BIZMANDU
www.bizmandu.com

२०६५ सालकै झल्को : कुमारी घरबाट बिदा भइन् तृष्णा शाक्य, आर्यतारा आसनमा बिराजमान

२०८२ असोज १४

२०६५ सालकै झल्को : कुमारी घरबाट बिदा भइन् तृष्णा शाक्य, आर्यतारा आसनमा बिराजमान
२०६५ सालकै झल्को : कुमारी घरबाट बिदा भइन् तृष्णा शाक्य, आर्यतारा आसनमा बिराजमान


काठमाडौं । नेपालमा हुने राजनीतिक परिवर्तनले काठमाडौं उपत्यकामा हुने संस्कारसंस्कृतिमा पनि प्रभाव पारेकै हुन्छ। प्रशासनिक होस् या व्यक्तिगत राजनीतिक महोत्वकांक्षाले हुने आन्दोलन, उपत्यकाको पर्व कहिले रोकिने त कहिले स्थगित हुने गरेको छ। यसले राजनीतिक परिवर्तन र नेवार समुदायबीचको ‘रिसाइलेन्स’ दर्साउँछ।

Tata
GBIME
Nepal Life

२०६५ सालतिर सरकारले गुठी अनुदान कटौती गर्दा इन्द्रजात्राको नानिचा:या: रथयात्रा बीचमै रोकिएको थियो। हालैको जेनजी आन्दोलनका कारण राजनीतिक अस्थिरता बढ्दा र सुरक्षासँगै सामाजिक वातावरण बिग्रिँदा अन्तिम दिन परम्परागत रथयात्रा निकाल्न सकिने अवस्था बनेन।

यी दुवैपटक रथयात्रा नगरी क्षमा पूजा गरेर परम्परालाई निरन्तरता दिइयो। यसले परम्परा स्थिर नभइ अनुकूलनशील हुन्छ र त्यसलाई आधार बनाएर अघि बढ्ने सके विधि परिमार्जन गरेर पनि संस्कृति बाँच्न सक्छ भन्ने उदाहरण प्रस्तुत भएको छ।

दोहोरियो इतिहास

सरकारको दमन र त्यसपछिको विध्वंशका कारण उत्पन्न परिस्थितिले यसपटक इन्द्रजात्राको अन्तिम दिन नानिचा: या मा रथयात्रा नै भएन। जीवित देवी कुमारी, जीवित देव गणेश र भैरवको वसन्तपुरस्थित कुमारी घरमा क्षमा पूजा गरियो। आन्दोलनको उभारबीच रथयात्रा नगरी यसपटक इन्द्रजात्रा सकाउने निर्णय भयो।

आन्दोलनपछिको अवस्था हाल साम्य हुँदै गर्दा देश दसैंको उमंगमा भुलेको छ। नेवार समुदाय पनि अहिले त्यसैको रमझममा देखिन्छ। यसबीच लायकू कुमारी परिवर्तन भयो आज महाअष्टामीको दिन।

आज बिहानसम्म लायकू कुमारीका रुपमा ओमबहालको विश्वकर्म महाविहारकी तृष्णा शाक्य बिराजमान थिइन्। आज शुभसाइतमा इतुम्बहालकी आर्यतारा शाक्य कुमारीको आसनमा विराजमान भइन्।

नयाँ कुमारी आर्यतारा शाक्यलाई कुमारी घर लगिँदै

गणतन्त्र नेपालकी पहिलो कुमारी मतिना शाक्य १२ वर्ष पूरा भएपछि विसं २०७४ असोजको महाअष्टमीमा तृष्ण जीवित देवी कुमारीका रुपमा कुमारीघर प्रवेश गरेकी थिइन्। त्यसबेला तृष्ण साढे ३ वर्षकी थिइन्।

यो महाअष्टमीमा उनी अब कुमारी घरबाट बिदा भएर पुर्खौली घर फर्किएकी छन्। यससँगै इन्द्रजात्राको अन्तिम दिन नानिचा: या रथयात्रा नगरी घर फिर्ती हुने उनी दोस्रो कुमारी बनिन्।

यसअघि २०६५ सालमा पनि काठमाडौं आन्दोलनमा रुमलिँदा नानिचा:या रथयात्रा हुन सकेको थिएन। त्यसबेलाकी कुमारी प्रिति शाक्यले पनि इन्द्रजात्राको अन्तिम दिनको रथयात्रा गरेकी थिइनन्। त्यस लगत्तैको दसैंमा उनी परिवर्तन भइन्।

के भएको थियो त्यो बेला?

२०६५ साल असोज ३ गते, शुक्रवार। येँया: (इन्द्रजात्रा) को अन्तिम दिन जीवित देवी कुमारी, जीवित देव गणेश र भैरवको रथलाई  ‘नानिचा: या:’ (बीचको नगर परिक्रमा)  गराउने दिन थियो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव पहिलोपटक कुमारीको हातबाट टीका लगाउन आउने कार्यक्रम थियो।

सम्बन्धित समाचार : पूर्व कुमारी प्रीति, जसले ‘नानिचा:या:’ रथयात्रा पूरा नगरी हुनुपर्‍यो कुमारी घरबाट बिदा

तर, त्यो दिन मल्लकालबाट निरन्तर रुपमा चलिआएको रथ यात्रामा पहिलोपटक रोकियो। माओवादी नेतृत्वको सरकारबाट आएको एउटा पत्रमा ‘आर्थिक मितव्ययिता’ अपनाउने भन्दै डा. बाबुराम भट्टराईले नेतृत्व गरेको अर्थ मन्त्रालयले इन्द्रजात्रामा संचालन हुने तीनवटा गुठी नाच (लाखे आजु, पुलुकिसी र सव:भक्कु) लाई दिँदै आएको खर्च कटौती गर्ने निर्णय उल्लेख थियो।

सरकारले दिँदै आएको थोरै रकम पनि कटौती गरेपछि त्यसलाई स्वीकार गर्ने पक्षमा थिएनन् गुठीयार। सरकारप्रति गुठीमा संलग्न गुठीयारमात्र नभइ स्थानीय र सरोकारवालाहरु सबै मिलेर वसन्तपुरमै सांस्कृतिक आन्दोलन गरे। बाजाले गुञ्जायमान हुनुपर्ने वसन्तपुरमा सन्नटा छायो त्यसदिन। लाखे, पुलुकिसी,सव:भक्कु वसन्तपुर पुगे तर नाचेनन्, धिमे, भुस्या, घन्ट बजेनन्। उनीहरुले गद्दी बैठक अगाडि उभिएर सरकारविरुद्ध मौन प्रदर्शन गरे। त्यतिबेला सम्ममा सरकारको निर्णय नेवार समुदायको बाहुल्य रहेको क्षेत्रहरुमा आगो झै फैलिसकेको थियो।

कुमारीसहित गणेश र भैरवको रथ यात्रा नहुने चर्चाबीच अन्तत: बेलुकी करिब ५ बजे रथ यात्रा सुरु भयो।

पूर्व कुमारी प्रीति शाक्य। फाइल तस्विर

तर, कुमारीको रथ यात्रा प्याफल – यट्खा भन्दा अघि बढ्नै सकेन। सरकारसँग झुक्यो भने सबै संस्कृति मास्छ भन्नेहरुको वर्चश्व थियो। रथ यात्रा हुने स्थानहरुमा ठाउँठाउँमा अवरोध थियो। मध्यरात भइसकेको थियो। कुमारीलाई बीच बाटोबाटै कुमारी घर फर्काउनु पर्‍यो।

बाबुराम भट्टराईको एउटा निर्णयले इतिहासमा पहिलो पटक कुमारी जात्रा अवरुद्ध भएको थियो त्यसबेला।

आर्काइभबाट : बाबुराम भट्टराईको त्यो निर्णय जसले १४ वर्ष अघि आजकै दिन रोकिएको थियो इन्द्रजात्रा

‘त्यो दिन मलाई रथयात्राको बीचबाटै फर्काइएको थियो। धेरै राति भइसेको थियो। अगाडि जाने अवस्था थिएन’ पूर्व कुमारी प्रीति शाक्य आफ्नो कुमारीको अन्तिम रथ यात्रा सम्झँदै २०७६ सालमा भनेकी थिइन्,’ त्यो मेरो अन्तिम रथ यात्रा थियो। त्यो पूरा नै भएन।’

यो पटक पनि त्यस्तै दृश्य देखियो

भदौमा केपी शर्मा ओली नेतृत्वको सरकारले २६ वटा सामाजिक संजाल बन्द गर्ने निर्णय गर्‍यो। त्यसैको जगमा युवाहरुले सामाजिक संजालबाटै एकजुट भएर भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने सुशासन स्थापना गर्ने माग गरे।

भदौ २२ गते माइतीघरमा जेनजी आन्दोलन भयो। त्यसक्रममा बानेश्वरमा गोली चल्दा धेरै युवाहरु मारिए। त्यसको भोलिपल्ट त देशको सबै प्रमुख संरचना जल्यो। काठमाडौं उपत्यकामा मात्रै ७० बढी सरकारी भवन तोडफोड र आगजनी भए। राजनीतिक उथलपुथलबीच केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिन पर्‍यो।

जेनजी आन्दोलनको असर काठमाडौंको भित्रि सहरमा पनि देखियो। कोर सहरको चोकचोकमा सरकारी दमनविरुद्ध प्रदर्शन भए।

इन्द्रजात्रा चलिरहँदा भएको यो आन्दोलनका कारण पहिला जस्तै बृहतस्तरमा सांस्कृतिक र ऐतिहासिक नाचहरु भएनन्।

नानिचा:या को दिन काठमाडौंमा कर्फ्यू थियो। सरोकारवालाले देशको परिस्थिति बुझेर रथ यात्रा नगर्ने निधो गरे। सहरमा सेनाको उपस्थिति बढ्दा वसन्तपुरमा रहेको कुमारी घरमा बाक्लो भिड थियो त्यो दिन। कुमारी घर अगाडि क्षमा पूजा गरेर इन्द्रजात्रा सम्पन्न गराइयो।

दसैंको महाअष्टमीको दिन आज कुमारी घरमा नयाँ कुमारी आर्यतारा शाक्यलाई भित्र्याइएको छ। इतुम्बहाकी साढे २ वर्षकी उनलाई आज सुरुमा हनुमानढोकास्थित मूलचोक लगिएको थियो। त्यसपछि मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा उनलाई आसन ग्रहण गराइएको हो।

तृष्णा शाक्यलाई सम्मान सहित खटमा राखेर कुमारी घरबाट बाजासहित उनकै घर पुर्‍याइएको छ।