BIZMANDU
www.bizmandu.com

जेनजीको नाममा जलविद्युत आयोजनामा आतंक, नि:शुल्क सेयर मागेर एक दर्जन कम्पनीलाई धम्की

२०८२ असोज २२

जेनजीको नाममा जलविद्युत आयोजनामा आतंक, नि:शुल्क सेयर मागेर एक दर्जन कम्पनीलाई धम्की
जेनजीको नाममा जलविद्युत आयोजनामा आतंक, नि:शुल्क सेयर मागेर एक दर्जन कम्पनीलाई धम्की


काठमाडौं। जेनजीको नाममा जलविद्युत आयोजनाहरुमा आतंक मच्चाइएको छ। विभिन्न जलविद्युत आयोजनामा जेनजीको नाममा १० प्रतिशत सेयर नि:शुल्क मागेर आतंक मच्चाइएको हो।

Tata
GBIME

नि:शुल्क सेयर मागेर सिन्धुपाल्चोकमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना करिब एक महिनादेखि बन्द गराइएकामा अरु आयोजनालाई पनि धम्की दिन थालिएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले करिब एक दर्जन आयोजनामा जेनजीको नाममा नि:शुल्क सेयर नदिए बन्द गराउने धम्की आएको बताएको छ।

इप्पानका अनुसार सिन्धुपाल्चोकमा हाल सञ्चालनमा रहेका ३६ मेगावाटको माथिल्लो बलेफी ए, ७.२ मेगावाटको याम्बालिङ खोला, ९९० किलोवाटका सोलाङ खोला र घट्टेखोला जलविद्युत आयोजनामा १० प्रतिशत सेयर नि:शुल्क माग गरिएको छ।

त्यस्तै निर्माणाधीन २२.१४ मेगावाटको बलेफी ए, १.५ मेगावाटको तल्लो सेलाङ, ४६ मेगावाटको माथिल्लो बलेफी, ३५ मेगावाटको न्यासिम खोला र ६५ मेगावाटको दुधखोला आयोजनामा पनि १० प्रतिशत सेयर नि:शुल्क सेयर माग्दै जेनजी र स्थानीय युवाको नामबाट पत्र काटिएको छ।

जेनजी युवाले १० प्रतिशत सेयर नि:शुल्क नदिए सञ्चालनमा आइसकेको २२.२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजना असोज ३० गतेदेखि बन्द गराउने धम्की दिएका छन्।

माथिल्लो बलेफीका सञ्चालक मोहनविक्रम कार्कीले जलविद्युत उत्पादकको मनोबल गिराउने काम भएकोले यस्तो वातावरणमा कुनै पनि प्रवर्धकले थप लगानी गर्न नसक्ने बताए।

जेनजीको नाममा १० प्रतिशत सेयर नि:शुल्क मागेर माथिल्लो भोटेकोशी जलविद्युत आयोजना बन्द गराइएको २८ दिन भएको छ।

भदौ २५ गतेदेखि विद्युत उत्पादन बन्द गराइँदा आयोजनाले ठूलो नोक्दासानी बेहोरेको छ। आयोजनाले वर्षायाममा दैनिक ९८ लाख रुपैयाँ बराबरको विद्युत उत्पादन गर्दै आएको थियो।

बन्द गराइँदा करिब २७ करोड रुपैयाँ आम्दानी गुमाउनु परेको आयोजनाको प्रवर्धक भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए।

जेनजीका नाममा आयोजना बन्द गराउने धम्की बढेपछि इप्पानले बुधबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेको छ।

इप्पानका अध्यक्ष गणेश कार्कीले जेनजीका नाममा जलविद्युत आयोजना बन्द गराउनु अराजकता भएको भन्दै यथाशीघ्र सञ्चालन हुने वातावरण बनाउन गृहमन्त्री अर्यालसँग आग्रह गरे।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना भएकाले राज्यले जस्तोसुकै परिस्थितिमा पनि सुरक्षा दिनुपर्ने बताए।

ऊर्जा उद्यमीले सुरक्षा मागेपछि गृहमन्त्री अर्यालले माथिल्लो भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउने वातावरण बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिए ।

उनले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलिफोन गरी आयोजना तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन र अन्य आयोजनामा पनि भयको वातावरण हुन नदिन निर्देशन दिएका हुन्।

‘जेनजी युवाहरुले माग राख्न पाउँछन्। जायज माग भए छलफल गर्न सकिन्छ। आयोजनाको उत्पादन नै बन्द गराउनु भएन,’ गृहमन्त्री अर्यालले बास्तोलालाई भने, ‘तपाइँले आयोजना सञ्चालनमा ल्याउन सक्नुहुन्न भने गृहले के सहयोग गर्नुपर्छ रिपोर्टिङ गर्नुस, तर विद्युत उत्पादन रोकिनु भएन।’

निजी क्षेत्रले १५ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेर ३ हजार मेगावाट विद्युत उत्पादन गरिरहेको छ।