काठमाडौं। केही दिनयता सामाजिक सञ्जालमा डोरीमा मान्छे हिँडिरहेको भिडियो भाइरल छ। खोँचको एक डाँडादेखि अर्को डाँडासम्म टाँगिएको डोरीमा कुनै सहाराबिना हिँडिरहेको भिडियोले धेरै मानिसको ध्यान तान्यो। धेरैलाई लाग्य – यो कतै विदेशको होला। केहीले यो नेपालकै भिडियो भएको भने। यो भिडियो थियो- नेपालकै पर्वत जिल्लामा कैद गरिएको।
धनकुटाको हिले घर भएका ३३ वर्षीय शंकर कोइराला नेपालमै पहिलो पटक खोँचको बीचमा डोरीमा हिँडेपछि यस खेलप्रति धेरैको चासो जाग्यो। यो साहसिक खेललाई भनिन्छ : स्याल्याकलाइन/हाइलाइन।
६ वर्षदेखि जर्मनीमा बस्दै आएका शंकर केही समय अघि नेपाल फर्किए। अधिकांश देशमा हाइलाइन गरिसकेका उनलाई आफ्नै भूमिमा पनि त्यो खेललाई चिनाउनु थियो। त्यही हुटहुटी बोकेर नेपाल आएका उनले पर्वतको कुस्मा र बागलुङको बलेवाबीचको कालीगण्डकीको खोँचमा ४०८ मिटर लामो डोरी टाँगे र हाइलाइन गरे।
शंकरको यो ‘ड्रिम प्रोजेक्ट’ असोज २९ गते सुरु भएको थियो। कात्तिक १ गते हाइलाइन सकिएको छ। शंकरले ४ दिनसम्म गरेको हाइलानमा तीन नेपालीले सहभागिता जनाए। एकजना न्यूजिल्याण्ड र दुईजना जर्मनीका नागरिक थिए।

हाइलाइन संचालन गराउन नेपाल स्याल्याकलाइन कम्युनिटी, द क्लिफ र हार्नेस नेपालले साथ दिएका थिए।
शंकरलाई साहसिक गतिविधि धेरै मन पर्छ। नेपाल हुँदादेखि नै उनी क्लाइम्बिङ गर्ने गर्थे। जब उनी जर्मनी पुगे, त्यहाँ उनले हाइलाइन देखे। यो साहसिक खेलले उनको मन तान्यो। त्यसपछि उनी हाइलाइनको अभ्यासमा लाग्न थाले।
एक दुई पटक पार्कमा रहेको सानो-सानो डोरीमा हाइलाइन गरेपछि नै उनी त्यसप्रति आकर्षित भए। सानो डोरी हुँदै लामो डोरीसम्मसम्मको हाइलाइन गरे उनले। यो खेलबारे अध्ययन गरे र जर्मनीको स्याल्याकलाइन कम्युनिटीमा प्रवेश गरे। अनि जर्मनीमा जागिरसँगै यो डोरीको यात्रामा लागे। जर्मनीका विभिन्न सहरसँगै अन्य देशमा यो खेल खेले पछि उनलाई नेपालमा पनि यसलाई चिनाउने रहर जाग्यो।
‘अग्लो खोँच र लामो दूरीमा सानो डोरीमा हिँड्न सजिलो छैन। यसका लागि मेहनत र साहस चाहिन्छ। यो खेलले फोकस गर्न सिकाउँछ,’ उनले आफ्नो ड्रिम प्रोजेक्ट पूरा भएको खुसी व्यक्त गर्दै भने, ‘लामो ट्रेनिङ र सबैको साथमा मात्र हाइलाइन सम्भव छ। जसले मेरो सपना साकार बनाउन सहयोग पुर्यायो।’
नेपालमा स्याल्याकलाइन भएको यो पहिलोपटक होइन। तर, साना र छोटो दूरीमा मात्र यस्ता अभ्यास भएका थिए। शंकरले नै नेपालमा लामो र अग्लो हाइलाइन गरेका हुन्।
आफ्नै लगानीमा हाइलाइन
कुस्मामा ४ दिनसम्म चलेको हाइलाइनको खर्च शंकर आफैले ब्यहोरेका हुन्।
‘यो प्रोजेक्ट मेरो निजी भएकोले सबै सामग्री जर्मनीबाट नै ल्याएको हुँ। केही सामान द क्लिफको प्रयोग गरेका छौं। नेपाली स्याल्याकलाइन कम्युनिटीले पनि सहयोग गरेको छ,’ उनले भने, ‘सामग्री र अनुभव भएर मात्र हाइलाइन गर्न सकिन्न। सबैको सहयोग चाहिन्छ। जुन मैले पाउन सकेँ।’
नेपालमा आफ्नो रहर पूरा गर्नेबारे जर्मनीमा स्याल्याकलाइन गर्दै आइरहेका साथीहरूलाई उनले सुनाएका थिए। जसमा उनीहरूले शंकरलाई साथ दिए।
‘स्याल्याकलाइनलाई बाहिर देशमा खेलको रुपमा लिइन्छ। तर, नेपालमा भने अझै यो खेलको रुपमा विकास भएको छैन,’ उनले भने।
नेपाल हिमाली र पहाडी भेग भएको मुलुक भएकोले उनले यहाँ स्याल्याकलाइनको व्यावसायिक भविष्य देखेका छन्।
‘नेपालमा हाइलाइनको ठूलो सम्भावना छ। जुन सरकारले राम्रोसँग अगाडि बढाए पर्यटन प्रवर्धनमा सहयोग पुग्छ,’ उनले भने, ‘विदेशी हाइलाइन गर्नेहरूलाई नेपालमा यसको राम्रो सम्भावना छ भन्ने सानो सन्देश यो प्रोजेक्टले दिएको छ।’
कुस्मामा आफ्नो प्रोजेक्ट सफल भएपछि अब उनी यसलाई नेपालका अन्य भेगमा पनि पुर्याउन चाहन्छन्। आगामी दिनमा देशका हिमाली क्षेत्रमा गएर हाइलाइन गर्ने उनको योजना छ। साथै, अनुभवी क्लाइम्बर र हाइलाइनरसँग सहकार्य गरेर अब नेपाललाई यो खेलमार्फत चिनाउने आफ्नो जमर्को रहने उनले बताए।
के हो स्ल्याकलाइन/हाइलाइन?
स्ल्याकलाइन सामान्यतया जमिनबाट ३० सेन्टिमिटरदेखि १ मिटर उचाइमा तन्काएर राखिएको डोरीमा शरीर हल्का मोडेर, हात फैलाएर सन्तुलन मिलाउँदै हिँड्ने खेल हो। यो संसारभर पार्क, समुद्री किनार र बगैंचामा अभ्यास गरिन्छ। ध्यान, शरीर नियन्त्रण र लचकता बढाउने लोकप्रिय गतिविधिको लागि यो खेल प्रख्यात छ।
हाइलाइन भने २० मिटरदेखि सयैौं मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो। सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ। पर्वत, पुल र खोँचमा अभ्यास गरिने यो मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेल हो।