काठमाडौं । नेपालमा जेनजी आन्दोलनले हिंसात्मक रूप लिएपछि अमेरिकाले भदौ २६ गते नेपाल भ्रमणलाई लिएर ‘लेभल थ्री’ ट्राभल एड्भाइजरी जारी गर्यो। ट्राभल एड्भाइजरीमा थ्री र फोर लेभल जारी भएको अवस्थामा बीमाका कतिपय प्रावधान निस्तेज हुन्छ। अर्थात्, केही भइहालेमा दाबी गर्ने आधार सकिन्छ। त्यसैले पर्यटकमा संकोच पैदा हुन्छ – घुम्न जाने कि नजाने? जोखिम कति लिने?
यसपाला नेपाल भ्रमणलाई लिएर अमेरिकाबाट दशकपछि ट्राभल एड्भाइजरी जारी भएको हो। भदौ २३ गते जेनजीले आयोजना गरेको भ्रष्टाचार विरुद्धको आन्दोलन र त्यसको भोलिपल्ट भएको हिंसात्मक आगजनी र तोडफोडका घटनापछि विकसित घटनाले नेपालको पर्यटन फेरि द्वन्द्वकालीन परिवेश त फर्काउँदै छैन? संशय पैदा गरेको छ।
आन्दोलनकै असर हुनुपर्छ, एक महिनामा तेस्रो मुलुकबाट आउने ५० प्रतिशत पर्यटक नेपाल आएनन्। आउने तयारीमा रहेका २० प्रतिशतले त भ्रमण क्यान्सिल नै गरे। आन्दोलनका क्रममा हिल्टन होटेल जल्यो। ह्यात होटेलमा पनि तोडफोड भयो। वर्णबास होटेल पनि तहसनहस भयो। सिजनको मुखैमा एकातिर भौतिक क्षति र अर्कातिर त्यसले सिर्जना गरेको त्रास ! के अहिलेको परिवेशलाई हामीले माओवादी द्वन्द्वकालीन परिवेशसँगै तुलना गर्न सक्छौँ त?
पर्यटन व्यवसायी योगेन्द्र शाक्य त्यसरी तुलना गर्न तयार छैनन्।
‘त्यतिखेरको अवस्थासँग ठ्याक्कै तुलना गर्न मिल्दैन। र, ट्राभल एड्भाइजरीको प्रभाव पनि पहिलेजस्तो नेगेटिभ हुने अवस्था छैन,’ पछिल्लो परिवेश र निजी क्षेत्रको मनोबलका विषयमाथि हाम्रा केही प्रश्नको जवाफ दिने क्रममा पर्यटन व्यवसायी शाक्यले भने, ‘पहिले पो सूचनाका लागि अरू संयन्त्र थिएन र ट्राभल एड्भाइजरीमा निर्भर हुन्थे। अहिले त सबै तत्कालको खबर लिइरहेका छन्। त्यसैले त्यतिखेरको जस्तो खराब अवस्था अहिलेको होइन।’
नगरकोटको चर्चित रिसोर्ट क्लब हिमालय र लाजिम्पाटको एम्बाडस्डर होटलका सञ्चालक शाक्य अहिलेको अवस्था सदुपयोग हुने हो भने पर्यटनमात्र होइन, सबै क्षेत्रमा सुधार हुने अपेक्षा राख्छन्। जेनजीले जुन मुद्दा उठाए, त्यसप्रति निक्कै सकारात्मक सुनिएका शाक्यले भने, ‘मेरो नाति/नातिनाका पुस्ताले उठाएको मुद्दामा हामीले साथ दियौँ भने यो टर्निङ पोइन्ट बन्न सक्छ। यसलाई हामीले अवसरका रूपमा रूपान्तरण गर्नुपर्छ।’
‘जेनजीले जेजे मुद्दा उठाइरहेको छ, हाम्रो पुस्ताले पनि दशकौँदेखि उठाइरहेको हो। भ्रष्टाचारको विरोध गरे पनि हाम्रो पुस्ताले चाकडी र राजनीतिक छत्रछायालाई स्विकारेर आयौँ।’

नेपालमा जसरी हिंसा फैलियो, त्यसरी नै शान्त भएको परिवेशले पर्यटन क्षेत्रलाई गति दिने सम्भावना देखिएको छ। तर, सुरक्षाकर्मीको गिरेको मनोबल, उनीहरूले सुरक्षाका लागि प्रयोग गर्ने साधनमा पुगेको क्षति, जेलबाट फरार भएका कैदी बन्दीको तथ्यांकले पर्यटनप्रति सकारात्मक सन्देश दिँदैन। त्यसमाथि संसद् विघटन र निर्वाचनको परिवेशमा हुनसक्ने हिंसात्मक गतिविधिले पनि यस क्षेत्रलाई असर पार्न सक्छ। व्यवसायी शाक्य भने पहिलेजस्तै सबैले पर्यटन क्षेत्रका लागि एकताबद्ध हुने हो भने यस खाले परिवेशले समस्या नपार्ने बताउँछन्।
‘ती दिन फिर्ने छैनन्’
सन् २०११। पृष्ठभूमिमा थियो राजनीतिक अस्थिरता। संविधानसभा निर्वाचन सन् २००८ मा भएपछि माओवादी सबैभन्दा शक्तिशाली दलका रूपमा उदायो। ‘जनयुद्ध’को पृष्ठभूमिमा आएका माओवादी लोकतान्त्रिक राजनीतिमा अवतरण गरिरहँदा ट्रेड युनियन मुभमेन्ट सबैभन्दा बढी चर्कियो। कम्युनिस्टहरू सधैँ श्रमिक र श्रम शोषणलाई राजनीतिक हतियारका रूपमा लिन्छन्, माओवादीले त्यही गरे। यसको असर बहुराष्ट्रिय कम्पनीहरूमा पनि पर्न गयो।
हस्पिटालिटी क्षेत्रमा ‘सेवा’को भाव कमजोर हुँदै गयो र ट्रेड युनियनको दबदबा बढ्न थाल्यो। संविधान लेखनमा माओवादी नेतृत्वले सफलता पाउन नसक्दा अराजकताले जरा गाड्यो। बन्द हडतालका क्रम तेज भयो। अहिलेको परिवेशले के तिनै दिन फिर्ता ल्याउने संकेत त गर्दैन?
योगेन्द्र शाक्यका बुझाइमा ती दिन फिर्ने छैनन्। ‘माओवादीको आन्दोलन गरिब र धनीको आन्दोलन थियो। माओवादीको डक्ट्रिनमै थियो – ऊ धनी भएकाले तँ गरिब भएको,’ तत्कालीन परिवेश सम्झिँदै शाक्यले भने, ‘शोषक त तेरो मालिक हो भन्दै माओवादीले आन्दोलन गरेका थिए। तर यसपालाको आन्दोलन भनेको ‘पोलिटिक्स एगेन्स्ट पोलिटिक्स’ हो।

हामी लगानीकर्ताले पोलिटिक्समा गएर परिवर्तन गर्न कठिन छ। किनकि हामी सिसाको घरमा बसेका हुन्छौँ। म राजनीतिमा जान सक्थेँ। किन गइन भने मेरो होटेललाई जोखिममा पार्न चाहिन। राजनीतिमा जाने हो भने भोलि मेरो होटेलमा ढुंगामुढा हुनसक्छ भनेर जाने हो।
सन् २०११ को सन्दर्भ यहाँ किन पनि जोडिएको हो भने त्यतिखेर नेपाल पर्यटन वर्ष घोषणा गरिएको थियो। र, योगेन्द्र शाक्यकै नेतृत्वमा पर्यटन प्रवर्धनको अभियान अगाडि बढेको थियो। राजनीतिक तरलता, संविधान जारी हुन नसक्दाको सङ्क्रमण, बन्द र हडतालकै बीच दश लाख पर्यटक भित्र्याउने लक्ष्य महत्त्वाकांक्षी सुनिन्थ्यो। तर, त्यस खाले परिवेशमै पनि ८ लाख पर्यटक नेपाल भित्रिए।
‘त्यतिखेर सबै राजनीतिक दललाई बन्द र हडताल नगर्न र पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन लिखित रूपमा सहमत गराइएको थियो,’ शाक्यले द्वन्द्व अवतरणकालीन परिवेश सम्झिँदै अहिलेको अवस्था दाँजे, ‘यसपालाको आन्दोलन फरक भयो। आन्दोलन एकाएक आएको तुफानजस्तो मात्र भयो।’
यस पटक आन्दोलन ‘तुफान’कै रूपमा आए पनि काठमाडौँ पूरै धुवाँमा रङिबङ्गियो। सिंहदरबारदेखि निजी सम्पत्तिमाथि आक्रमण भयो आगजनी पनि। त्यति मात्रै होइन, दशकपछि फेरि सडकमा टायर जल्यो। भ्रमण वर्षका नाममा पर्यटन प्रवर्धनका लागि २२ दलसँग लिखितम् गरेरै पर्यटन क्षेत्रलाई अगाडि बढाएको सम्झिन्छन् शाक्य।
फरक दृश्य
जेनजीको आन्दोलनका क्रममा सबै बन्द भयो। कर्फ्यू तोडेर प्रदर्शनकारी सडकमा उत्रिए। त्यही आन्दोलनका क्रममा एउटा दृश्य निक्कै चर्चित बन्यो – आफ्नो देश फर्किँदै गरेका पर्यटकलाई आन्दोलनकारीले गरेको व्यवहार। आगजनीको बीचमै विमानस्थल जाँदै गरेका पर्यटकलाई हात हल्लाउँदै जेनजीले भनिरहेका थिए- ‘फेरि आउनुस् है। आन्दोलन तपाईँहरूको असहजताका लागि होइन, भ्रष्टाचारविरुद्ध हो।’ आन्दोलनको प्रतीक नै बन्यो यस खाले दृश्य।
सबै दृश्य प्रितकर भने थिएनन्। पाँचतारे होटेल हिल्टनमा आगो लगाइयो। बास बसिरहेका पर्यटक त्यहाँबाट हट्न बाध्य भए। ह्यात होटेल तोडफोडमा पर्यो। पर्यटन क्षेत्रमाथि यसरी आक्रमणको कारण के थियो त? शाक्य राजनीतिक दलप्रतिको आवेग त्यहाँ प्रकट भएको तर्क गर्छन्- ‘आक्रोश पार्टीसँग थियो। तर राजनीतिक नाता जोडेर निजी क्षेत्रमाथि आक्रमण भयो। राजनीतिक पहुँचका आधारमा कमायो भन्ने व्याख्या गरेर जलाएको देखिन्छ।’
हिल्टन होटेल जल्नुमा सोसल मिडिया र केही स्थापित युट्युबरले तयार गरेको ‘न्यारेटिभ्स’ले काम गर्यो। शेरबहादुर देउवाका छोराको लगानी भन्दै ८ अर्ब लागतमा बनेको होटेल जलाइयो। जहाँ जहाँ आक्रमण भए त्यहाँ राजनीतिक कनेक्सनलाई लिएर आन्दोलनकारी उग्र भएको देखियो- वर्णबास होटेल, भाटभटेनी सुपर मार्केट अथवा चौधरी समूह नै किन नहोस्।

‘हामी लगानीकर्ताले पोलिटिक्समा गएर परिवर्तन गर्न कठिन छ। किनकि हामी सिसाको घरमा बसेका हुन्छौँ,’ योगेन्द्रले सुनाए, ‘म राजनीतिमा जान सक्थेँ। किन गइन भने मेरो होटेललाई जोखिममा पार्न चाहिन। राजनीतिमा जाने हो भने भोलि मेरो होटेलमा ढुंगामुढा हुनसक्छ भनेर जाने हो।’
+++
योगेन्द्रलाई लाग्छ युवा पुस्ताको यस आन्दोलनले एक खाले ‘आइस ब्रेक’ गरेको छ– भ्रष्टाचारको सन्दर्भमा। अहिले भएको क्षतिलाई एकातिर राख्ने हो भने जेनजीको आन्दोलन सबैको आन्दोलन हुनुपर्ने योगेन्द्रको बुझाइ छ। ‘जेनजीले जेजे मुद्दा उठाइरहेको छ, हाम्रो पुस्ताले पनि दशकौँदेखि उठाइरहेको हो,’ उनले भने, ‘भ्रष्टाचारको विरोध गरे पनि हाम्रो पुस्ताले चाकडी र राजनीतिक छत्रछायालाई स्विकारेर आयौँ।’
व्यवसायमा अगाडि बढ्नका लागि राजनीतिक पहुँचले भूमिका खेलेपछि यो क्षेत्र राजनीतिक दल वा नेतासँग निकट हुन थाल्यो। निजी क्षेत्रमा पनि राजनीतिलाई ‘ग्लोरिफाइ’ गर्ने प्रवृत्ति बढ्यो। सेटिङ र बिचौलियाको प्रभुत्व हुन थाल्यो। ‘सेटिङ गर्नुलाई “डुइङ बिजनेस”कोअंशकारूपमा लियौँ।जसले सेटिङ गर्यो ऊ “गुडबिजनेस म्यान”। जसले जानेन “ब्याड बिजनेसमान”भन्यौँ,’ योगेन्द्रले भने, ‘तर जेनजीले त्यसमा “नो”भन्यो।’
जेनजीले आन्दोलनअघि तीन दलीय सिन्डिकेटले मुलुकमा राज गर्यो। राजनीतिक दलहरू मिलेपछि जे पनि गर्न पाउँछौँ भन्ने धारणा नै विकास भयो। यसलाई ‘फियर फ्याक्टर’को अभाव ठान्छन् योगेन्द्र। ‘राजनीतिक पार्टीहरू उत्ताउलो यति उत्ताउलो भए कि – सबै आफैँ चलाउने,’ उनले भने, ‘मानौँ, मलाई होटेल चलाउन परो भने कम्पनीको कार्यालय होइन पार्टी कार्यालय धाउनुपर्ने बनाइदियो। कसै न कसैको झोला नबोकी काम हुन्न भन्ने बनाए।’ जेनजीको आन्दोलनले दलीय सिन्डिकेटमाथि प्रहार भएको छ। जतिसुकै बलियो शक्तिको पनि अवसान हुन सक्छ भन्ने स्थापित भएको छ। त्यसैले उनलाई लाग्छ – अब दलको त्यस खाले उत्ताउलोपन कम हुन्छ कि !
‘अब दलहरूले ह्युमिलिएसनको महसुस नगर्ने र रिटालियटतिर नजाने हो भने पर्यटन मात्र होइन, समग्र अर्थतन्त्रमा पोजेटिभ इफेक्ट पर्नेछ।’

जेनजीले भ्रष्टाचारलाई “नो”भन्छभने निजी क्षेत्रले पनि त्यसमा साथ दिनुपर्ने योगेन्द्रको तर्क छ – ‘सेटिङलाई सोझै दुत्कार्ने हो भने सबै क्षेत्रले अग्रगामी बाटो लिनेछ।’ राजनीतिक छत्रछाया भएन भने सुरक्षित रहन सक्दिन भन्ने मनोभावबाट मुक्त हुन सजिलो थिएन। किनकि नेपाली समाजमा दलीय राजनीति जरैदेखि स्थापित रह्यो। राजनीतिक, प्रशासनिक मात्र होइन निजी क्षेत्रले पनि राजनीतिक शक्तिलाई पुज्न छाड्ने हो भने परिस्थिति फेरिन सक्छ।
त्यसैले उनी भन्छन्, ‘जेनजीले उठाएको भ्रष्टाचार विरोधी कदममा अब हामी हजुरबा पुस्ता पनि लाग्नुपर्छ।’
अर्थतन्त्रलाई सुधार्ने अवसर
जेनजीले उठाएको सबैभन्दा आधारभूत मुद्दा हो – भ्रष्टाचार अन्त्य र सुशासन। भ्रष्टाचारले नै पीडक र पीडित बनाइरहेको हुन्छ। त्यसैले भ्रष्टाचार, सेटिङ र सिन्डिकेटलाई वर्गीकरण गरेर बुझ्नुपर्ने तर्क गर्छन् योगेन्द्र।
‘भ्रष्टाचार मात्र भनेर हुँदैन। घुस दिने मानिस पीडित भइरहेको हुन्छ किनकि नदिए उसको काम हुन्न। यहाँ लिने व्यक्ति पीडक हो,’ भन्छन्, ‘तर सेटिङ त लिने र दिने दुवै पीडक हुन् जसमा योजना रहन्छ। तीन दलका नेतामा जस्तै बिचौलिया व्यवसायमा पनि छ। त्यसैले यिनीहरूलाई वर्गीकरण गरेर छुट्टाउन आवश्यक छ।’
जेनजीले आन्दोलन गरेको विषयमा उनीहरू कति प्रस्ट छन् यकिन छैन। तर उनीहरूले उठाएको मुद्दाले अर्थतन्त्रलाई सुधार्ने अवसर दिएको छ। तर जेनजीभित्र देखिएका विभिन्न समूह र अब ‘हाम्रो पालो’ भन्दै सुरु भएको उत्ताउलोपनले झस्काए पनि छ योगेन्द्रलाई।
तर पनि अहिलेको मुद्दालाई “टर्निङपोइन्ट” मानेर अघि बढ्यो भने र “मेरिट” मा चल्यो भने वैदेशिक लगानी भित्रिनेमा उनी विश्वस्त सुनिन्छन्।
‘हामीले जस्तो “अन्डरद टेबुल” दिनुपर्ने कुरा “फरेन इन्भेस्टमेन्ट” मा गाह्रो छ।त्यो नहुना साथ लगानी आउँछ,’ उनले भने।

“त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछाउनेछौ !”
गोपाल प्रसाद रिमालको कविता ‘आमाको सपना’मा भने झैँ जेनजीको आन्दोलन आँधीबेहरी झैँ आयो र सबै पात झैँ त्यसलाई पछ्याउन बाध्य भए। सत्ता, शक्ति र विधि विधान क्षतविक्षत भए। सिन्डिकेट र बिचौलिया एकाएक बबुरा भए। एक निमेष सपनामा झैँ परिवर्तन भयो।
विदेश फर्किँदै गरेका पर्यटकले आन्दोलनकारीबाट ससम्मान पाएको बिदाइ, अरू मुलुकका आन्दोलनमा फरफराइएको नेपाली झन्डा, सरक्कै बनेको सरकार, केही नभए झैँ सामान्य बनेको जनजीवन सबैले एकै कुरा संकेत गरेको छ – यो परिवर्तनले बाटो खोलिदिएको छ सुधारको।
योगेन्द्र भन्छन्, ‘बुकिङ होल्ड गरेका पर्यटक पनि यहाँको अवस्था देखेर आउँदै छन्। १० प्रतिशतभन्दा बढी क्षति हुने देखिँदैन। तर अब फेरि पार्टीहरूले पुरानै पारामा काम गरे भने चाहिँ यो अवसर खेर जाने छ।’
यति ठुलो उथलपुथल लगत्तै राजनीतिक द्वन्द्व व्यवस्थापनमा ‘मच्युरिटी’ देखेका योगेन्द्रको बुझाई छ, ‘अब दलहरूले ह्युमिलिएसनको महसुस नगर्ने र रिटालियटतिर नजाने हो भने पर्यटन मात्र होइन, समग्र अर्थतन्त्रमा पोजेटिभ इफेक्ट पर्नेछ।’