BIZMANDU
www.bizmandu.com

कोरला नाकाबाट बाह्रै महिना आयात-निर्यात गर्न कत्तिको सम्भव? कस्तो छ अवस्था?

२०८२ असोज १६

कोरला नाकाबाट बाह्रै महिना आयात-निर्यात गर्न कत्तिको सम्भव? कस्तो छ अवस्था?
कोरला नाकाबाट बाह्रै महिना आयात-निर्यात गर्न कत्तिको सम्भव? कस्तो छ अवस्था?

काठमाडौं। तातोपानी र रसुवा नाका बन्द भएपछि मात्रै सरकारले मुस्ताङको कोरला नाका संचालन गर्न चासो देखायो। असारको तेस्रो सातादेखि रसुवा र तातोपानी नाका बन्द भएर चाडपर्वका लागि आयात गरिएका सामान चीनतिरै रोकिएपछि सरकारले विकल्पमा कोरला नाका संचालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

कोरला नाका संचालनमा आएपछि केरुङ र तातोपानीतर्फ रोकिएका सामानहरू नियमित रुपमा आइरहेको छ। उत्तरी नाकामा रोकिएका रेडिमेड, खुद्रा वस्तु, जुताचप्पल केही सातादेखि लामो दुरीमा पर्ने कोरलाबाट नेपाल भित्रिरहेका छन्। यो नाकाबाट विद्युतीय गाडीहरू पनि भित्रिँदै छ।

यसै नाकाबाट २ करोडभन्दा बढीको स्वदेशी उत्पादन पनि निर्यात भएको छ। दसैंका सामान र विद्युतीय गाडी (इभी) आयातले गर्दा कोरला नाकामा राजस्व संकलन बढेको छ। कोरलाना कास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा दुई अर्ब दुई करोड ९६ लाख २९ हजार राजस्व संकलन गरेको छ। गत ३१ भदौमा पूर्णरुपमा संचालनमा आएको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मंगलबार बिहानसम्म उक्त राजस्व संकलन गरेको हो। यो भन्सार कार्यालयको इतिहासमै पहिलो पटक त्यति ठूलो अनुपातमा राजस्व संकलन भएको हो।

काठमाडौं उपत्यकाको बजारलाई लक्ष्य गर्दा रसुवागढी र तातोपानी नै सडक दुरीका हिसाबले सजिला नाका हुन्। अधिक वर्षा र बाढीका बेला बन्द हुने गरे पनि यी दुई नाका विगतमा बाह्रैमास संचालन हुँदै आएका थिए।

तर, दुवैलाई बाढीपहिरोले दुःख दिइरहन्छ। बाढीले सडक र पुल बगाउँदा आउजाउ बन्द भइरहन्छ। सडक मर्मतमा पनि विभिन्न समस्या छन्। विकल्प नहुँदा चाडपर्व लक्षित सामानहरू ल्याउन व्यापारीहरू यसपटक हतारमा कोरला नाका प्रयोग गर्न बाध्य भएका हुन्।

हिमालपारिको जिल्ला मुस्ताङमा हिउँदको चिसो खपिनसक्नु हुन्छ। जाडो याममा यो क्षेत्र हिमपातले सेताम्य हुन्छ। आवतजावत घट्छ। गाउँ रित्तो हुँदा हेरालु मात्रै बसेका हुन्छन्। बर्सेनि कात्तिक १५ गतेपछि मुस्ताङी बस्ती रित्याएर जिल्लाबासी पोखरा झर्छन्। कोरला नाका त अझ मुस्ताङको बस्ती क्षेत्रभन्दा पनि माथिल्लो भूभागमा छ।

हिउँदमा हिउँले बाटो छोप्छ। त्यसैले जाडो समय सुरु हुन थालेसँगै यो नाका संचालन हुन सजिलो छैन। असोज ७ देखि तातोपानी नाकाबाट पनि सामान आउन सुरु भएको छ। रसुवा नाका पनि तिहारअघि खुलाउने तयारीका साथ सडक निर्माण भइरहेको छ।

भन्सार विभागका अधिकारीहरूका अनुसार तातोपानी र रसुवा नाकाभन्दा कोरला लामो दुरीमा छ। त्यहाँको भूगोल हिउँदका बेला न भन्सार कर्मचारी बस्न सक्ने छ, न त सवारीसाधन आउजाउ नै गर्न सक्ने। त्यसैले वर्षभरि नै नाका संचालन सम्भव छैन। चिनियाँ सामान आयात व्यापारमा संलग्न व्यवसायीहरूले पनि उत्तरी दुई नाका संचालनमा आएपछि कोरलाबाट सामान आयात गर्नु नपर्ने बताएका छन्।

काठमाडौंदेखि करिब १६० किलोमिटरमा रहेको केरुङबाट आयात गर्दा व्यवसायीले करिब १० देखि १५ दिनमा सामान प्राप्त गरिसक्छन्। केरुङबाट कोरला नाका करिब ९ सय किलोमिटर दुरीमा पर्ने भएकाले काठमाडौंमा व्यापार गर्नेका लागि सहज हुँदैन। उताबाट सहज हुने रसुवागढी र तातोपानी नै हो। केरुङबाट रसुवा नजिक र चलनचल्तीको नाका हो।

उच्च हिमाली भेग भएकाले कोरलामा चिसो समयमा लेक लाग्ने समस्या हुन्छ। बलपूर्वक भन्सार संचालन सम्भव देखिँदैन। मुस्ताङ भन्सार कार्यालयका अनुसार तिहारसम्म मात्र यो नाकाबाट आयात निर्यात हुनेछ। चिसो समय सुरु भएपछि करिब ६ महिनासम्म नाका बन्द हुनेछ।

संचालनमा आएको नाका बन्द हुँदैन : भन्सार विभाग

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाले कोरला अब नियमित रुपमा चल्ने बताए।

‘भौगोलिक कारणले गर्दा बन्द भयो भने मात्र हो, नत्र अन्य उत्तरी नाका संचालनमा आए पनि कोरला नाका ब्याक हुँदैन,’ उनले भने।

कोरला वैकल्पिक नाका भएकाले सबैका लागि सहज नभए पनि गण्डकी प्रदेशका बासिन्दाका लागि सजिलो रहेको उनले बताए।

‘यो नाकाका कारण पोखराका व्यवसायीले उपत्यका हुँदै सामान आयात गर्न पर्दैन,’ उनले भने, ‘गण्डकीलाई व्यापार व्यवसाय गर्न पनि यो नाकाले सहयोग पुर्‍याउँछ।’

हिउँदमा केही महिना कारोबार स्थगन गरिए पनि अरु बेला नाका संचालनमा राख्ने विभागको तयारी रहेको उनले प्रष्ट पारे।

हाल कोरला नाकाबाट मुस्ताङको नागरिकता भएकालाई चिनियाँ सीमा प्रशासनले पारि जान दिन्छ। मुस्ताङमा उत्पादित वस्तुहरू चीनमा निर्यात गर्न सजिलो छ।

‘पहिलाजस्तो चीनमा व्यापार व्यवसाय गर्नका लागि तातोपानी र रसुवा नाकामात्र कुर्नुपर्ने बाध्यता कोरलाले हटाएको छ,’ उनले भने।

काठमाडौं र अन्य जिल्लामा लैजाने सामान कोरला भएर आयात गर्दा समय र लागत बढी पर्छ। जसको सोझो असर उपभोक्तामा पर्छ। ढुवानी भाडा धेरै परेको असरले बजार महँगो हुन्छ।

तर, गण्डकी प्रदेशका व्यवसायी र स्थानीयका लागि चिनियाँ बजारसम्म पुग्ने वातावरण कोरलाका कारण बनेको उनी बताउँछन्।

‘हिउँदमा हिउँ पर्ने र अत्यधिक चिसो हुने भएकाले केही समय नाका संचालन नहुन सक्छ। गर्मी सिजनमा यो नाकाबाट आयात र निर्यात गर्न सकिन्छ। भन्सार कार्यालय संचालनमा रहन्छ,’ निर्देशक बर्तौलाले भने।

‘कोरला वैकल्पिक नाका’

कोरला नाका संचालनमा आउँदा रसुवा र तातोपानी भन्सारलाई अहिले चाप परेको छैन। तर, व्यवसायीले यी दुई नाकालाई नै प्राथमिकतामा राखेका छन्। त्यसैले दुवै नाका बिस्तारै खुल्ने क्रममा छन्।

कोरला वैकल्पिक नाका रहेको रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख तुलसी भट्टराईले बताए।

‘दुई उत्तरी नाका जस्तो हरेक व्यवसायीलाई कोरला पायक पर्दैन। दुरी, समय र लागत बढी पर्ने हुँदा कोरला नाका महँगो पर्छ,’ उनी भन्छन्, ‘कोरला नाका काठमाडौंमा बसेर व्यापार व्यवसाय गर्नेका लागि होइन। गण्डकी प्रदेशका लागि एउटा पोइन्ट हो।’

कोरला नाकाबाट जोमसोम हुँदै म्याग्दी पुग्ने समयमा केरुङबाट काठमाडौं पुगिने उनले बताए।

‘अब तिहारपछिबाट यो नाकामा आयात-निर्यात गर्न समस्या हुन्छ। हिउँ धेरै पर्ने भएकाले त्यहाँ बस्न सकिँदैन। लेक लाग्ने हुनाले हिँडडुल गर्न गाह्रो हुन्छ,’ उनले भने।

व्यवसायीले आयात गरेका सामान ट्रान्सपोर्ट कम्पनीहरूले देशभर ढुवानी गर्छन्। चीनबाट आयातित मालवस्तु ढुवानीको काम गर्न पोखरामा त्यस्ता कम्पनी पनि नभएको उनको तर्क छ।

‘सामान सप्लाइ गर्न पनि समस्या हुन्छ। काठमाडौं ठूलो मार्केट हो, माग र खपत बढी यहीँ हुन्छ। चाँडै बिग्रने फलफूल, तरकारी र खाद्यान्नहरू लामो दूरीको बाटोबाट आयात गर्दा नोक्सान हुन सक्छ,’ उनले भने, ‘यसले गर्दा चिनियाँ सामान आयातका लागि उत्तरी नाका नै सबैभन्दा सहज हो।’

सरकारले नाकाहरूमा ढुवानीका साधन आवागमनको सहजतामा विशेष ध्यान दिनुपर्ने उनले बताए।

‘कोरला नाकाबाट आयात गर्न महँगो’

काठमाडौंको महाबौद्धका व्यवसायी रमेशकुमार श्रेष्ठ विदेशी सामान आयात गर्दा ढुवानी र लाग्ने समयले पार्ने असर खुद्रा कारोबारसम्म पर्ने बताउँछन्। रसुवा र तातोपानीका तुलनामा कोरला नाकाबाट सामान आयात गर्न लागत महँगो पर्ने उनले बताए।

‘लामो दुरी भएकाले समय र लागत बढी पर्छ। उपत्यका नै हाम्रो मुख्य बजार हो, कोरला नाकाबाट सामान आयात गर्न सहज छैन,’ उनले भने।

तुलनात्मक रुपमा रसुवा र तातोपानीबाट आयातित मालवस्तुको बजार सस्तो हुने उनको भनाइ छ।

‘उत्तरी नाकाबाट आयात गर्दा सस्तो पर्छ। बाटो राम्रो हुँदा १० देखि १५ दिनमा सामान आइपुग्छ। हामीलाई ढुवानी भाडा सस्तो पर्छ,’ उनले भने।

चिनियाँ बजारमा खरिद गरिएको सामान नेपाल आइपुग्दा ढुवानी खर्च बिक्री मूल्यमा जोडिने उनले प्रष्ट पारे।

‘चाइनामा सस्तो मूल्यमा किनेको सामान ढुवानी भाडाले गर्दा महँगो हुन्छ, व्यवसायीले घाटा खाएर बेच्नु भएन,’ उनले भने।

उत्तरी दुई नाकामा सरकारले छिटो ध्यान दिन नसक्दा दसैंका लागि व्यापारी कोरला नाका प्रयोग गर्न बाध्य भएको उनले सुनाए।

‘रसुवा, तातोपानी खुल्दा काठमाडौंका व्यापारीलाई त्यही सजिलो हो। उपभोक्ताले पनि सस्तोमा सामान पाउँछन्,’ उनी भन्छन्।