BIZMANDU
www.bizmandu.com

भारी वर्षासँगै ‘अलर्ट’मा विद्युत प्राधिकरण, जोखिम क्षेत्रमा कर्मचारी थपियो

२०८२ असोज १८

भारी वर्षासँगै ‘अलर्ट’मा विद्युत प्राधिकरण, जोखिम क्षेत्रमा कर्मचारी थपियो
भारी वर्षासँगै ‘अलर्ट’मा विद्युत प्राधिकरण, जोखिम क्षेत्रमा कर्मचारी थपियो


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारी वर्षाको पूर्वानुमानसँगै बाढीको जोखिम बढ्ने देखेर जलविद्युत गृहलाई सुरक्षित राख्न रणनीति बनाएको छ।

GBIME
Tata

जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म भारी वर्षासॅगै बाढि पहिरो को जोखिमको सम्भावना रहेको सूचना जारी गरेपछि प्राधिकरणले पनि सुरक्षा सतर्कता अपनाएको हो।

गत वर्ष वर्षा, बाढी र पहिरोले गर्दा जलविद्युत आयोजनाले ठूलो क्षति ब्यहोरेको थियो।

हिजो रातिदेखिको वर्षाका कारण अहिलेसम्म कुनै पनि आयोजनामा क्षति पुगेको छैन। यद्यपि, उच्च जोखिम रहेको क्षेत्रमा रहेका जलविद्युत गृहहरूमा कर्मचारीका संख्या बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए।

‘हामीले उच्च जोखिम रहेका क्षेत्रमा रहेका पावर हाउसहरूमा कर्मचारीको संख्या दोब्बर गरेका छौं । दुई सिफ्टमा कर्मचारी खटाएका छौं। नदीको सतहको अवस्था हेरेर पावर हाउस बन्द गर्न समेत आयोजना प्रमुखहरूलाई निर्देशन दिएका छौं,’ सिलवालले भने, ‘दसैं बिदामा बसेका कर्मचारीलाई समेत हामीले अहिलेको अवस्थालाई हेरेर काममा बोलाएका छौं।’

यस्तै उनले कुनै ठाँउमा बिजुली गएमा मर्मत गर्नका लागि कर्मचारीलाई पनि स्ट्यान्डबाई राखेको बताए।

’कुनै पनि आयोजनामा क्षति पुगेमा मर्मत सम्भार गर्नका लागि र बत्ति गएमा ग्राहकहरूले सम्पर्क गर्नसाथ कर्मचारीहरूलाई मर्मत गर्न पठाउँदै आएका छौं।’

गत २ वर्षमा प्राकृतिक प्रकोपको कारण निजी र सरकारी गरि ६० भन्दाबढी जलविद्युत आयोजनामा क्षति पुगेका छ।