई हामीले समाधान गर्छौं भन्नु भएको छ,’ उनले भने, ‘ सुरुमा उहाँहरुले प्रदेशको फुटबल संघलाई जानकारी गराएर काम भइरहेको छ। सचिवालयबाट उहाँहरुलाई कुरा गरिसकेको छ।’

आज पहिलो खेल

महिला त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भारत पुगेको नेपाली टोलीले आज आफ्नो पहिलो खेलमा इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो। प्रतियोगितामा आयोजक भारत, नेपाल र इरान प्रतिस्पर्धा गर्दैछन्। भारत र इरान फिफा वरीयतामा नेपाल भन्दा अगाडिका टोली हो। वरीयतामा भारत ६३ औँ स्थानमा छ भने इरान ७० औँ स्थानमा छ। यी दुवै टोली एसिया कपमा छनोट भइसकेका टोली हुन् र त्यसको तयारीमा जुटिसकेका छन्। नेपाल भने यो वरीयतामा ८९ औँ स्थानमा छ।

भारतमा ट्रफिसँग नेपाली कप्तान सावित्रा भण्डारी लगायत। तस्बिर: एनएसजेएफ

नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले दुवै प्रतिस्पर्धी बलिया भएको भन्दै नेपालका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने बताए।

‘दुवै टोली बलिया भएकाले हाम्रा लागि महत्वपूर्ण छ। वरीयतामा दुवै टोली अगाडि छन्। युवा खेलाडी पनि टोलीमा समेटेका छौं,’ उनले भने।

नेपाली टोलीकी कप्तान सावित्रा भण्डारीले दुवै टोली एसिया कपका लागि छनोट भइसकेकाले आफूहरु उच्च मनोबलमा रहेको बताइन्।

‘हामी यहाँ नतिजाका लागि आएका हौं। राष्ट्रका लागि जित्नका लागि खेल्नेछौ,’ उनले भनिन्, ‘नेपाली महिला टोली प्राइममा छ। युथ खेलाडी पनि हुनुहुन्छ। उहाँहरुको पनि टेस्ट हुनेछ। सम्भावना भएकाले नै उहाँहरु टोलीमा हुनुहुन्छ।’

खेल आज साँझ सवा ६ बजे शिलोङमा सुरु हुनेछ।

ट्रफीसँग नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपाने। तस्बिर; एनएसजेएफ्

नेपाली टोली

सावित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अञ्जना राना मगर, एञ्जिला तोम्बाफो सुब्बा, विमला विके, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाइ, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, उषा नाथ