काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि ललितपुरको सातदोबाटोमा सोमबार साँझ दुर्व्यवहार भयो।
जेनजीका नाममा एक समूहले कार्यालयमै आएर धम्क्याएको साताभित्रै अधिकारीमाथि सार्वजनिक स्थलमै दुर्व्यवहारको घटना भएको हो। घटनामा आफूमाथि अपरिचित व्यक्तिले दुर्व्यवहार गरेको अधिकारीले बताए।
अधिकारीलाई केही दिनअघि प्राधिकरणमै गएर जेनजीको आवरणमा अभियन्ता बन्दै हिँडेकाहरूले केरकार गरेका थिए। त्यसमा संलग्न अर्जुन शाहीलाई प्रहरीले पक्राउ गर्दा उनीमाथि कयौं मुद्दा रहेको खुलेको छ।
अधिकारीका अनुसार गाडीबाट झरेर हिँडिरहेका बेला स्कुटरमा आएका एक व्यक्तिले रोकेर नमस्कार गरे। त्यसपछि उनीसँग भनाभन भएको थियो।
अपरिचित व्यक्तिसँग भनाभन भएपछि असुरक्षित महसुस गरेर प्रहरीलाई खबर गरेको अधिकारीले बताए। प्रहरी आउँदासम्म आफूमाथि हातपात गरेर युवक भागेको अधिकारीले बताए।
प्रहरीले अधिकारीमाथि दुर्व्यवहार भएको बताएको छ।
घटनामा संलग्न व्यक्तिको स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएको स्कुटरका आधारमा उक्त व्यक्तिको खोजी भइरहेको एसएसपी होविन्द्र बोगटीले बताए।