काठमाडौं । जेनजीको आन्दोलनमा तहसनहस भएको अटो क्षेत्र एक महिनापछि उठ्ने तर्खरमा लागेको छ। भदौ २४ गते तोडफोड र आगजनीमा परी एक अर्बको क्षति बेहोरको अटो सेक्टर शोरुम निर्माण गरेर पहिलेकै अवस्थामा फर्किने तरखरमा लागेको हो। केही व्यवसायीले शोरुम पुनर्निर्माण अन्तिम चरणमा पुर्याएका छन्।
टाटा गाडीको थापाथलीस्थित शोरुम पुनर्निर्माण सकिने चरणमा पुगेको छ। कम्पनीले भदौ २४ गतेको विध्वंसमा ८ वटा गाडी र शोरुम गरी लगभग २० करोड रुपैयाँको क्षति बेहोरेको थियो।
टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङले भदौ अन्तिम देखि नै पुनर्निर्माण सुरु गरेको थियो। सिप्रदीकी मार्केटिङ म्यानेजर अभिरुची गिरीले शोरुम पुननिर्माणको काम अन्तिम चरणमा पुगेको बताइन्।
‘अहिले हाम्रो शोरुम निर्माणको काम अन्तिम चरणमा पुगेको छ। मुख्य काम भनेको शोरुमको स्ट्रक्चर हो। यो काम लगभग सकिएको अवस्था छ,’ उनले भनिन्।
गिरीका अनुसार शोरुमको भित्री भागमा इन्टेरियर र ब्युटिफिकेसनको काम बाँकी छ। यसलाई सकाउन केही समय लाग्न सक्छ। बाहिर पनि पार्केटिङको काम बाँकी छ।

गिरीले धेरै काम बाँकी नरहेकाले शोरुम तिहारपछि संचालनमा ल्याउने योजना रहेको बताइन्। ‘तिहार र छठले गर्दा कतिपय कामदार बिदामा छन्। अब धेरै काम बाँकी नभएकाले शोरुम चाँडै नै सञ्चालनमा ल्याउनेछौं,’ उनले भनिन्।
यस्तै सुजुकीको शोरुम पुनर्निर्माणको काम पनि लगभग अन्तिम चरणमा पुगेको छ। सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्यका अनुसार तोडफोड र आगजनीमा परेर ध्वस्त भएको शोरुम बनाउने काम करिब करिब सकिएको छ।
‘हाम्रो शोरुममा बाहिरी भागमा भन्दा भित्र धेरै क्षति भएको थियो। इन्टेरियरको पार्टमा सबै काम सकिने अवस्थामा छ। तिहारलगत्तै संचालनमा ल्याउने तयारी छ,’ उनले भने। सुजुकीले जेनजी आन्दोलनमा करिब ७ करोड रुपैयाँको क्षति बेहोरेको थियो।

महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले पनि क्षतिग्रस्त शोरुम पुनर्निर्माण गरिरहेको छ। अहिले स्टक्चरमा गर्नुपर्ने काम गरिरहेको छ।
शोरुमको इन्टेरियरमा प्रयोग हुने सामान चीनबाट ल्याउनुपर्ने भएकाले पुनर्निर्माण सक्न केही समय लाग्ने कम्पनीले जनाएको छ। शोरुम महिन्द्राको ग्लोबल स्ट्यान्डर्ड अनुसार बनाउनुपर्ने भएकाले अग्नि इन्कर्पोरेटेडले सामान चीनबाट मगाएको छ।
जेनजी आन्दोलनमा सबैभन्दा धेरै क्षति बेहोरेको सीजी मोटर्सको पनि शोरुमको स्ट्रक्चर बनाउने काम भइरहेको छ। सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत(सीइओ) कपिल शिवाकोटीले स्ट्रक्चरको काम सकिएपछि मात्र इन्टेरियरको काम थाल्ने बताए।
‘स्ट्रक्चर हामीले बनाउने होइन। हामीले भाडामा लिएका हौं। स्ट्रक्चरको पाटो ओनरकै हो। स्ट्रक्चरको काम सक्न ३ महिना लाग्ने अनुमान गरिएको छ,’ शिवाकोटीले भने, ‘भवन तयार भएपछि हामीले शोरुम तयार पार्ने हो।’

जेनजी आन्दोलनमा क्षतिग्रस्त हुनुअघि सीजी मोटर्सको कार्यालय भवनको तलामा थियो। अहिले सीजी मोटर्सले आफ्नो काम कारबाही पानीपोखरीमा रहेको शाखा कार्यालयबाट गरिरहेको छ।
जेनजी आन्दोलनमा हिमालय अर्गानाजेसन अन्तर्गतका कम्पनीको पनि ठूलो क्षति बेहोरेको अहिले धमाधम पुनर्निर्माण भइरहेको छ। हुन्डाईले त आफ्नो शोरुम तयार पारेर दसैंदेखि नै सेवा दिन थालिसकेको छ।
रामेश्वर खनालले अर्थ मन्त्रालयकोनेतृत्व सम्हालेलगत्तै गाडीका आधा दर्जन क्षतिग्रस्त शोरुम अवलोकन गरी व्यवसायीलाई आवश्यक सहयोग गर्ने वचन दिएका थिए।

व्यवसायीले बीमा दाबीबाट आउने पैसा एडभान्स्डमा दिलाउन आग्रह गरेकामा सरकारले ५० प्रतिशत अग्रिमरुपमा दिने व्यवस्था मिलाएको थियो। जसले व्यवसायीलाई पुनर्निर्माण गर्न सहज भएको हो।