BIZMANDU
www.bizmandu.com

तुइनखोलाको पहिरोपछि वैकल्पिक सडकमा चाप, कस्तो छ बाटोको अवस्था?

२०८२ असोज ९

तुइनखोलाको पहिरोपछि वैकल्पिक सडकमा चाप, कस्तो छ बाटोको अवस्था?
तुइनखोलाको पहिरोपछि वैकल्पिक सडकमा चाप, कस्तो छ बाटोको अवस्था?

काठमाडौं। नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा असोज ७ गते अपरान्ह ठूलो सुक्खा पहिरो खसेर पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुन पुगेपछि सरकारले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गर्‍यो।

Tata
GBIME
Nepal Life

दसैं मनाउनका लागि भनेर गाउँघर हिंडेका यात्रु बीचमा अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिरो पन्छाउन समय लाग्ने भन्दै वैकल्पिक बाटो प्रयोग गर्न भनेको हो।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले पहिरो पन्छाउन समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको र वैकल्पिक सडक कालोपत्रे रहेकाले असहज नहुने बताए।

तुइनखोलाको पहिरो पन्छाइँदै

‘मुग्लिन-नारायणगढ खण्ड तुइन खोलामा पहिरोका कारण बन्द भएपछि हामीले विकल्पमा अन्य बाटो प्रयोग गर्न भनेका हौं,’ उनले भने, ‘हामीलाई अरु सडक डिभिजनले वैकल्पिक बाटो यात्रा गर्न मिल्ने खालको भएको बताएका छन्। तर वर्षा नरोकिएका कारण कुन ठाउँमा कतिखेर समस्या हुन्छ भन्न सकिंदैन। यात्रु र सवारी चालकले सोधपुछ गरेर यात्रा गर्दा राम्रो हुन्छ।’

चितवनको जुटपानी-शक्तिखोर-मायाटार हुँदै धादिङको मलेखु निस्किन मिल्ने सडक छ। यो सडकमा ठूला गाडी चलाउन भने मिल्दैन। फिस्लिङबाट तोलाङ-बाँसपुर-मायाटार-तेर्से-उपरदाङगढी-शक्तिखोरको यात्रा गर्न केही समस्या नरहेको लामिछानेले बताए।

यो सडक ४७ किलोमिटर लामो छ। सडक प्राय: कालोपत्रे छ। ‘कतैकतै कालोपत्रे गर्न बाँकी छ। यसले खासै समस्या पार्दैन,’ लामिछानेले भने। यो सडक पार गर्न २ घन्टा लाग्छ।

मुग्लिन-नारायणगढ खण्ड बन्द भएको अवस्थामा त्रिभुवन राजपथ अर्को विकल्प हो। धादिङको नौबिसेबाट हेटौंडा जाने यो सडकमा पनि केही समस्या नरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। ‘बाटो अलि सानो भएकाले ट्राफिक जाम हुन सक्छ। तर अरु समस्या छैन भनेकाले हामीले विकल्पका रुपमा प्रयोग गर्न भनेका हौं,’ लामिछानेले भने।

नौबिसेबाट पालुङ हेटौंडा निस्किने सडकमा साना ठुला दुवै खालका सवारीसाधन चलाउन मिल्छ। सडक पूरै कालोपत्रे छ।

तुइनखोलाको पहिरोपछि कतिपय अहिले कान्ति लोकपथ हुँदै गन्तव्यमा गइरहेका छन्। सातदोबाटोबाट चापागाउँ, टिकाभैरब, तीनपाने, भट्टेडाँडा, छपेली, बगुवा बाग्मती पुल, ठिगान, सिमात खोला, जीतपुर, लेन डाँडा, मकवानपुरगढी, चुच्चे खोला, चौघडा हुँदै हेटौंडा पुगिन्छ।

कान्ति लोकपथ सडक योजनाका प्रमुख रत्नलक्ष्मी बज्राचार्यले सडक मर्मत गरेर यात्रा गर्नयोग्य बनाइएको जानकारी दिइन्। पोहोर असोजको बाढीले केही स्थानमा समस्या भएकामा मर्मत गरेर गाडी गुडाउन मिल्ने बनाइएको उनको भनाइ छ।

कान्ति लोकपथ

‘अहिले बाटो सजिलोसँग चलिरहेको छ। ठूलो पानी आएमा पहिरोको जोखिम हुन्छ,’ उनले भनिन्, ‘अहिले ठूला गाडी यो बाटोबाटै गइरहेका छन्। ट्राफिक थेग्न गाह्रो अवस्था छ।’

७९ किलोमिटर दूरीको सडक पार गर्न सामान्य अवस्थामा अढाइ घण्टा लाग्ने गरेकामा अहिले सवारीसाधनको चापका कारण ४ घण्टासम्म लाग्ने अवस्था रहेको बज्राचार्यले बताइन्।

पूर्वपश्चिम राजमार्गमा पहिरोको समस्याका कारण कतिपयले दक्षिणकाली हुँदै कुलेखानी-भैंसे-हेटौंडाको सडक प्रयोग गरिरहेका छन्। यो सडकमा यसअघि भाडाका टाटा सुमो चल्ने गरेकामा अहिले निजी सवारीसाधनको पनि ओहोरदोहोर बढेको छ। काठमाडौं-हेटौंडा जोड्ने छोटो दूरीको सडक कालोपत्रे रहेकाले पनि सवारीको चाप बढेको हो।

सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर रामप्रसाद फुयालले काठमाडौंबाट हेटौंडा निस्केर यात्रा गर्नेका लागि थानकोट-चित्लाङ-कुलेखानी रुट पनि उपयुक्त हुने बताए।

‘यो बाटोमा पनि साना गाडी चलाउन समास्या छैन। वर्षाले गर्दा एक/दुई स्थानमा समस्या थियो। तर अहिले मर्मत गरेर बाटो सहज बनाइएको छ,’ उनले भने, ‘पानी नआएको खण्डमा साना गाडी मज्जाले जान्छ। कुनै समस्या छैन। त्यही भएर अहिले चाप बढेको छ।’

मन्त्रालयले कालिगण्डकी करिडोरलाई पनि वैकल्पिक सडकमा राखेको छ। तनहुँको भिमाद हुँदै पाल्पाको रामपुर भएर गैंडाकोट निस्किन मिल्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। यो सडक १३२ किलोमिटर लामो छ।