काठमाडौं। युनिटी कप टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इण्डिजले नेपाललाई हराएको छ। यूएईको शारजाह स्टेडियममा सम्पन्न सिरिजको तेस्रो खेलमा वेस्ट इण्डिजले नेपालमाथि १० विकेटको रवाफिलो जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा अन्तिम एक बल बाँकी छँदा अलआउट हुँदै १२२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले १२.२ ओभरमा बिना कुनै विकेटको क्षति लक्ष्य भेट्टाएका हो।
१२३ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजका लागि अमीर जांगोले सर्वाधिक अविजित ७४ रन बनाउँदा अकिम अगस्टी ४१ रनमा अविजित रहे।
तेस्रो खेलमा पराजयका बावजुत नेपालले २-१ ले सिरिज भने जितेको छ। नेपालले वेस्ट इण्डिज विरुद्ध पहिलो खेलमा १९ रन र दोस्रो खेलमा ९० रनको जित निकालेको थियो।
नेपालको इनिङ्स
त्यसअघि ब्याटिङमा उत्रिउको नेपाल १९.५ ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालका ओपनर कुशल भुर्तेल र कुशल मल्लले ठीकठाक सुरुवात गरे। पहिलो विकेटका लागि यी दुईले ४१ रनको साझेदारी गरे। ६.६ ओभरमा कुशल मल्ल १२ रन बनाएर जेसन होल्डरको बलमा आउट हुन पुगे।
अर्कोतर्फ प्रभावशाली ब्याटिङ गरेका भुर्तेल २९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३९ रन बनाएर कप्तान अकिल हुसैनको बलमा केल मेयर्सबाट क्याचआउट भए।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहितकुमार पौडेलले भने आफ्नो प्रभाव छाड्न सकेनन्। उनले १९ बलमा १७ रन बनाएर १२.२ ओभरमा पभेलियन फर्किए।
१४.३ ओभरमा ३ बलमा ६ रन बनाएका आरिफ शेख रेमन सिमोन्ड्सको बलमा जेसन होल्डरबाट क्याचआउट भए।
दुई प्रभावशाली ब्याटिङ अलराउण्डर गुल्सन झा र मोहम्मद आदिल अन्सारी भने सन्दीप जोरासँगको असमझदारीका बीच रनआउट हुन पुगे। झाले १० र आदिलले ३ रन बनाउँदा जोराले १४ रन बनाए।
नेपाली टोलीका सबैभन्दा अनुभवी अलराउण्डर सोमपाल कामी ४ रन बनाएर १८.५ ओभरमा सिमोन्ड्सको बलमा एलबीडब्लु आउट हुँदा ४ रन बनाएका थिए। लगत्तै आएका करण केसीलाई पनि सिमोन्ड्सले नै बोल्ड आउट गरे।
बलिङतर्फ वेस्ट इण्डिजका रेमन सिमोण्ड्सले ४ विकेट लिँदा जेदिआ ब्लेड्सले २ तथा अकिल हुसैन र जेसन होल्डरले समान १ विकेट लिए।