BIZMANDU
www.bizmandu.com

‘हामी टुटेका मात्र हौं ढलेका होइनौं, अहिलेभन्दा १० गुणा बढी सफलता पाउन अगाडि बढ्छौं’

२०८२ असोज ३१

‘हामी टुटेका मात्र हौं ढलेका होइनौं, अहिलेभन्दा १० गुणा बढी सफलता पाउन अगाडि बढ्छौं’
‘हामी टुटेका मात्र हौं ढलेका होइनौं, अहिलेभन्दा १० गुणा बढी सफलता पाउन अगाडि बढ्छौं’

काठमाडौं। सतुंगलको सिजी डिजिटल पार्क ८०० भन्दा बढी कर्मचारी एकै साथ काम गर्ने उद्यमशीलताको हब थियो। फुल्ली अटोमेटेड सिस्टमको यो हबमा अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्ड एलजी, सेन्साई, बेको, गोदरेज लगायतका दर्जनभन्दा बढी ब्राण्ड एसेम्बल्ड हुन्थे। दसैं नजिकिएकाले इलेक्ट्रोनिक्स सामान लोड गरिएका मालवाहक गाडीहरू लहरै थिए।

Tata
GBIME
Nepal Life

एलजी र सिजी ब्राण्डका विद्युतीय उपकरणहरूको एसेम्ब्ली, प्याकेजिङ र वितरण, सर्भिस सेन्टरका साथै सिजी नेटको सर्भर र डेटा सेन्टर रहेको यो कम्पाउण्ड हरसमय गुल्जार रहन्थ्यो। तर, एक महिनाअघि भदौ २४ गते जेन्जी प्रदर्शनका नाममा भएको विध्वंसबाट सिजीको डिजिटाइजेसन सपनाको नमुनाका रुपमा निर्माण भएको ‘आइकोनिक’ पार्कमा खरानी भएको छ, उद्यमशीलताको घरमा कालो धुलो उडिरहेको छ।

२ तलाको फ्याक्ट्री पूरै जलेर खण्डहर भएको छ। ४० वर्षअघि स्थापना भएको यो पार्कको क्षतिको अनुमान हिसाबकिताबमा ३ अर्ब आएको छ। तर, पार्क जल्दा ८०० परिवारको सपना जलेर खरानी बनेको छ।

टेलिभिजनको प्यानलदेखि खानेपानी फिल्टर गर्ने केन्ट तयार पार्ने भवन भग्नावशेषको थुप्रो बनेको छ। आँगनमा लोड गरेर राखिएकै गाडीहरू सामानसँगै जलेका छन्। अनलोड गर्न ठिक्क पारिएको लरी भित्रका सामानको हविगत उस्तै। एक छेउमा कवाडी बनेका वासिङ मेसिन र रेफ्रिजरेटरहरूको थुप्रो छ।

जुनसुकै बेला पनि भत्किन सक्ने देब्रे भित्तातिरको पाटो मुन्तिरको सानो करिडोरमा केही कर्मचारी टेलिभिजन मर्मत गरिरहेका छन्। छाना पूरै धसिएको भवनको पछिल्तिर केही कर्मचारी प्याकेजिङ सामाग्रीको व्यवस्थापन गरिरहेका देखिन्छन्।

विध्वंशको शिकार भएको सिजी पार्क

सिजी डिजिटल पार्क भदौ २३ गतेको जेन जी आन्दोलनपछि २४ गते भएको विध्वंसात्मक घटनाको शिकार बन्यो। जसरी अन्य धेरै सरकारी तथा निजी भवन र संरचनाहरूमा आगजनी र लुटपाट भयो त्यसै समयमा बिनोद चौधरीको निजी निवाससँगै सानेपास्थित कार्यालय, सिजी मोटर्सका शोरुमहरू र सतुंगलको यो पार्कमा लगभग उस्तै समयमा आगो झोसियो।

सुरक्षाकर्मीलाई लछारपछार पार्दै भित्र पसेको उक्त समूहले आँगनको छेवैमा रहेको लक्ष्मी र हनुमानको मन्दिरलाई पनि बाँकी राखेनन्।

‘त्यस दिन यति छिटै यो अकल्पनिय घटना भयो कि हामीले त विश्वासै गर्न सकेनौं!’ सिजी डिजिटल पार्कको भग्नावशेषमा उभिएर सीजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भदौ २४ लाई सम्झिए, ‘हाम्रो घरमा आगो लगाइयो, कारखाना जल्यो, डेटा सेन्टर जल्यो, मोटरका शोरुमहरू जले, उत्पादन जल्यो, पैसा लुटियो। यतिको विध्वंश सहनुपर्दा जो कोही विचलित हुन्छ। सबैभन्दा पीडा त मलाई यो मन्दिर फुटाएको देख्दा भयो। २० टुक्रा भएको रहेछ लक्ष्मी र हनुमानजीको मूर्ति। हामी जहाँ आशिर्वाद लिएर काममा जुट्थ्यौं, हाम्रो कर्मको मन्दिरमा प्रहार भएको देख्दा सबैभन्दा बढी दुखेको छ।’

यो लडाइँमा प्राइभेट कम्पनीहरू किन आक्रमणमा परे? हजुरबुवाले बनाउनुभएको हाम्रो पुर्ख्यौली घर जल्यो, ठाउँ-ठाउँका शोरुम जल्यो छानीछानी हाम्रोमा किन आगो लगाइयो?

निर्वाण चौधरी

सन् २०२७ सम्ममा सिजीका सबै कम्पनीलाई ‘एआई रेडी’ कम्पनीका रुपमा स्थापित गर्दै डिजिटाइसेनको अर्को स्तरमा पुर्‍याउने सपनाका साथ निर्माण भएको संरचना भत्किँदा चौधरी समूहको लक्ष्यमा मात्र आघात पुगेको छैन सिजीलाई देशकै सबैभन्दा ठूलो करदाता र रोजगारदाता कम्पनीबाट मल्टिनेशनल ब्राण्डमा रुपान्तरण गर्ने यसका सारथीहरू समेत ‘ट्रमा’को शिकार भए। अंक वा परिमाणमा नापिने क्षति भन्दा गहिरो छ त्यो मनोदशा जसलाई पन्छाएर खरानीबाट उठ्ने दृढता र आत्मविश्वास भर्दै उनीहरू काममा जुटिसकेका छन्।

आइकनिक पार्कको योजनामा धक्का

हाल सिजी डिजिटल पार्क निर्माण भएको ठाउँ ४ दशकअघि नै टिभी बनाउने कारखानाका नामले परिचित थियो। निर्वाणले पहिलो पटक यो ठाउँमा जम्मा १० वर्ष हुँदा टेकेका थिए। स्कुल बिदाको समयमा बुवासँग नवलपरासीको चौधरी ग्राम जाँदा पहिलो स्टप हुने गर्थ्यो यो ठाउँ। १० वर्ष हुँदा भेटेका कर्मचारी अझै पनि काम गर्दै थिए। जसरी पहिलोपटक भेट्दा निर्वाणले कर्मचारीको माया पाउँथे, अहिले यो पार्कको नेतृत्व सम्हाल्दा पनि त्यस्तै अनुभव उनले संगालिरहेका थिए। जसले बच्चामा वात्सल्यपूर्ण मायाले उनलाई छोप्थे, उनै कर्मचारी पछिसम्म आएर भेटिरहन्थे निर्वाणलाई। यो ठाउँ र पुराना कर्मचारीहरूसँग इमोसनल बण्डिङ त्यसरी नै बनेको थियो निर्वाणको।

‘यो ठाउँसँग मेरो बेग्लै अनुभव छ। यहाँ सुरुदेखि १५ प्रतिशत महिला कर्मचारी काम गर्नुहुन्थ्यो। एउटा फुच्चेलाई जसरी माया गर्नुहुन्थ्यो, यहाँ आउँदा त्यस्तै माया पाइरहेको फिल हुन्थ्यो,’ निर्वाण भावानात्मक सुनिए।

यो ठाउँ उनीहरूका लागि यति अर्थपूर्ण थियो कि हरेक लक्ष्मीपूजामा हेडअफिसमा पूजा गरिसकेपछि उनीहरू सिधै यहीँ आएर लक्ष्मीपूजा गर्थे अनि मात्र निजी निवासमा पूजा हुन्थ्यो। 

सुरुवातमा अपोलो स्टिलको कारखाना रहेको यो स्थानमा ८० को दशकको सुरुवातदेखि नै तोसिभा, मात्सुसिता, नेसनल पानासोनिक ब्राण्डका रेडियो, क्यासेट प्लेयर, टेलिभिजनहरूको बजार स्थापित भयो। यही कारखानामा गोल्डस्टार ब्राण्डका विद्युतीय उपकरण उत्पादन हुन थाल्यो जसको रिब्राण्डिङ गरेर एलजी ब्राण्डका सामाग्रीहरू उत्पादन हुन थाल्यो। यो एसेम्ब्ली प्लान्टमा उत्पादित सामाग्रीहरूले बजारमा स्थापित हुँदै नम्बर १ ब्राण्ड बन्न सकेको समय निर्वाणका आँखामा रिल झैं फन्फनी घुमिरहेका छन्।

एलजीको वर्ल्ड ब्राण्डको एसेम्ब्ली नेपालमा सुरु भइसकेपछि सिजीले किन आफ्नो ब्राण्ड नगर्ने भनेर यही थलोबाट इनोभेसनका रुपमा कम्पनीले सिजी ब्राण्डका विद्युतीय उपकरणको उत्पादन सुरु गरेको थियो। एलजीको सफलताले डोहोर्‍याउँदै जाँदा कम्पनीलाई आफ्नै ब्राण्ड बनाउने आँट आएको थियो। वेयर हाउजिङतर्फ फुल्ली अटोमेटेड भवन बनाइएको यो नै पहिलो स्थान थियो।

यो ठाउँ उनीहरूका लागि यति अर्थपूर्ण थियो कि हरेक लक्ष्मीपूजामा हेडअफिसमा पूजा गरिसकेपछि उनीहरू सिधै यहीँ आएर लक्ष्मीपूजा गर्थे अनि मात्र निजी निवासमा पूजा हुन्थ्यो।

जतिबेला काठमाडौं बाहिर कारखाना खोल्ने ट्रेन्ड चलिरहेको थियो सिजीले काठमाडौं उपत्यकाभित्रै प्लान्ट राखेर उत्पादन गर्न थाल्यो। त्यसअघि चौधरी ग्रुपले ललितपुरको भैंसेपाटीमा वाइवाइ चाउचाउको कारखाना स्थापना गरेको थियो जसप्रति निर्वाणको भावनात्मक सम्बन्ध जोडिन पुग्यो। त्यसरी नै बाल्यकालदेखिका सम्झना जोडिएको सतुंगलको यो प्लान्टलाई ‘आइकोनिक पार्क’ बनाउने सपनाको बिउ निर्वाणको भावनात्मक निकटताकै कारण रोपिएको थियो।

सिजी डिजिटल पार्कको भग्नावशेष

‘हाम्रो भिजन के थियो भने यो ठाउँमा विद्युतीय उपकरण उत्पादन गर्ने प्लान्ट मात्र राख्ने होइन यसलाई सिजी नेटको नक सेन्टरका रुपमा विकास गर्दै लैजाने। डेटा सेन्टर पनि यहीँ थियो। हामीले नेपालमै डिजिटाइजेसन, एआई, इलेक्ट्रोनिक्सको विकासमा थप अनुसन्धान र लगानी गर्दै ग्रो गर्ने भनेर जग्गाको आकार पनि बढाएका थियौं। पछि सम्पूर्ण चौधरी ग्रुपकै लिडरसिप डेभलपमेन्ट, टेक्नोलोजी डेभलपमेन्ट र सन् २०२७ सम्ममा यस ठाउँलाई ग्रुपकै एआई रेडी कम्पनी बनाउने योजनामा पनि काम भइरहेको थियो,’ उनले भने।

डिजिटल पार्क डिजिटाइजेनको यात्रामा पृथक सफलताको यात्रा हुनेमा निर्वाण ढुक्क थिए। तर, भदौ २४ ले उनको योजनामा धक्का लागेको छ।

आफ्नो सक्रिय व्यावसायिक संलग्नताको २५ वर्षमा उनले देशमा धेरैपटक अस्थिरता देखे। भ्रष्टाचार व्याप्त भएपछि युवावर्गको राजनीतिप्रतिको चरम वितृष्णा देखे। द्वन्द्व, आन्दोलन, भूकम्प, नाकाबन्दी, धेरै किसिमका असहज अवस्थाहरू पनि झेले। तर, यसपटक भदौ २४ को विध्वंसमा अहिलेसम्मकै ठूलो क्षति व्यहोरेको हो भन्न उनको मनले अटेर गरिरहेको छ। के थाहा अझै यो भन्दा बढी पो हुनु छ कि? उनीभित्र प्रश्न र आशंका बाँकी नै छन्।

व्यावसायिक यात्रामा ३ पुस्ताबाट विरासतमा पाएको सकारात्मक सोच र आत्मविश्वासले भरिएका निर्वाण हतासको यो वातावरणमा पनि अविचलित छन्। भन्छन्, ‘हामी टुटेका मात्र हौं, ढलेका होइनौं। अहिलेको भन्दा १० गुना बढी सफलता हासिल गर्ने गरी हामी फेरि उठ्ने छौं।’

निर्वाणको प्रश्न

निर्वाणलाई भदौ २४ को घटना अपत्यारिलो लाग्छ। जेन जीको आन्दोलन राजनीतिक हो भन्ने उनलाई लागेको थियो। तर, किन त्यो आन्दोलनले विध्वसंको बाटो लियो? आम मानिसका झैं अपेक्षा र अनुमानविपरित किन उद्योगधन्दा जले, फ्याक्ट्री जल्यो? उनले अझै उत्तर पाएका छैनन्।

के हामीले देशमा सबैभन्दा बढी रोजगारी सिर्जना गरेर गल्ती गरेका थियौं?

हाम्रो कम्पनीमात्र यस्तो कम्पनी हो जसले कुल राजस्वको वर्षेनी ३ प्रतिशत राजस्व बुझाउँछ। के यो हाम्रो गल्ती हो?

देशलाई हरेक पटक विपत्ति आइपर्दा हामी परोपकारका काममा सबैभन्दा अघि छौं। देशलाई परेको बेला साथ दिनु  गल्ती हो?

३० वर्ष देशमा भएको अस्थिरताका बाबजुद हामीले लगानी गरिराख्यौं कि त्यो गल्ती हो?

यो लडाइँमा प्राइभेट कम्पनीहरू किन आक्रमणमा परे? हजुरबुवाले बनाउनुभएको हाम्रो पुर्ख्यौली घर जल्यो ठाउँ-ठाउँका शोरुम जल्यो छानीछानी हाम्रोमा किन आगो लगाइयो?

भवन त फेरि यो भन्दा मजबुत बनाउँला। यो भन्दा अझै हाइटेक बनाउँला। किनभने हाम्रो सपना कसैले मार्न सक्दैन।

निर्वाणको मनमा बग्रेल्ती छन् अनुत्तरित प्रश्नहरू, जसको जवाफ कतैबाट आएको छैन। बरु उनी आफैलाई यसरी आश्वस्त पार्छन्।

‘त्यो समयमा ल र अर्डर कायम भएन। त्यसैले आन्दोलनका नाममा आपराधिक समूह घुसे जस्तो लाग्यो। हुलदंगाका अघि लजिकले काम गर्दैन। त्यो हुलसँग यहाँ बसेका कामदारहरूले प्रतिवाद त गरे तर उनीहरूले पनि केही गर्न सकेनन्,’ उनले सुनाए।

आफ्नो बेचैन मनलाई थामथुम पार्दै उनी आत्मविश्वास जगाइरहन्छन्। यतिको क्षति हुँदा कम्पनीका कुनै कामदारको ज्यान गएन। परिवारका सदस्य कसैमाथि नराम्रो भएन। कसैको जीवन गुमेको भए अझ कति सकसपूर्ण हुँदो हो! यही सम्झेर निर्वाण सकारात्मक बन्न प्रयास गरिरहेका छन्। किनभने उनले राम्ररी बुझेका छन्- सर्ट टर्म माइन्ड सेटले लङटर्म कमिटमेन्टलाई गुमाउनु हुँदैन। त्यसैले त उनीहरू पुनर्निर्माणमा जुटिसकेका छन्।

‘भवन त फेरि यो भन्दा मजबुत बनाउँला। यो भन्दा अझै हाइटेक बनाउँला। किनभने हाम्रो सपना कसैले मार्न सक्दैन,’ उनी दृढ सुनाए।

उनी भन्छन्- ‘नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी जो नेपालको झण्डा लिएर बाहिर ग्रो गरिरहेका छौं। म विदेशमा पाएका अनेक अवसरहरूका बाबजुद २५ वर्षदेखि यहीँ बसेर काम गरिरहेको छु। भोलि के होला भन्ने ट्रमा त छ तर हामी जति जे भएपनि त्यतिकै कन्फिडेन्स त्यतिकै लगानी त्यतिकै रोजगारी दिएर उदाहरणका रुपमा अघि बढ्नै पर्छ।’

बेला-बेला उनी आफ्ना गुरुले दिएको उपदेश सम्झिन्छन् र नेपाली समाजको अहिलेको अवस्थासँग तुलना गर्छन्।

‘१२ जना मान्छेमा ४ जना पक्का, ४ जना कच्चा र ४ जना लुच्चा हुन्छ। त्यसमा ४ जना पक्काले ४ जना कच्चालाई आफूतिर तानेर पक्का बनायो भने कल्याण हुन्छ तर ४ जना लुच्चाले कच्चालाई आफ्नो बशमा पार्‍यो भने त्यही हुन्छ जुन भदौ २४ मा भयो। नेपाली समाजको मनोदशा अहिले यस्तै छ। अब हामीले कच्चालाई पक्का बनाउनेतिर नै लागेमा देशको कल्याण हुने हो,’ उनले भने।

आक्रोशित युवा पुस्ता भदौ २३ र २४ का घटनामा मिस गाइडेड भएको उनको बुझाइ छ। उनीहरूमा रहेको आक्रोशलाई सकारात्मकतातर्फ डोहोर्‍याउने नेतृत्वको खाँचो उनले बोध गरेका छन्।

निर्वाणले पुस्तैनी विरासतमा पाएका हुन् ‘आत्मविश्वास’ जसको बलमा आफ्नो परिवारको शक्ति र आफ्नो समूहको विश्वासलाई साथ लिएर उनी लङटर्म भिजनका साथ निर्णय लिन सक्छन्। रिसमा, आवेगमा छोटो समयमा लिएको निर्णय गलत हुन्छ।

उनले बुझेका छन् यतिबेला आवेगमा आएर सबै कारखाना बन्द गरौं, सबै कामदार हटाऔं र नेपाल बाहिर लगेर कम्पनी चलाऔं भन्नु बुद्धिमानी हुँदैन। आजका दिनमा उनीहरूले जलेको कारखानाबाट एक जनालाई पनि रोजगारीबाट हटाएका छैनन्।

‘हामी त बेटर रिबिल्डमा जाने हो। हामीले गर्ने काम नेपालप्रति लगानी गर्ने र विश्वास गर्न खोज्नेहरूका लागि उदाहरण बनोस् न!,’ उनी थप उर्जाका साथ बोलिरहेका छन्।

होप फर द बेस्ट

निर्वाणले आफ्नो व्यावसायिक जीवनमा नेपालको अस्थिरताका कारण वैदेशिक लगानी आउन नसकेको देखेका छन्। नेपालको अस्थिर वातावरणकै कारण लगानीकर्ता डराइरहेको उनले बुझेका छन्। यो समयमा सरकारले सुरक्षा दिन्छ भन्नेमा पनि उनी अझै आश्वस्त हुन सकेका छैनन्।

निर्वाणलाई यतिबेला प्रिपियर फर द वर्स्ट, होप फर द बेस्ट भन्ने रियलाइजेसन चाहिँ भएको छ। फेरि पनि उनी यहीँ लगानी गर्ने हो भनेर लागिरहेका छन्।

किन त?

‘किनभने हामी पहिले पनि देशको सबैभन्दा ठूला रोजगारदाता हौं। ठूला लगानीकर्ता हौं। जुन हामी निरन्तर रहिरहन चाहन्छौं। यहाँ हामीले अवसर देखेका छौं। हाम्रो आफ्नै निर्णय हो यो प्रतिवद्धता हो। देशलाई यस्तो परेको बेला अहिले यहाँको लगानी गर्न आउँछ? तर, हामीले रि-बिल्ड गर्न थाल्यौँ भने अरुको पनि कन्फिडेन्स बढ्छ। सिजीले विभिन्न क्षेत्रमा लगानी थप्यो भन्यो भने  हाम्रो ग्लोबल रेपुटेसनका कारण अरुलाई पनि यहाँ आउने मनोबल बढ्छ,’ उनले भने।

आक्रोशित युवा पुस्ता भदौ २३ र २४ का घटनामा मिस गाइडेड भएको उनको बुझाइ छ। उनीहरूमा रहेको आक्रोशलाई सकारात्मकतातर्फ डोहोर्‍याउने नेतृत्वको खाँचो उनले बोध गरेका छन्।

‘त्यसदिन धेरै हिसाबले उनीहरू मिस गाइडेड हुन पुगे। त्यस्तो बेला मिस इन्फरमेसन हुनु हुन्थेन। जेन जी पुस्ताको सूचनाको स्रोत सामाजिक संजाल नै हो। उनीहरूमा बेरोजगारीको आक्रोश र देशमा व्याप्त भ्रष्टाचारका कारण रिस थपिएका बेला मिस गाइडेड हुने खतरा हुन्छ। त्यो पुस्तालाई अब सही प्रणाली, सही नेतृत्व र सही भिजन दिन सके देशलाई गज्जब बनाउन सकिन्छ,’ उनी भन्छन्।

निर्वाण आफ्ना बुवा बिनोद चौधरी र भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङले जसरी स्क्र्याचबाट सुरु गरे उसैगरी देशको पनि जगबाटै नयाँ सुधारको संरचना बनाउनुपर्ने आवश्यकता देख्छन्। यी दुई उद्यमी यस्ता हुन् जसले जति क्षति ब्यहोर्छ। जति जलेको हुन्छ त्यो भन्दा कैयन् गुणा माथि उठाएर लैजाने भोक उनीहरूमा छ। उनीहरू आगोमा खारिएको नम्बरी सुनजस्तो भैसकेका छन्। निर्वाण देशको हकमा पनि उस्तै दृढता र भोक भएको नेतृत्व हुनुपर्ने महसुस गर्छन्।

अबको बदलिँदो परिस्थितिमा अर्थतन्त्रलाई रिभाइभ गर्न के चाहिन्छ भन्ने बुझेको लिडरसिप आउनुपर्ने आवश्यकता उनले महसुस गरेका छन्। क्लियर रोडम्याप सहितको राजनीतिक अस्थिरता हटाउने नेतृत्व हुनसके पो!

उनले भने, ‘देशका लागि पनि यो त ब्राण्ड न्यू चान्स हो। सबै कुरा मेटिइसकेर ग्राउण्ड जिरोमै आएपछि जे पनि बनाए भो नि। देशलाई पनि अब अब्बल बनाउन ग्राउण्ड जिरोबाटै सुरु गर्नुपर्छ।’

‘अब ग्राउण्ड जिरोबाट यसलाई उठाउनु छ। १२ वर्षअघि यहीँ भव्य संरचना बनाएको थियौं। अब फेरि यस्तो बनाउँछौ जसलाई अबको १० वर्षपछि पनि मानिसहरूले भनिरहुन् आहा! कस्तो गज्जबको बन्यो!

निर्वाणले कम्पनीको पुनर्निर्माणको काम सुरु गरिसकेका छन्। डिजिटल पार्कमा उत्पादन सुरु हुन नसकेपनि अवरुद्ध सप्लाई चेनहरू संचालन गराइसकेका छन्।

‘हाम्रो सामान आउन थालिसक्यो। नेपाली बजारमा अस्थिरताको जोखिमबारे जानकार हाम्रा २० वटै मल्टिनेशनल पार्टनरले सपोर्ट गरिरहेका छन्। दसैं तिहारको बेला सबैभन्दा बढी बिक्री हुने समय थियो धेरै लस भयो। त्यसैले अझ दोब्बर प्रतिबद्धता र रफ्तारका साथ काम अघि बढ्दैछ। आगो लागेका शोरुमहरू बन्दैछन्। अफिस र फ्याक्ट्रीहरूको पुनर्निर्माण सकेपछि मात्र घर बनाउने सोच्ने हो,’ उनले फेरि आफूहरू बजारमा नम्बर १ भएर उभिने बताउँदै भने।

निर्वाणको बोलीमा फेरि उही आत्मविश्वास छ, ‘अब ग्राउण्ड जिरोबाट यसलाई उठाउनु छ। १२ वर्षअघि यहीँ भव्य संरचना बनाएको थियौं। अब फेरि यस्तो बनाउँछौँ जसलाई अबको १० वर्षपछि पनि मानिसहरूले भनिरहुन् आहा! कस्तो गज्जबको बन्यो!’