काठमाडौं। शनिबारको वर्षाका कारण सरकारले सार्वजनिक विदा दिएपछि बन्द सेयर बजार मंगलबार मात्र खुल्ने भएको छ। सरकारले सोमबारको बिदा फिर्ता लिए पनि नेपाल स्टक एक्सचेञ्जले भने कारोबार मंगलबार मात्र खोल्ने भएको छ।
देशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको सरकारले आइतबार काठमाडौं उपत्यका लगायत देशका पश्चिमी भागमा वर्षा रोकिएसँगै सोमबारदेखि कार्यालय खोल्न भनेको थियो।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई आइतबार नै विपद् प्रतिकार्यको तयारीमा रहेका जिल्ला बाहेकका कार्यालयहरु खोल्न भनेकोमा जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएको थियो।
कार्यालयले सबै प्रकारका सरकारी कार्यालयहरु, संस्थानहरु र स्थानीय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न सूचना निकालेको छ।
तर, नेप्सेले सोमबार सेयर कारोबार बन्द रहने सूचना फेसबुक पेजमा हालेको छ। दशैंअघि असोज १२ गतेको कारोबारपछि सेयर बजार बन्द छ।
बजार एकैपटक ९ दिनपछि खुल्ने भएको हो। यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सेयर कारोबार बन्द भएकामा असोज २ गते खुलेको थियो।