काठमाडौं। असोज २४ गते जेनजीको प्रदर्शनको मौका छोप्दै नख्खु कारागारमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कारागारबाट निस्किएको घटनामा छानबिन सुरु भएको छ।
सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन अघि बढाएको हो। नख्खु कारागारलाई आयोगले पत्र पठाएको छ।
लामिछाने कसरी निस्किए? उनीपछि अरु को-को निस्किएका थिए? आयोगले यसबारे सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ समेत गर्ने तयारी गरेको छ।
‘रविजीको केसमा पनि काम सुरु भएको छ। पत्राचारका लागि कारागारलाई लेखेका छौं,’ आयोगका एक सदस्यले भने।
सहकारी ठगीमा नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि कारागारको सुरक्षा घेरा तोडेर निस्किएको देखिएको छ। रविलाई लिन रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री मनिष झा, गणेश कार्की र सांसद हरि ढकाल भिडसहित पुगेको भिडिओमै देखिन्छ।
दुई पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका रवि कारगारबाट विजयी भावमा निस्किएका थिए। आयोगमा रविलाई निकाल्न पार्टीका नेतादेखि सरकारी निकायमा रहेका उच्च पदाधिकारी नै लागेको भन्ने उजुरी आयोगमा परेको छ।
लामिछाने निस्किएपछि सोही कारागार र काठमाडौंको सुन्धारा कारागारसँगै अन्य जिल्लाबाट पनि कैदीहरू निस्किएका थिए।
रास्वपाका कतिपय नेताले रविलाई सुरक्षा थ्रेटका कारण कारागार प्रशासनकै अनुमतिमा निकालेको दाबी गरेका छन्। यसका लागि उनीहरूले ‘फर्जी’ कागज बनाएको देखिइसकेको छ।
सुरक्षा थ्रेट भएको भनिएका रविलाई सनरुफवाला गाडी पर्खिएर हात हल्लाउँदै निकालिएको थियो। आयोगले पत्रको बारेमा पनि छानबिन थालेको छ।
त्यस्तै, आयोगले प्रहरी, कारागार लगायत क्षेत्रमा पत्राचार समेत गरेको छ। विवरण आएपछि बयान लिने छ।
‘अहिले कारागारदेखि विभिन्न क्षेत्रमा विवरण मागिरहेका छौं। त्यसपछि बाँकी काम सुरु हुनेछ,’ आयोगका सदस्य विज्ञानराज शर्माले बिजमाण्डूसँग भने।