काठमाडौं। भाैतिक पूर्वधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरोले अवरुद्ध सडक माैसममा सुधारसँगै क्रमश: खुलाउन थालेको बताएका छन्।
उनले आइतबार पत्रकार सम्मेलन गरी मौसममा सुधार भएका स्थानका सडक खुलाउने कामलाई तीब्रता दिइएको बताएका हुन्।
‘मौसममा सुधार देखिएकाले हामी तत्काल खोल्नतिर लागेका छौं। मन्त्रालयले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरेको छ। प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीव्र रूपमा जारी छ,’ कुलमानले भने, ‘बिपी राजमार्गको हकमा तत्कालका लागि वैकल्पिक बाटो हेर्छौं। बिपी राजमार्ग ३-४ दिनभित्र खाेल्ने प्रयास हुनेछ। त्यसअघि वैकल्पिक सडक प्रयाेग गर्न सकिन्छ।’
कुलमानले सरकारले समयमै सूचना प्रवाह गर्दा सडकमा कुनै मानवीय क्षति नभएकाे बताए। ‘सरकारले समयमै सूचना प्रवाह गर्दा सडकमा मानवीय क्षति हुन पाएन। भाैतिक क्षति भए पनि तत्काल सडक सुचारू गर्न लागिसकेका छौं।’
सडक विभागका महानिर्देशक डा. विजय जैसीले नागढुंगा-मुग्लिन-नारायणगढ सडक सञ्चालनमा आएकाे जानकारी दिए। ‘मुग्लिन-पोखरा सडकको एक ठाउँमा एकतर्फी बाहेक अन्यत्र समस्या छैन। अरनिको राजमार्ग खाबामा एकतर्फी भएर बाह्रबिसेसम्म सञ्चालनमा आएको छ। कोशी राजमार्गको धनकुटा-खाँदबारी खण्ड खुलेको छ। त्रिभुवन राजमार्ग, थानकोट-चित्लाङ सडक र सिद्धार्थ राजमार्ग खुलेको छ,’ उनले भने।
उनले मेची राजमार्गको विकल्पमा तमोर करिडोर प्रयोग गर्न सकिने बताए।
भाैतिक पूर्वाधार मन्त्रालयका सचिव केशवराज शर्माले पूर्वपश्चिम राजमार्ग आइतबारबाट पूर्णरूपमा चल्ने बताए।
कहाँ कति क्षति ?
नदी नियन्त्रणतर्फ
२०८२ असोज १७ र १८ गते आएको अबिरल बर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिब १५०० मिटर तटबन्ध कटान भई जम्मा प्रारम्भिक अनुमानित १० करोड क्षति पुर्याएको छ। सोको प्रारम्भिक विवरण देहाय बमोजिम रहेको छ :
- कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरी होकलबारी गाउँको करिब ११४ घर बारी डुबान भएको र ५०० हेक्टर धान खेतमा क्षतिका साथै झापा गापा-२ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको। अनुमानित क्षतिको लागत ७५ लाख
- मेची नदीले ठाउँ ठाउँमा रहेको स्परहरुमा क्षति पुर्याएको। अनुमानित क्षतिको लागत ५० लाख
- केशलिया नदीमा (बुढी खोला) आएको बाढीले विराटनगर महा न पा ६ र १२ को बस्ती डुबान भई ७५ घर धुरी स्थानान्तरण भएको।
- कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरुवाको तटबन्धमा क्षति पुर्याएको। अनुमानित क्षतिको लागत २५ लाख।
- लालबकैया नदीको दायाँ किनार मौलापुर नपा-१ मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बगाई करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर धान खेतमा क्षति भएको र अनुमानित २०० वटा घर गोठ डुबान भएको। अनुमानित क्षतिको लागत ६० लाख।
- महोत्तरीको रातो नदीले बलवा न पा २,१० र ११ को बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गरी ३९० मिटर तटबन्ध बगाएको साथै लोहर पट्टी नपा ६ लोहारपट्टीमका ४०० मिटर, महोतरी गापा ६ रतबारा मा २० मिटर, जलेश्वर नपा १, ४ र ७ को बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बगाई क्षति भएको। रातो नदीले जम्मा ८९० मिटर तटबन्ध कटान भएको र साथै सदरमुकाम जलेश्वर समेत बाढ़ीको जोखिममा रहेको। अनुमानित क्षतिको लागत ८ करोड।
सिंचाईतर्फ
- सिंचाई प्रणालीहरुको बाँध क्षेत्रमा नदीहरुमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, मूल नहर र शाखा नहरहरुका गेटहरुलाई समयमा नै गेट अपरेसन गरेको हुँदा सिंचाइ प्रणालीहरुमा उल्लेख्य क्षति नभएको।
- झाँज सिंचाइ प्रणालीको ब्यारेजभन्दा २०० मिटर माथिल्लो तटीय क्षेत्रको दायाँ गाइड बाउन्डबाट ओभरफ्लो भई मोहमदपुर गाउँ डुबान भएको।
- सुनसरी मोरङ्ग, बाग्मती र नारायणी सिंचाइ आयोजनाहरुको सिंचित क्षेत्रभित्र रहेका खोला खोल्साहरुले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक आँकलन रहेको।
- सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको निर्माणाधीन बाँधस्थल डुबान भएको। कफर ड्याम लगायत निर्माणाधीन संरचनाको अवस्था यकिन हुन नसकेको।
पहिरोतर्फ
- इलाम, पाँचधर, ताप्लेजुङ लगायत कोशी र बाग्मती प्रदेशका पहाडी जिल्लाहरुमा पहिरोका घटनाहरु भएको र सो को विवरण प्राप्त हुन बाँकी।