काठमाडौं। सामाजिक संजाल बन्द भएपछि सुशासन माग्दै भ्रष्टाचारविरुद्ध सुरु भएको जेनजीको प्रदर्शनको पहिलो दिनमै १९ जना आन्दोलनकारीको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भयो। त्यही रात गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखक कहाँ छन् भन्ने सार्वजनिक भएको छैन।
आन्दोलनको भोलिपल्ट संसद भवनमा आगलागी भएपछि प्रधानमन्त्री निवासबाट राजीनामा दिएर सैनिक सुरक्षामा पुगेका थिए केपी शर्मा ओली। अवस्था साम्य भएपछि सार्वजनिक भएर उनी नेता-कार्यकर्तासँग छलफलमा समेत जुटिसके। तर, अघिल्लै दिन पद त्यागेका लेखक भने सार्वजनिक हुन सकेका छैनन्।
आन्दोलनमा उत्रिएका किशोर-विद्यार्थीमाथि गोली प्रहार भएर १९ जनाको ज्यान गएको भोलिपल्ट भदौ २४ गते सिंहदरबार सहित राजनीतिकदलका नेताहरूको निवासमा आगो लगाइयो। त्यही क्रममा सतुंगलमा रहेको लेखकको घर पनि प्रदर्शनकारीले जलाए।
त्यस्तै, सुदूर पश्चिमको महेन्द्रनगरमा रहेका उनका दुई घर पनि आन्दोलनकारीको आगोको निसानामा परे। प्रहरीको गोली प्रहारबाट विद्यार्थीको मृत्यु भएसँगै रमेश लेखकको चर्को विरोध भएको थियो। विरोधको क्रम अझै थामिएको छैन। आन्दोलनको पहिलो दिनमै राजीनामा दिएका उनी केही दिन सुरक्षा निकायको घेराभित्र रहेका थिए।
अहिले राजनीतिक दलका गतिविधि पनि पुरानै शैलीमा सुरु भइसकेको छ। नेपाली कांग्रेसले प्रदर्शन र त्यसपछि राजनीतिमा आएको उथलपुथलपछि केन्द्रीय कार्य सम्पादन बैठक राख्यो। त्यसमा पार्टी सभापति शेरबहादुर देउवा र नेता रमेश लेखक देखिएनन्।
देउवा र उनकी पत्नी आरजु सेना सुरक्षाबाट बाहिर निस्किएर बाहिर बसिरहेका छन्। उनीहरु कहाँ छन् भन्ने खुलाइएको छैन। यता, लेखक भने सार्वजनिक कार्यक्रममा मात्र होइन सोसल मिडियामा पनि अनुपस्थित छन्।
पूर्व गृहमन्त्री लेखक अहिले काठमाडौंमा नै रहेका उनी निकट एक व्यक्तिले बिजमाण्डूलाई जानकारी दिए। उनका अनुसार लेखक हाल कलंकी क्षेत्रमै डेरामा बस्दै आएका छन्। लेखकले हाल भेटघाटको क्रमलाई घटाएका छन्। लेखककै सचिवालयमा काम गर्नेमध्ये धेरैलाई उनीबारे खास जानकारी छैन।
‘सुरक्षा थ्रेट’लाई कारण देखाउँदै उनले भेटघाटमा सक्रियता नदेखाएको लेखक निकट स्रोतले बताए।
‘यतिखेर उहाँ खासै भेटघाट गर्न चाहन्नु हुन्न। उहाँले धेरै कुरा खुलाउनु पनि भएको छैन,’पूर्व मन्त्री लेखक निकट स्रोतले भन्यो।
सुशीला कार्की नेतृत्वमा निर्वाचनका लागि बनेको अन्तरिम सरकारले जेनजीको प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँच आयोग गठन गरेको छ। आयोगमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा सहित तीन सदस्य छन्।आयोगलाई तीन महिनामा प्रतिवेदन बुझाउन भनिएको छ।
यस आयोगको छानबिनमा प्रथम दृष्टिमा नै तत्कालीन गृहमन्त्री रमेश लेखक पर्नेछन्। त्यसैले उनीसँग आयोगले बयान लिने नै छ। उनी घटनामा दोषी देखिए कारवाहीका लागि सिफारिसमा पर्नेछन्। विभागीय मन्त्रीका हैसियतमा पहिलो दिनको दमन उनको जिम्मेवारीभित्रको विषय हो। त्यसबाट उनी उम्किने सम्भावना कम छ।
आन्दोलनमा प्रहरीको दमनका कारण सिंहदरबार, सर्वोच्च अदालतसहित प्रहरी कार्यालयहरू आगजनीको सिकार भए। यस आन्दोलनमा अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ। त्यसैले पनि सत्तारुढ दलका शीर्ष नेताहरू पछि सर्वसाधारणबीच लेखक चर्को आलोचित पात्र बनेका छन्। उनीप्रतिको जनआक्रोश ज्यादै रहेकाले ‘सुरक्षा थ्रेट’ कायमै रहेको प्रहरी अधिकृतहरू बताउँछन्।
शान्तिपूर्ण प्रदर्शनमा दमन गर्नेमाथि कारबाहीको माग सबैभन्दा चर्को रुपमा अहिले पनि उठिरहेको छ। यसखाले प्रदर्शनमा परिस्थिति सम्हाल्ने र आवश्यकता परेमा सुरक्षाका लागि हतियार चलाउने निर्देशन प्रमुख जिल्ला अधिकारीले दिने गर्छन्। प्रमुख जिल्ला अधिकारी आफू मातहत रहने भएकाले त्यसको जवाफदेहिता गृह मन्त्रीले दिनुपर्ने हुन्छ।
आन्दोलन हुँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल थिए। गोली प्रहारपछि उनी पनि सर्वाधिक आलोचनामा परेका थिए। सोसल मिडियामा उनका परिवारसहितका तस्विर सार्वजनिक गरेर उनीविरुद्ध विभिन्न आह्वानहरू भएका थिए। त्यसपछि उनले आफ्नो सोसल मिडिया एकाउन्ट ‘हाइड’ गरेका थिए। सरकारले गठन गरेको आयोगमा गोली चलाउन आदेश दिएको विषयमा उनले पनि जवाफ दिनुपर्ने छ।
गृहमन्त्री जस्तै रिजाल पनि आयोगमा बयान दिन जाने पहिलो सूचीका कर्मचारी हुनेछन्। उनी पनि अहिले गृहमन्त्री जस्तै ‘गायब’ छन्। सरकारले बुधबार उनको सरुवा गरेर गृह मन्त्रालयमा खटाएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरबाट प्रदर्शनको समयमा विभिन्न क्षेत्रको कमान्ड सम्हालेका एसएसपीदेखि डिएसपीसम्मको सरुवा भइसकेको छ।