BIZMANDU
www.bizmandu.com

भेप र १४ किलो सुन प्रकरणमा जोडिएका अभियुक्तसँग सत्तामा हुँदादेखि नै महराको सम्पर्क

२०८२ असोज २७

भेप र १४ किलो सुन प्रकरणमा जोडिएका अभियुक्तसँग सत्तामा हुँदादेखि नै महराको सम्पर्क
भेप र १४ किलो सुन प्रकरणमा जोडिएका अभियुक्तसँग सत्तामा हुँदादेखि नै महराको सम्पर्क


काठमाडौं । पूर्व सभामुख कृष्ण बहादुर महराको नाम सुन प्रकरणमा चिनियाँ नागरिक दावजिन वाङसँग सम्पर्क भएसँगै बढेको दखिएको छ।

Tata
GBIME

महरा सरकारमा मन्त्री भए लगत्तै दावाजिन वाङ सम्पर्कमा आएको र सो सम्पर्कलाई निरन्तरता दिइएको प्रहरी अनुसन्धानमा खुलेको हो। वाङको तस्करीजन्य कार्यमा राजनीतिक संरक्षण र सहयोग गरी महराले प्रत्यक्ष रुपमा राज्य शक्तिको दुरुपयोग गरेको जिल्ला अदालतमा बुझाएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

हाल थुनामा रहेका राहुल महरा चिनियाँ भाषा अध्ययनको लागि सन् २०११ मा चीन गएपछि उनको मार्फत महराको सम्पर्क भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा देखिएको छ।

उनै दावाजिनले नै चीनबाट नेपालमा भेपभित्र सुन हालेर ल्याएका थिए। त्यो भेप छुटाउन महरा र उनका छोराले त्रिभुवन भन्सार कार्यालयमा कार्यरत कर्मचारीलाई फोन गरेका थिए।

अनुसन्धानमा निर्मल महराका नामको मोबाइल नम्बरबाट कृष्ण बहादुर महराको फेसबुक खोलिएको र सो नम्बरबाट हुने कल सम्पर्कमा र छोरा निर्मल दुवैको नाम समावेश कलडिटेल विवरणबाट देखिएकोले छोराको नामको मोबाइल महराले नै प्रयोग गर्ने भन्ने देखिएको छ। सो नम्बरबाट समेत दावाजिन वाङ लगायतसँग सम्पर्क भएको देखिएको हो। महराले अन्य परिवारका सदस्यको नम्बरबाट पनि फोन गर्ने गरेको खलेको हो।

दावजिन वाङसँग १७ पटक, दिपेश पुनसँग २६६ पटक, राहुल महरासँग ४ पटक, निर्मल महरासँग ८ पटक, कृष्ण बहादुर महरासँग ४१ पटक पूर्व सभामुखको सम्पर्क रहेको भन्ने कल डिटेलबाट देखिएको हो।

१४ किलो सुन प्रकरणमा महराको पनि संलग्नताको तथ्यका आधारमा मुद्दा चलिरहेका व्यक्ति जीवन कुमार गुरुङगसँग कृष्ण बहादुर महरा, छोराहरू निर्मल महरा, राहुल महरा समेतको उठबस रहेको देखिएको छ। कृष्ण बहादुर महराकी पत्नी बिरामी हुँदा उपचारका लागि भारत लैजाने सम्मको सहयोगमा गुरुङबाट भएको भन्ने तथ्य जीवनकुमार गुरुङले अनुसन्धानको क्रममा स्वीकार गरेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँजबुझ आयोग, २०८० को प्रतिवेदनको पृष्ठ ३५३ मा उल्लेख छ।