BIZMANDU
www.bizmandu.com

प्रहरीको हतियार लुट्ने तथा पोशाक र कार्यालय जलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने

२०८२ कात्तिक १

प्रहरीको हतियार लुट्ने तथा पोशाक र कार्यालय जलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने
प्रहरीको हतियार लुट्ने तथा पोशाक र कार्यालय जलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने


काठमाडौं। भदौ २३ र २४ गतेको प्रदर्शनमा प्रहरी कार्यालयबाट हातहतियार चोरी गर्ने, कार्यालय र पोशाक जलाउनेहरूमाथिको अनुसन्धान प्रहरीले तीव्र बनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यसका लागि अहिले विशेष अपरेसन नै चलाएको छ।

Tata
GBIME

त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरले पनि दैनिकजसो आरोपीहरूलाई पक्राउ गरिरहेको छ। प्रहरी लक्षित आक्रमणलाई प्राथमिकतामा राखेको देखिएको छ।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र १ सय जनाभन्दा बढी पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूमाथि प्रहरीले अहिले चोरी, आपराधिक उपद्रव, डाँका चोरी तथा एकिकृत कसुरमा मुद्दा बुझाएको छ।

त्यस्तै, उनीहरूमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएको छ। अहिले मुल कसुर र त्यसपछि सम्बद्ध कसुरमा मुद्दा चालउने तयारी प्रहरीको छ।

अनुसन्धान सकेर बुझाएका केही केसमा जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी उपर सम्पत्ति शुद्धीकरणतर्फ अनुसन्धान गर्नुपर्ने देखिएमा सोही वखत कानुन बमोजिम हुने बताइएको छ। त्यसका लागि अहिले प्रहरीले आरोपीहरूको सम्पत्ति विवरण समेत खोज्न थालेको छ।

मुद्दाका प्रतिवादीहरू तथा संस्था समेतको नाममा रहेका घरजग्गा, बैंक खाता लगायतका सम्पत्तिहरू माग तथा रोक्का गर्न र वरामदी दशीको परीक्षण प्रतिवेदनका लागी सम्बन्धित कार्यालयहरूमा पत्राचार गरिएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, प्रहरीले पक्राउ परेकाहरूसँग कार्यालयमा क्षति भए बराबरको रकम पनि क्षतिपूर्ति माग गरेको छ।

प्रहरीका अनुसार ४ सय वटा प्रहरी कार्यालयहरू जलाइएको छ। अझै पनि ९ सयवटा हतियार फेला परेको छैन।

‘उनीहरूको कसुरअनुसार विभिन्न मुद्दाहरू लगिरहेका छौं,’ नेपाल प्रहरीका प्रवक्ता डीआइजी विनोद घिमिरेले भने।