काठमाडौं। त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फ यात्रुको चाप ह्वात्तै बढेको छ। दसैंका कारण विमानस्थलमा यात्रुको चाप बढेको हो। केही दिनयता आन्तरिकतर्फ काठमाडौंबाट दिनहुँ डेढ सयभन्दा बढी उडान भइरहेको छ।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले दसैंको मुख्य दिन नजिकिएका कारण विमानस्थलमा यात्रुको चाप बढेको बताए।
‘अहिले विमानस्थलमा दैनिकजसो चाप बढिरहेको छ। भोलिसम्म बढी चाप हुने देखिन्छ। फूलपाती पछिका दिनमा भने चाप केही कम हुन्छ,’ उनले भने।
त्रिभुवन विमानस्थलमा १० गते २९८ र ९ गते ३१४ वटा उडान अवतरण भएको छ। १० गते ८ हजार ९९० विमानस्थलबाट बाहिरिएका छन् भने ७ हजार २७ जना भित्रिएका छन्। ९ गते काठमाडौं छोड्नेको संख्या ९ हजार ७६१ र भित्रिनेको संख्या ६ हजार ८६३ थियो।
शेर्पाका अनुसार आइतबार १५९ उडान र १५९ नै अवतरणको तालिका छ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले आइतबार काठमाडौंबाट हुने कुनै पनि उडानमा टिकटबाँकी नरहेको बताए।
‘आजको पूरै फ्लाइटमा टिकट सकिसकेको छ। भोलिको उडानमा भने सिस्टमले टिकट देखाएको छ। फ्लाइट थप्न पर्ने अवस्था छैन,’ उनले भने।