काठमाडौं । जेनजीको प्रदर्शनमा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट हराएको १८ किलो सुन र रकम अझै फेला परेको छैन। प्रहरीले भदौ २४ गतेको प्रदर्शनको मौकामा सो बैंक लुट्नेहरुलाई पक्राउ गर्न थालेको छ।
पक्राउ परेका मध्ये केहीलाई मुद्दा समेत चलाइसकेको छ। दोलखा घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र एक नाबालक विरुद्ध डाँका चोरीमा जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
नयाँ बानेश्वरमा २०७५ सालदेखि बैंकले ४ हजार २७ वर्ग फिट, भुईँ तला बाहिरा क्षेत्र ७४२.५० वर्ग फिट र भुईंतला बाहिरी क्षेत्रमा ३ वटा एटिएम क्षेत्र समेत बैंकिङ प्रयोजनको लागी भाडामा लिएर संचालन गर्दै आएको थियो। भदौ २४ जेन जी प्रदर्शनकारीहरूले अनधिकृत प्रवेश गरि बैंक कब्जामा लिएका थिए।
बैंकको कार्यालय संचालन गर्न तयार गरिएका सम्पूर्ण भौतिक संरचनामात्र नभइ सवारी साधन समेत तोडफोड र आगजनी गरिएको थियो। कार्यालयमा रहेका कम्प्युटर, एटिएम मेसिन तोडफोड ४ करोड १३ लाख १२ हजार रुपैयाँको क्षति पुर्याइएको थियो। बैंकमा रहेको नगद रकम ५ करोड १५ लाख १६ हजार ६३८ रुपैयाँ, कर्जा लगानी गरी कर्जाको सुरक्षण बापत ग्राहकले धरौटी राखेको सुन १७ किलो ७६९.४१ ग्राम लुटपाट गरि लगेको प्रहरीमा उजुरी परेको छ।
बैंकका अधिकारी प्रधुम्म कार्कीले प्रहरीमा दिएको जाहेरी अनुसार अनुसन्धान सुरु भइसकेको छ। पक्राउ परेका दीपकले आफूले रकम लगेको स्वीकार गरेका छन्। केही नगद र सुन लगेको उनले प्रहरीसँगको बयानमा भनेका छन्।
दीपकले दिउँसो ५ बजेतिर बैंकको घुम्ने कुर्सी चोरी गरी कोठामा लगेका थिए। त्यसपछि पनि उनी पुनः बैंकका पुगे र ढुकुटीमा रहेको नगद र गहना चोरी गरेको देखिएको छ। फेरि बेलुका ७ बजेतिर पुनः बैंकमा पुगेर चोरी गरेको अनुसन्धानमा खुलेको एसएसपी रमेश थापाले जानकारी दिए।
‘केही सामान बैंकलाई फिर्ता दिएका छौं। अन्य सामानको खोजी कार्य जारी छ,’ उनले भने।
बयानमा पक्राउ परेका दीपकले भनेका छन्,’ म पनि बैंकको ढोकामा पुग्दा भित्रबाट मानिसहरूले नगद रकम तथा सुनका गरगहनाहरू चोरी गरी निस्किँदै गरेको देखी म लगाएत अन्य मानिसहरू समेतले नगद रकम तथा सुनका गरगहनाहरू खोसा खोस गरेका हौं। खोस्ने क्रममा मैँले २ लाख ५० हजार र सुनको बाला ३ थान, बेरुवा औँठी १ थान, गणेश भगवानको लकेट भएको सिक्री १ थान हात पार्न सफल भई उक्त नगद रकम तथा गरगहनाहरू बोकी आफ्नो कोठामा गएको हुँ।’
उनले चोरी गरेको रकममा आफूसँग भएको १ लाख ७२ हजार रुपैयाँ थप गरेर मोटरसाइकल खरिद गरेको बताएका छन्। भदौ २९ गते मोटरसाइकल खरिद गरे पनि नामसारी भने समय नभएको भन्दै हुन सकेको थिएन। उनले सल्लाघारीमा रहेको रिकन्डिसनबाट मोटरसाइकल ४ लाख २२ हजार तिरेर किनेको खुलेको छ। उनले बागमती प्रदेश ०२–०४६ प.०४४४ नम्बरको रोयल इन्फिल्ड खरिद गरेका थिए।
त्यस्तै उनीसँगै मुद्दा चलाइएका नाबालकले पनि साढे ३ लाख रुपैयाँ र सुनका गरगहना चोरी गरेका थिए। घटना भएको दिन चोरी गरेर उनी साथीको कोठामा बस्न गएका थिए। भोलिपल्ट कोटेश्वरबाट सिराहा जाने गाडीमा चढेर जाने क्रममा काभ्रेमा सेनाको टोलीले चेक गर्दा उनको साथमा रकम र गहना भेटिएको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिइएको थियो।
उनीविरुद्ध भक्तपुरमा पनि अर्को मुद्दा चलिरहेको छ।
दुवैजना विरुद्ध डाका मुद्दा लगाइएको छ। त्यस्तै, बैंकबाट हराएको सामान र क्षति भएको समेत क्षतिपूर्ति माग गरिएको छ। बैंकबाट ३७ करोड ३४ लाख ३८ हजार ८३५ रुपैयाँ क्षति भएको छ।
हाल अनुसन्धान जारी रहेको र बैंक लुटपाटमा संलग्न थप व्यक्तिहरु पक्राउ गर्ने प्रयासमा प्रहरी छ। थप व्यक्ति पक्राउ परेको खण्डमा क्षतिको रकम दामासाही रुपमा जाने छ।