काठमाडौं। नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जीआइजेड नेपालबीच सम्झौता भएको छ। बैंकले सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल परियोजनाअन्तर्गत समझदारी पत्रमा हस्ताक्षर भएको जनाएको छ।
यो सहकार्यले सार्वजनिक यातायात संचालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउनेछ। यसबाट विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरू लगायत विद्युतीय सार्वजनिक यातायातको स्वीकृति र संचालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पग्ने विश्वास गरिएको छ।
यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउने बैंकले बताएको छ। यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना (लोन प्याकेज) र प्रारम्भिक डाउन पेमेन्ट अनुदान (सब्सिडी)को व्यवस्था गर्नेछ। यसबाट सवारी खरिदको लागत कम हुने र यसलाई आर्थिक रूपमा पनि सहज बनाउने बैंकको अपेक्षा छ।
यो परियोजना जीआइजेड नेपाल र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो। यो परियोजना मिटिगेसन एक्सन फेसिलिटीको आर्थिक सहयोगमा संचालन भइरहेको छ।
परियोजनाले करिब ३ हजार ५०० विद्युतीय मिनीबस संचालनमा ल्याउने लक्ष्य राखेको छ। जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आर्थिक सीमालाई ध्यानमा राखेर यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारी साधनहरूमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ। यो परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेसन, जीपीएस डिभाइसहरू, एलईडी रुट डिस्प्ले तथा ओपन लुप इ-टिकेटिङ सिस्टम जस्ता डिजिटल सुविधाहरू समेत पनि प्रयोगमा ल्याइएको छ।