BIZMANDU
www.bizmandu.com

इभी बजारमा प्रतिस्पर्धा चर्को, सस्तो मोडल ल्याए पनि प्रभावमा टेस्ला कमजोर देखिँदै

२०८२ असोज २२

इभी बजारमा प्रतिस्पर्धा चर्को, सस्तो मोडल ल्याए पनि प्रभावमा टेस्ला कमजोर देखिँदै
इभी बजारमा प्रतिस्पर्धा चर्को, सस्तो मोडल ल्याए पनि प्रभावमा टेस्ला कमजोर देखिँदै

न्यूयोर्क। बिक्री घट्दो क्रममा रहेका टेस्लाले यस वर्ष आफ्नो बजार हिस्सेदारी पुनः बढाउने उद्देश्यले मंगलबार दुई कारका नयाँ, सस्ता संस्करण बजारमा ल्याएको छ। तर लगानीकर्ताले सकारात्मक प्रतिक्रिया जनाउने साटो कम्पनीको सेयर बेच्न थालेका छन्।

Tata
GBIME
Nepal Life

नयाँ मोडेल वाई करिब ४० हजार डलरभन्दा अलिक कम मूल्यमा उपलब्ध हुनेछ, जसमा केही आन्तरिक फिचरहरू हटाइएका छन्। पुरानो डिजाइन र तीव्र प्रतिस्पर्धा बीच टेस्लाका लागि यो वर्ष निकै चुनौतीपूर्ण छ। इभी निर्माता अन्य कम्पनीहरूसँगको प्रतिस्पर्धा र कम्पनीका सञ्चालक एलन मस्कविरुद्धको बहिष्कार अभियान बीच टेस्ला नयाँ ग्राहक आकर्षित गर्ने प्रयासमा छ।

तर बजारको प्रतिक्रिया उत्साहजनक देखिएन। समाचार सार्वजनिक भएलगत्तै कम्पनीको सेयर मूल्य घट्यो।
‘लगानीकर्ताले पुरानो उत्पादनको परिमार्जित रूप होइन, केही साँच्चिकै नयाँ खोजिरहेका थिए,’ इडमन्ड्सका विश्लेषक इभान ड्रयुरीले भने, ‘यो कदमले टेस्लालाई चाहिएको स्तरमा फर्काउने सम्भावना म देख्दिनँ।’

टेस्लाले ‘मोडेल ३ को पनि सस्तो संस्करण ल्याएको छ, जसको मूल्य ३७ हजार डलरभन्दा कम राखिएको छ। न्यूयोर्कका उपभोक्ताले राज्यको छुट लिन सके मूल्य ३५ हजार डलरभन्दा तल पर्नेछ।

टेस्लाले वर्षौँदेखि मूल्य संवेदनशील उपभोक्ताका लागि सस्तो गाडी ल्याउने योजना बताउँदै आएको थियो। तर यी दुई नयाँ स्ट्यान्डर्ड मोडेलहरूको मूल्य कम्पनीले पहिले वाचा गरेको २५ हजार डलर भन्दा अझै कम राखिएको छ। यसबीच, संघीय सरकारको ७ हजार ५ सय डलरको कर छुट हालै सकिएको कारण आगामी केही महिनासम्म ग्राहकहरूले खरिद स्थगित गर्ने अनुमान गरिएको छ।

मंगलबार टेस्लाको सेयर मूल्य ४.५ प्रतिशतले घटेर ४४३.०९ डलर मा पुगेको थियो। यसअघि सोमबार नयाँ मोडेल घोषणा हुने आशामा सेयर मूल्य ५ प्रतिशतले बढेको थियो।

पहिलाको तुलनामा नयाँ मोडेल वाईमा ३२१ माइल मात्र ड्राइभिङ रेञ्ज (पहिलेभन्दा कम) छ। यसमा कम स्पिकर, कपडाको इन्टेरियर (माइक्रोसुएडको सट्टा) राखिएको छ, साथै प्यानोरामिक ग्लास रूफ र दोस्रो पंक्तिको टचस्क्रिन पनि हटाइएको छ।

करिब ४० हजार डलरको मूल्य वर्गमा यो मोडेलले फोर्डको मस्टाङ म्याक–ई, चेभ्रोलेटको इक्विनक्स इभी र हुन्डाइको आयोनिक-५ जस्ता मोडलहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्नेछ। टेस्लाको नयाँ मोडेल-३ मा पनि ड्राइभिङ रेञ्ज, भित्री बत्ती र अन्य सुविधाहरू घटाइएका छन्। (एपी)