अहिले सुन र चाँदीको मूल्य तीब्र गतिमा आकासिने क्रम जारी छ। प्रत्येक दिन सुनले ऐतिहासिक रेकर्ड कायम गर्दै अगाडि बढिरहेको छ। यस हिसाबले सुनचाँदी गरगहनाको लागि मात्र आकर्षक धातु नभएर लगानी गर्नेहरूको लागि पनि सदाबहार आकर्षक धातु बनेको छ।
सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला २ हजार ९३० रुपैयाँ (मिति २०८२ /६/१९को अनुसार) नेपाली बजारको लागि अहिलेसम्मको उच्चतम मूल्य हो। जुन गत २०८१ असोजको मूल्य भन्दा सुनमा औसत ६३ प्रतिशत र चाँदीमा औसत ४३ प्रतिशतको बढोत्तरी हो।
बैंकको ब्याजदर ३- ५%को हाराहारीमा न्यूनतम बिन्दुमा झरेको अहिलेको परिप्रेक्ष्यमा सुन चाँदी उच्चतम प्रतिफल दिने वस्तुगत क्षेत्र बनेको छ ।
मौद्रिक वस्तुको रूपमा सुनचाँदीको प्रयोग
सुनलाई विश्वव्यापी रूपमा मौद्रिक वस्तुको रुपमा पनि लिइन्छ। सन् २०७५ सम्म कुनै पनि मुद्राको समर्थन मूल्यको रूपमा सोही अनुपातमा सुनको सञ्चितिलाई लिइन्थ्यो। हाल त्यो अवधारणा प्रचलनमा नरहे पनि अमेरिकासहित विश्वका विकसित देशहरू आफ्नो मुद्रा बलियो बनाइराख्न केन्द्रीय बैंकमा सुनको सञ्चितिलाई विशेष महत्व दिन्छन्।
प्राचीन मिश्र र मेसोपोटामियाको सभ्यतामा सुन र चाँदी व्यापार, भुक्तानी र कर बुझाउन प्रयोग हुन्थ्यो। पछि लाइदिया सभ्यता (टुर्कीए क्षेत्र) मा ईशापूर्व ७०० देखि आधिकारिक सुनचाँदीको मुद्रा सुरु भएको मानिन्छ। तत्पश्चात् यो ग्रीस, फारस, चीन र भारत वर्षमा फैलिएको थियो। नेपालमा भने लिच्छविकालदेखि नै सुन र चाँदीको सिक्का प्रचलनमा रहेका थिए। प्रताप मल्लको राज्यकालमा स्वर्ण मुद्रा जनस्तरमा समेत धेरै प्रचलनमा थियो।

सुनको मूल्यमै आधारित रहेर पछि गोल्ड स्टान्डर्डको विकास भयो र सुनलाई विश्वव्यापी रूपमा आधार मुद्राको रूपमा लिइयो।आज पर्यन्त पनि विश्वभर केन्द्रीय बैंकहरूले सुनलाई आरक्षित सम्पत्तिको रूपमा सञ्चिति गर्ने प्रचलन कायम रहि आएको छ। मौद्रिक वस्तुसँग जोडिएकाले पनि सुन र चाँदीको विशेष महत्व र मूल्य कायम भएको सहजै विश्लेषण गर्न सकिन्छ।
किन निरन्तर बढिरहन्छ सुनचाँदीको मूल्य ?
अन्य धातुको तुलनामा सुन चाँदीको अधिक मूल्य वृद्धिको कारण यसको निम्नानुसारको बहुआयामिक माग नै हो।
हालको सुन चाँदीको अत्यधिक मूल्यवृद्धिलाई भने निम्न विभिन्न कारणहरुको संयोजन मान्न सकिन्छ।
१। केन्द्रीय बैंकहरूको व्याजदर कटौती
यही सेप्टेम्बर महिनामा अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजरर्भले अनुमान गरिए बमोजिम ०.२५ प्रतिशतले ब्याजदर घटाएर ४ देखि ४.२५% व्याज दर कायम गरेको छ। अमेरिकाको मुद्रा स्फिति २.९० % वृद्धि भएर बेरोजगार दर बढेपछि यस चुनौतिको सामना गर्न ब्याज दर घटाइएको हो। विज्ञहरुले निकट भविष्यमै फेरि पनि थप ब्याजदर कम हुने अनुमान गरेका छन्।
क्यानाडा, बेलायत ,युरोपियन युनियन, अष्ट्रेलिया, मेक्सिको, रसिया लगायत धेरै देशहरुका केन्दिय बैंकले पनि आर्थिक मन्दी सामना गर्न यो वर्ष ब्याजदर घटाएका छन्। मुख्य रूपमा घट्दो ब्याज दरको कारणले पनि उच्च प्रतिफलको लागि सुनचाँदीमा लगानी आकर्षित भएको हो ।
२ । भूराजनीतिक कारण
रसिया युक्रेन युद्ध रोकिने कुनै गुन्जायस नदेखिनु अनि इजरायल र प्यालेस्टाइन बीचको युद्धसँगै लेबनान, यमन, इरानमा समेत युद्ध लम्बिने संकेट देखिनुले गर्दा विश्व व्यापारमा असुरक्षा बढाएको छ। साथै भारत-पाकिस्तान तथा थाइल्याण्ड र कम्बोडिया बीचको केही दिनको युद्धले थपेको असुरक्षाको असरले विश्व व्यापारको लयमा धक्का पुऱ्याएको छ।
३। राष्ट्रपति ट्रम्पको नयाँ आर्थिक नीति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नयाँ राजनीतिक तथा आर्थिक दृष्टिकोण एवं संरक्षणवादी नीतिले विश्व बजार तरंगित भएको छ।
विशेष गरि रेसिप्रोकल ट्यारिफ अन्तर्गत मेक्सिको क्यानडा, चीन ,युरोपियन युनियन, भारत ,आसियान राष्ट्रहरु सहितलाई बढाइएको १०० प्रतिशत सम्मको भन्सार वृद्धिले विश्व व्यापारमा अवरोध एवं चुनौती थपेको मात्र होइन अस्थिरता उत्पन्न गरेको छ।
ट्रम्पको अमेरिकी केन्द्रीय बैंकलाई ब्याजदर घटाउने निरन्तर दबाब ,सुनमा प्रत्यक्ष कर नलगाउने घोषणा एवं धनी ठुला करदाताहरूको कर दर घटाउने संभावित योजनाले पनि सुरक्षित प्रतिफलको लागि सुन चाँदीको माग बढाउने देखिन्छ।
४ । केन्द्रिय बैंकहरुको सुन खरीदमा वृद्धि
वर्ल्ड गोल्ड काउन्सिलका अनुसार गत वर्ष २०२४ मा विश्वका केन्द्रीय बैंकहरुले १०४५ टन खरीद गरेका छन्। विगत केही वर्ष देखि लगातार केन्द्रीय बैंकहरुले प्रत्येक वर्ष १००० टन हाराहारी सुन खरीद गर्दै सञ्चिति बढाइ रहेका छन्। यसले पनि सुनको माग बढाउन र भाउ उकास्न सहयोग गरिरहेको छ।

५ । ब्रिक्स राष्ट्रहरुको चुनौति
चीन, भारत ,रसिया, ब्राजिल, दक्षिण अफ्रिकालगायतका ब्रिक्समा आबद्ध देशहरूले विश्व व्यापारमा डलरको निर्भरता कम गर्न आपसी सहयोग र सक्रियता बढाएको हुनाले भविष्यमा डलर थप कमजोर बन्न सक्ने सम्भावना बढेको आंकलन गरिएको थियो। साथै ब्रिक्समा आबद्ध चीन भारत रुस लगायतका देशहरुका केन्द्रीय बैंकहरूले अत्याधिक मात्रामा सुनको सन्चिति बधाई रहेका छन् ।
अर्कोतिर चीनले आफ्नो देशका बीमा कम्पनीहरूलाई १ प्रतिशतसम्म सुनमा लगानी गर्न सक्ने नयाँ नीति बनाएको कारण यो सिजनको सुरुमै २०० अर्ब युआन बराबरको सुनको माग वृद्धि हुने देखिएको छ।
डलर र स्टक मार्केटसँग सुनको विपरीत सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा ‘डि डलराइजेसन’ रणनीतिले सुन चाँदीको मूल्य वृद्धिलाई सघाउने देखिन्छ। यद्यपि यो रणनीति हाल चर्चामा मात्रै छ।
के यो समय सुनचाँदीमा लगानी गर्ने समय हो ?
अहिलेको समय अत्याधिक मूल्य वृद्धिका कारण साना लगानीकर्ताहरूलाई सुनचाँदीमा लगानी बढाउन कठिन समय हो। विज्ञहरूका अनुसार सुन अत्यधिक किनिएको अवस्थामा छ भने चाँदीले पनि सोही पदचिह्नलाई पछयाइरहेको छ।
अबको एकाध महिनामै सुन प्रति औंस ४५००डलर नाघ्ने क्रममा छ भने चाँदी प्रति औंस ६० डलर नाघ्ने अनुमान छ। र, क्रमश : ऐतिहासिक रेकर्ड कायम हुँदैछ। नेपाली बजारमा भने केही महिनामै सुन प्रतितोला दुई लाख ६५ हजार र चाँदी प्रतितोला ३६०० हुने अनुमान छ।
धेरै विज्ञहरूले चाँदीको भाउ सुनको भाउभन्दा अझ रफ्तारले बढ्ने अनुमान पनि गरेका छन् ।
जहाँसम्म यो समय सुनचाँदीमा लगानी गर्ने उपयुक्त समय हो या होइन भन्ने सवाल छ। यसको लागि सुन र चाँदीको विगतको मूल्य रेकर्ड केलाउनु आवश्यक हुन्छ।
सुन चाँदीको पछिल्लो अन्तर्राष्ट्रिय वार्षिक दरभाउलाई केलाउने हो भने सुनको हकमा ३० वर्षमा ७ वर्ष मात्र सुनको बार्षिक मूल्य घटेको पाइएको छ । साथै चाँदीको हकमा ३० वर्षमा ११ वर्ष मात्र बार्षिक मूल्य घटेको पाइएको छ ।

यसरी हालसम्म लामो अवधिको गणना गर्दा सुन चाँदीमा घट्ने मूल्यभन्दा बढ्न मूल्य नै हाबी भएको देखिन्छ। तथापि, निम्न अवस्थामा भने सुनचाँदीको दरभाउ घट्ने सम्भावना रहन्छ:
नेपालको परिदृश्य
नेपालको सन्दर्भमा कुरा गर्दा अन्तर्राष्ट्रिय मूल्य घटेको बेलामा पनि नेपालमा भन्सार मूल्य वृद्धि र नेपाली मुद्राको अवमूल्यनको कारण नेपालमा भने भाउवृद्धि कायमै रहने गरेको देखिएको छ। विगत १० वर्षको दौरान सुनको अन्तर्राष्ट्रिय मूल्य भन्दा नेपालको मूल्य २ गुणाले बढेको पाइएको छ। चाँदीको मूल्य पनि धेरै वर्षहरुमा सुनको मूल्यको समानान्तर नै थपघट भएको पाइएको छ।
एक हिसाबले नेपालमा सुनचाँदी किन्नु भनेको डलर किन्नु वा सोसरह हो। यसैले निरन्तर मुद्रा अवमूल्यन हुने हाम्रो देशमा सुनचाँदीमा घाटा हुने जोखिम धेरै कम छ। अझ लामो अवधिको लागि लगानी गर्ने हो भने घाटा हुने सम्भावना शून्य प्रायः नै हुन्छ।
नेपालमा आम उपभोक्ताहरूलाई ढिक्का (कच्चा) सुन चाँदी किन्न कानुन अनुसार वर्जित भएपनि थोरै मात्र ज्याला जर्ति लाग्ने बेरुवा प्रकृतिका गहना किनेर लगानी गर्न सकिने अवस्था भने विद्यमान छ।
अलि बढी जोखिम मोल्ने र आधुनिक प्रविधिसँग जानकार हुनेहरूका लागि कमोडिटिज मार्केटको अवसर पनि छ। गोल्ड इटीएफको सम्बन्धमा भने कानुनी मान्यता भएको जानकारी छैन।
निष्कर्ष
जहाँसम्म हालको समय सुन चाँदीमा लगानी गर्न उपयुक्त हो वा होइन भन्ने प्रश्न छ, पछिल्ला महिनाहरूमा पनि यसको मूल्य क्रमिक रूपमा बढ्दै गएको देखिन्छ। यसैले केही ढिलाइ भए पनि लगानीका लागि अझै उपयुक्त समय बाँकी नै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ।
सुन चाँदी सधैं सुरक्षित लगानीका रूपमा परिचित रहिआएको छ। यद्यपि, कुनै पनि लगानी क्षेत्र पूर्ण रूपमा जोखिममुक्त हुँदैन। छोटो अवधिमा मूल्यमा उतारचढाव देखिए पनि दीर्घकालीन रूपमा सुन चाँदीले स्थिर र लाभप्रद प्रतिफल दिने प्रमाणित तथ्यहरू रहेका छन्। यही कारणले धेरै विशेषज्ञहरूले यसलाई ‘रक्षात्मक लगानी विकल्प’ का रूपमा हेर्छन्।
विज्ञहरूको सल्लाह अनुसार लगानी गर्न इच्छुकहरूले आफ्नै जोखिम सहनशक्ति, वित्तीय क्षमता र दीर्घकालीन दृष्टिकोणलाई ध्यानमा राखेर सुन–चाँदी रोज्नु बुद्धिमानी ठहरिन्छ।
अन्तर्राष्ट्रिय लगानी सिद्धान्तहरूले पनि कुनै एकल क्षेत्रमा सारा पूँजी केन्द्रित गर्नुभन्दा विविधिकृत लगानीमा जोड दिन्छन्। प्रायः विज्ञहरूले सुन चाँदीमा कूल लगानीको ५–१० प्रतिशतसम्मको हिस्सा सुरक्षित रूपमा राख्न सुझाव दिने गर्छन्।
नेपालको सन्दर्भमा सुन–चाँदीको मूल्य घट्ने जोखिम अन्तर्राष्ट्रिय बजारको तुलनामा तुलनात्मक रूपमा कम हुने भएकाले कुल लगानीको १०–२० प्रतिशतसम्म सुन चाँदीमा लगानी गर्नु सुरक्षित र व्यावहारिक मानिन्छ।