BIZMANDU
www.bizmandu.com

दसैंमा पोखरी वा ताल भएका ठाउँ घुम्न जाने सोच्दै हुनुहुन्छ? यी हुनसक्छ उपयुक्त गन्तव्य

२०८२ असोज १३

दसैंमा पोखरी वा ताल भएका ठाउँ घुम्न जाने सोच्दै हुनुहुन्छ? यी हुनसक्छ उपयुक्त गन्तव्य
दसैंमा पोखरी वा ताल भएका ठाउँ घुम्न जाने सोच्दै हुनुहुन्छ? यी हुनसक्छ उपयुक्त गन्तव्य


काठमाडौं । दसैंमा सरकारी तथा निजी क्षेत्रका कर्मचारीले लामो छुट्टी पाउने गर्छन्। धेरैजना दसैं मान्न घर जान्छन् भने केही यो बिदालाई घुमफिर गरेर बिताउँछन्। गर्मी घट्दै जाने र चिसो पनि धेरै नहुने भएकाले यो मौसममा पदयात्रा (ट्रेकिङ) जान उपयुक्त मानिन्छ।

Tata
GBIME
Nepal Life

यो बेलामा ट्रेकिङ वा घुम्न जाने ट्रेन्ड नै चलेको छ। उपयुक्त ठाउँको छनोटमा कतिपय अलमलमा पनि पर्छन् नै। कसरी जाने? कति खर्च लाग्छ? भन्ने जस्ता खुल्दुली हुने नै भयो।

चाडबाडको बिदामा घुमघाम गर्न चाहनेका लागि ट्राभल एजेन्सीहरूले विभिन्न प्याकेज ल्याएका छन्। ती प्याकेजमा जानुको साटो आफैं योजना बनाएर निस्कँदा पनि रमणीय ठाउँको यात्रा सम्भव छ। हुम्लाको नाम्खा गाउँपालिका–२ स्थित लिमि-लाप्चा सडक किनारमा करिब ४ हजार ५०० मिटर उचाइमा सेलिमा ताल छ। यस्तै कयौं तालहरु दसैं बिदामा गन्तव्य बन्ने गरेको छ।

यदि उपयुक्त ठाउँको छनोटमा अलमलमा हुनुहुन्छ भने हामी तपाईँलाई चर्चित पोखरी/ताल भएका यी रमणीय ठाउँहरू घुम्न सुझाव दिन्छौं।

पाँचपोखरी

सिन्धुपाल्चोकमा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल हो।

समुद्र सतहबाट करिब ४ हजार ६० मिटरको उचाइमा रहेको पाँचपोखरीमा पाँचवटा पोखरी छन्। पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ। इन्द्रावती नदीको उद्गमस्थल हो, पाँचपोखरी।

पाँचपोखरी २ वटा बाटो भएर पुग्न सकिन्छ। एउटा पदयात्रा सानो ओखरेनीबाट चौतारा हुँदै र अर्को भोताङबाट मेलम्ची हुँदै। भोताङ सबैभन्दा सजिलो र रूचाइएको मार्ग हो।

पहिलो दिन काठमाडौंदेखि भोताङ र छिम्तीसम्म नियमित बससेवा उपलब्ध छ। भोताङबाट लगभग ३ घण्टा पैदल हिँडेपछि देउराली पुगिन्छ। दोस्रो दिन देउरालीबाट अगाडि नोसेम्पटी हुँदै लाहुरे भञ्ज्याङ पुगिन्छ।

तेस्रो दिन लाहुरे भञ्ज्याङबाट पाँचपोखरी पुगिन्छ। चौथो दिन बिहानै उठेर पूजापाठ गरी पाँचपोखरीबाट चार घण्टा ओरालो लागेपछि टुपीडाँडा वा देउराली फर्किन सकिन्छ।

पाँचौ देउरालीबाट छिम्ती पुगेर बसमा चढेर मेलम्ची हुँदै काठमाडौं फर्किन सकिन्छ। ५ दिनको यो यात्राका लागि प्रति व्यक्ति करिब १२ हजार रूपैयाँ छुट्याए पुग्छ।

तस्बिर : रासस।

गोसाइँकुण्ड

लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको गोसाइँकुण्ड ताल समुद्री सतहबाट ४ हजार ३८० मिटरको उचाइमा छ। यो धार्मिक तीर्थस्थल हो।

पहिलो दिन काठमाडौंबाट ६ घण्टाको बस यात्रामार्फत धुन्चे पुगेर ४ घण्टाको पैदल यात्रापछि देउराली पुगेर बास बस्न सकिन्छ। दोस्रो दिन देउरालीबाट चन्दनबारी पुगेर बास बस्न सकिन्छ।

तेस्रो दिन चन्दनबारीबाट करिब ६ घण्टा हिँडेपछि गोसाइँकुण्ड पुगिन्छ। चौथो दिन गोसाइँकुण्डबाट ट्रेक गर्दै धुन्चेमा आएर बस्ने र पाँचौं दिन काठमाडौं फर्किन सकिनेछ। यो रुटमा बास र खानाको राम्रो सुविधा छ।

विशेषगरी, गोसाइँकुण्ड पदयात्रामा हिमालको दृश्य, ताल, राष्ट्रिय निकुञ्जले मनोरञ्जन दिनेछ। लाङटाङ, लिरुङ, गाङछेन्पो, दोक्पु चुचुरो, नया कांगरी, याला चुचुरो, गणेश हिमाल, मनास्लु हिमाल लगायत धेरै चुचुराहरू गोसाइँकुण्ड घुम्दै गर्दा पदयात्रीहरूले हेर्न सक्छन्।

पदयात्रा गर्दै गर्दा लाग्ने खर्च भने निश्चित हुँदैन। त्यसमा खर्च कति गर्ने कस्तो खाना खाने भन्ने कुरा पदयात्रीमा भर पर्छ। नेपाली खाना खाँदै यो यात्रा गरेमा ५ दिन गोसाइँकुण्ड जान प्रति व्यक्ति करिब १२ हजार रूपैयाँ भए पुग्छ।

रारा ताल

कर्णाली प्रदेशको मुगुमा पर्ने रारा ताल २ हजार ९ सय ९० मिटर उचाइमा छ। यो ताल रारा राष्ट्रिय निकुञ्ज भित्र पर्छ भने नेपालमा पाइने चरामध्ये २ सय ३६ प्रजाति यहाँ पाइएको रेकर्ड छ।

यहाँ पुग्न हवाई र स्थलमार्ग दुवै प्रयोग गर्न सकिन्छ। स्थल मार्ग हुँदै आफ्नै सवारीसाधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा पुग्न सकिन्छ।

हवाई मार्ग प्रयोग गर्दा भने मुगुको ताल्चा विमानस्थलबाट करिब २ घण्टा हिँडेपछि रारा ताल पुगिन्छ। निजी सवारी नहुनेहरूका लागि सार्वजनिक सवारी प्रयोग गरेर पनि रारा पुग्न सकिन्छ।

ग्रुपमा जाँदै हुनुहुन्छ भने पहिलो दिन काठमाडौंबाट नाइट बसमा सुर्खेत गएर त्यहाँबाट जिप बुक गरेर कालीकोट पुगेर बास बस्न सकिन्छ। एक्लै जाँदै हुनुहुन्छ भने पहिलो दिन काठमाडौंबाट सुर्खेत बास बसेर दोस्रो दिन कालीकोट पुगेर बास बस्न सकिन्छ।

दोस्रो दिन ग्रुपमा हुनुहुन्छ भने पहिला नै बुक गरेको जिपमा रारा पुग्न सकिन्छ भने एक्लै भए तेस्रो दिन मान्मबाट सल्लेरीसम्म बसमा गएर त्यहाँबाट पदैल २ घण्टाको यात्रा गरेर रारा पुग्न सकिन्छ।

ग्रुपमा जानेका लागि तेस्रो दिन र एकलै जानेको चौथो दिन निकुन्ज परिसर-डुंगा सयर र मुर्माटप (प्रस्ट रारा ताल र हिमशृंखला देखिने डाँडा) घुमेर बेलुका बास बसेकै होटलमा आएर बास बस्नु पर्छ।

ग्रुपमा हिँडेकाहरूले चौथो दिन र एक्लै हिँडेकाहरूले पाँचौँ दिन राराबाट कालीकोट आएर बास बस्न सकिन्छ। ग्रुपमा पाँचौँ दिन र एक्लै हिँडेकाहरूको छैटौं दिन कालीकोटबाट दाङ आएर बास बस्न सकिन्छ।

त्यसपछि अन्तिम दिन दाङबाट काठमाडौं आउन सकिन्छ। यो निकै हतारको रुटमा पर्छ भने तपाईहरू एक्लै हुनुहुन्छ भने ८ दिन लगाएर पनि यो यात्रा तय गर्न सक्नु हुन्छ।

जसमा पाँचौं दिन राराबाट जुम्ला बास बसेर छैंटौं दिन कालीकोट बास बस्न सकिन्छ। सातौं दिन दाङ बास बसेर आठौं दिन काठमाडौं आउन सकिन्छ। यो ७ देखि ८ दिनमा सकिने ट्रेक जान प्रति व्यक्ति १७ देखि २० हजार रुपैयाँ छुट्याए पुग्छ।

शे-फोक्सुन्डो

डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा अवस्थित शे-फोक्सुन्डो ताल छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छ। यो ताल समुद्री सतहदेखि ३ हजार ६ सय १२ मिटरको उचाइमा छ।

यहाँ काठमाडौंबाट नेपालगन्जसम्मको हवाई यात्राबाट पनि जान सकिन्छ भने काठमाडौंबाट नाइटबस चढेर नेपालगन्ज हुँदै पनि जान सकिन्छ।

दोस्रो दिन नेपालगन्जबाट डोल्पा गएर बास बस्न सकिन्छ। तेस्रो दिन डोल्पाबाट ८ घण्टा ट्रेक गरेपछि रिची बास बस्न पुगिन्छ। चौथो दिन रिचीबाट रिग्मो हुँदै फोक्सुन्डो पुगिन्छ।

पाँचौ दिन फोक्सुन्डो पुरै घुमेर छेपका आएर बास बस्न सकिन्छ। छैटौं दिन छेपकाबाट सुलिगाड पुगेर नेपालगन्जको बस लिन सकिन्छ। उक्त दिन नेपालगन्ज नै बास बसेर सातौं दिन नेपालगन्जबाट काठमाडौं फर्किन सकिन्छ।

७ दिनमा पूरा गर्न सकिने यो ट्रेकका लागि प्रति व्यक्ति २८ हजार रुपैयाँ भए पुग्छ। सहरी कोलाहलबाट केही दिन टाढा रहेर प्रकृतिको सामिप्यमा रमाउन चाहनेहरूका लागि शे-फोक्सुन्डो निकै राम्रो गन्तव्य हो।

तिलिचो ताल

तिलिचो नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो। यो समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटरको उचाइमा मनाङ जिल्लामा पर्छ।

यहाँ जान पहिलो दिन काठमाडौंबाट लमजुङको बेसिसहर हुँदै खाङसार पुग्न पनि सकिन्छ भने काठमाडौंबाट मनाङ गएर बास बस्न पनि सकिन्छ।

दोस्रो दिन ७ घण्टा हिँडेर तिलिचो बेस क्याम्प पुग्न सकिन्छ। तेस्रो दिन बिहान ३ बजे नै तिलिचो ताल जाँदा सहज हुन्छ किनभने ठाडै बाटो भएकाले रातिमा हिँड्दा सहज हुन्छ नभए बिहान ५ बजे हिँडेर जान पनि सकिन्छ।

तिलिचो ताल पुगेर त्यही दिन मनाङ आएर पनि बास बस्न सक्नुहुन्छ। चौथो दिन काठमाडौं आउन पनि सक्नुहुन्छ भने लमजुङ बसेर पाँचौं दिन काठमाडौं पनि आउन सक्नुहुन्छ।

पाँच दिनमा सकिने यो ट्रेक जान प्रतिव्यक्ति करिब १५ हजार भए पुग्छ।

च्छो रोल्पा

च्छो रोल्पा दोलखाको गौरीशंकर संरक्षण क्षेत्रमा पर्छ। यो ताल समुद्री सतहदेखि ४ हजार ५ सय ५१ मिटर उचाइमा छ।

यहाँबाट गौरीशंकर हिमाल, राम्दुंग हिमाल, यालुङ हिमाल, बेदिंग गो हिमालका साथै अरू धेरै हिमालको अवलोकन गर्न पाइन्छ। हाब्रे, घोरल, हिम चितुवा, रातो पाण्डा, डाँफे, हिमाली थार लगायत जीवजन्तु तथा चराचुरुंगीको अवलोकन यो गन्तव्यमा गर्न पाइन्छ।

पहिलो दिन काठमाडौंबाट छेतछेतका लागि बस चढ्ने र त्यहाँ पुगेर २ घण्टाको हिँडाइपछि सिमिगाउँ पुग्न सकिन्छ। दोस्रो दिन सिमिगाउँबाट बेदिङ गाउँ पुगेर बस्न सकिन्छ।

तेस्रो दिन बेदिङबाट नाँ पुगेर होटलमा ब्याग राखेर ३ घण्टाको हिँडाइपछि च्छो रोल्पा पुग्न सकिन्छ। त्यसपछि पुनः नाँ गाउँ आएर बास बस्न सकिन्छ। चौथो दिन नाँ गाउँबाट दूधकुण्ड गएर त्यही दिन बेदिङ आएर बस्न सकिन्छ।

पाँचौं र अन्तिम दिन बेदिङ गाउँबाट गोगरखोला झरेर बसमा काठमाडौं फर्कन सकिन्छ।

पाँच दिनमा सकिने यो गन्तव्यमा जान प्रति व्यक्ति करिब १० हजार रुपैयाँ भए पुग्छ।

कपुचे हिमताल

कास्कीको मादी गाउँपालिका-१ मा रहेको कपुचे विश्वकै सबैभन्दा होचो ताल हो। यो ताल समुद्री सतहदेखि २ हजार ४५० मिटरमा पर्छ।

पहिलो दिन काठमाडौंबाट नाइटबसमा पोखरा पुगेर सिक्लेस पुग्न सकिन्छ। त्यहाँबाट पैदल यात्रा गर्नुपर्छ।

दोस्रो दिन हुगुगोठमा पुग्न सकिन्छ। एक रात पोखरा बसेर बिहानै काहूँखोलाबाट सिक्लेसको गाडी पाइन्छ। त्यहाँबाट सिक्लेस बास बसेर यात्रा थाल्दा आरामदायी रहन्छ।

सिक्लेसमा होटल र होमटस्टे छन्। खाना र बास सुलभ शुल्कमा पाइन्छ। सिक्लेसबाट कपुचे हिमतालका लागि गाइड पनि पाइन्छ। गाउँलेले रुट बताइदिन्छन्। सिक्लेसबाट तेस्रो दिन हुगुगोठ हुँदै कपुचे ताल पुगेर फर्कन सकिन्छ। सिक्लेस आएर बास बस्न पनि सकिन्छ।

यात्रामा थकान भए हुगुगोठमा पनि बासको प्रबन्ध छ। हुगु आएर बास बस्दा चौथो दिन कोरी पुग्न सकिन्छ। र पाँचौ दिन कोरीबाट सिक्लेस आएर बास बस्न सकिन्छ। छैटौं दिन सिक्लेसबाट पोखरा हुँदै काठमाडौं फर्किन सकिन्छ। यहाँ जान प्रति व्यक्ति लगभग १३ देखि १५ हजार रुपैयाँ भए पुग्छ।