काठमाडौं । दसैं मनाउन काठमाडौंबाट घर फर्किने क्रम जारी छ। टीकाका लागि घर पुग्नेहरु आज पनि गन्तव्यतिर लाग्दैछन्। यद्यपि, फूलपातीदेखि नै काठमाडौं केही सुनसान देखिएको छ। विभिन्न पसलदेखि रेष्टुरेन्टसम्म बन्द छन्।
यसपटक करिब ६ लाखले उपत्यका छाडेका छन्। उपत्यकामै हुनेहरुका लागि भने केही रेष्टुरेन्ट र क्ल्बहरुले दसैंभर सेवा दिँदैछन्।
ठमेलको एलओडी, टेनएक्स, हार्ड रक, हिमालायन जाभा लगायत रेष्टुरेन्ट तथा क्लब खुला छन्।
ठमेलस्थित लर्ड अफ ड्रिङ्क्सले यो वर्ष पनि दसैं बिदामा आफ्नो सेवालाई निरन्तरता दिएको छ। ‘दसैंमा विदेशी पर्यटक र काठमाडौंमै दसैं बिदा मनाउनेहरुलाई मध्यनजर गर्दै क्लब खुला राख्ने निर्णय गरेका हौं। हामीले हरेक वर्ष नै दसैंको समयमा सेवा दिँदै आएका छौं। यो दसैंमा पनि सेवा दिनेछौं,’ संचालक रवीन श्रेष्ठले भने।
यस्तै, ठमेलकै टक्लब टेनएक्सले पनि दसैंमा नाइटलाइफमा रमाउन चाहनेहरुका लागि सेवा दिने भएको छ। म्यानेजर हितकुमार धिमालले भने, ‘फूलपातीको दिनदेखि १० बजेदेखि खुल्ला हुन्छ, टिकाको दिन ८ बजे नै खुल्ला हुन्छ।’
विभिन्न जिल्ला जानेहरुका कारण काठमाडौंको जनसंख्या दसैंका बेला घट्छ। तर, रेस्टुरेन्ट र क्लबमा रमाउन चाहनेहरुको संख्या पुरै नघट्ने उनको भनाइ छ। ‘यो पटक पर्यटक नेपालमा कम भित्रिएका छन्। त्यसैले पर्यटकभन्दा पनि काठमाडौंबासी र काठमाडौंमा हुनेहरुको लागि क्लब खुला रहन्छ, हामी सेवा दिन तयार छौं,’ उनले भने।
दरबारमार्गस्थित हार्ड रक क्याफेले पनि दसैं बिदाभर सेवा नरोक्ने जनाएको छ। काठमाडौंमा दसैं मनाउने र विदेशी पर्यटकलाई मध्यनजर गर्दै क्याफे संचालनमै रहने भएको हो। एक कर्मचारीले भने, ‘हाम्रो क्याफे अन्तर्राष्ट्रिय फ्रेन्चाइज हो। यसकारण हामी ३६५ दिन नै सेवा दिन्छौं।’
हिमालयन जाभाका कर्मचारी दीपेन श्रेष्ठका अनुसार ७४ वटा आउटलेटमध्ये ४ वटा आउटलेट मात्रै दसैंमा बन्द हुन्छ।
‘दसैंमा हाम्रा आउटलेटहरु केही बन्द हुन्छन्, केही खुल्छन्। सेवा बन्द हुँदैन। मलमा भएको क्याफेहरु बन्द हुन्छ,’ उनले भने, ‘२६ वटा आउटलेट टीकाको दिन बन्द हुन्छ। सधैंको समय भन्दा केही समयमा हेरफेर भने हुन्छ।’
दसैंमा पर्यटक र काठमाडौंमा बसोबास गर्नेलाई लक्षित गरी सेवा दिन दसैंको समयमा पनि क्याफे खोल्न लागेको उनको भनाइ छ।
यस्तै, सेफ सन्तोष साहको मिथिला थाली पनि टीकाको दिन बाहेक अन्य दिन खुल्ने संचालक तथा सेफ डीके साहले बताए।
‘दसैंमा काठमाडौंमा फरक खानाको परिकार चाख्न चाहने र घरमा खाना बनाउन मन नलाग्नेहरुलाई लक्षित गरि रेष्टुरेन्ट खोल्न लागेका हौं। हाम्रो काठमाडौं उपत्यकामा रहेको सबै आउटलेट टीकाको दिन बाहेक हरेक दिन खुल्ला रहन्छ,’ उनले भने।
मुगल इम्पेरियलका इन्चार्ज मच्छीन्द्र आले मगरले दसैंको समयमा मेनुमा कम गरेर रेष्टुरेन्ट खोल्न लागेको जानकारी दिए।
‘दसैंको समयमा स्टाफ कम हुने भएकोले हामीले मेनुमा सीमित आइटम राख्न लागेका हौं र, मूल्य भने केही बढी हुन्छ,’ उनले भने, ‘हाम्रो सबै आउटलेटहरु टीकाको दिन ५ घण्टा मात्र खुल्छ भने अन्य दिन १० बजेदेखि १२ बजेसम्म खुल्ला हुन्छ।’
यस्तै, ठमेल, वसन्तपुर, झम्सिखेल, बौद्ध लगायतका क्षेत्रमा पनि रेष्टुरेन्टहरुले सेवा दिइरहेका छन्।