काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।
काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव अनुसार मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकले केन्द्रीय समितिलाई प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ। माओवादीमा महाधिवेशन नभएसम्म अब अध्यक्ष लगायत पदाधिकारी रहने छैनन्। पदाधिकारी महाधिवेशन आयोजक समितिको सचिवालय सदस्यमा रुपान्तरण भएका छन्।
बैठकले पार्टीका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ।
नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यका बारेमा निर्णय लिने, संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नीति बनाउने, जेनजीलाई पार्टीका सबै कमिटिमा सहभागी गराउने र विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने निर्णय बैठकले गरेको छ।