BIZMANDU
www.bizmandu.com

सहकारीको सुरक्षित रुपान्तरण, पुस्तान्तरण र प्रविधि-सञ्जालीकरण : यही हो भविष्यको दिशा

२०८२ असोज ९

सहकारीको सुरक्षित रुपान्तरण, पुस्तान्तरण र प्रविधि-सञ्जालीकरण : यही हो भविष्यको दिशा
सहकारीको सुरक्षित रुपान्तरण, पुस्तान्तरण र प्रविधि-सञ्जालीकरण : यही हो भविष्यको दिशा

समुदायमा सदस्यहरूको अपेक्षा तेस्रो पुस्ताको साकोसको रहेको छ, अथवा प्रविधिमा आधारित व्यवस्थापन भएको सहकारीको डीएनए भएको साकोस सञ्जालको अपेक्षा गरिएको छ। तर, हाम्रो साकोस अभियान आज पनि पहिलो पुस्ताको छ। बचत तथा ऋण सहकारी अभियानलाई सहकारी सिद्धान्तको नाममा वा कानुनको नाममा वा राजनीतिक, आर्थिक वा सामाजिक स्वार्थको नाममा वा साकोसको व्यवसायिक क्षमताको नाममा पुस्तान्तरण, रुपान्तरण र सञ्जालीकरणमा रोकिएको छ।

Tata
GBIME
Nepal Life

बचत तथा ऋण सहकारी अभियान मेरो दुई दशकभन्दा बढी बिताएको क्षेत्र हो। यस क्षेत्रमा अतुलनीय योगदान गर्नु हुने अभियानकर्मीहरू नै आफ्नो समयमा बचत तथा ऋण सहकारी अभियानको स्वरुप जस्तो थियो त्यस्तै हुनुपर्ने अपेक्षा राखेर सुझाव गरेको पाइन्छ। मैले सिकेको क्षेत्र पनि सहकारी हो र आजसम्म संलग्न भएर खुसी मिलेको क्षेत्र पनि सहकारी नै हो।

सहकारी नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास भएको देखेको दुई दशकमा समुदाय र अभियानले काँचुली फेरेको छ। म त भन्छु, आजको आर्थिक सामाजिक परिवेशमा बचत तथा ऋण सहकारीमा पनि पुस्तान्तरण, रुपान्तरण र सञ्जालीकरण आवश्यक छ।

बचत तथा ऋण सहकारी अभियानले अपेक्षा नगरेको समयमा ठुला जोखिमहरू बेहोरेको छ र जोखिमको समयमा गरेको सेवाका आधारमा अपेक्षा समेत नगरेका अवसरहरू प्राप्त भएको पनि छ। अभियानले कुनै न कुनै विधिले थप उचाइ पाएको छ। सहकारीको संख्यात्मक विकास भएको कुरामा दुबिधा छैन, आज गुणात्मक विकासको आवश्यकता छ।

बचत तथा ऋण सहकारीको सेवा विविधीकरण मात्र होइन आधुनिकीकरण पनि आवश्यक छ। सबै बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाहरूको संस्थागत विकास गरी क्षेत्रगत जोखिम व्यवस्थापनमार्फत व्यवसायिक दिगोपनको चरणमा प्रवेश गर्न आवश्यक छ।

सहकारीमा पहिचान अनवरत सवाल हो। त्यो हाम्रोमा पनि छ। सहकारी समुदायको जीवन पद्धति भएको भएको सन्दर्भ फेरिएको समुदायका लागि फेरिएको सहकारी अभियान चाहिएको छ । हामीले चाहेर वा नचाहेर बचत तथा ऋण सहकारी अभियानमा आबद्ध भएका वा हुने सम्भावना रहेका सदस्यहरूको सोच, आवश्यकता र क्षमता फेरिएको छ।

सदस्यहरूको आवश्यकता, नियामकहरूको सोच र अभियानको गति एउटै नहुँदा समस्या भएको थियो र, छ। हामीलाई थाहा छ, सहकारी क्षेत्रमा प्रबिधि र जनशक्ति सोचेजस्तो बनाउन सकिएको छैन।

अब सहकारीकर्मीले हीनताबोध होइन रुपान्तरण र पुस्तान्तरणका लागि तयारी हुन आवश्यक छ। तुलनात्मक रुपमा समुदायमा आधारित भइ सदस्यहरूमा मात्र कारोबार गरेका सहकारी सुरक्षित छन् र भविष्यमा पनि सुरक्षित रहने छन्। तर, ती सबैमा रुपान्तरणको आवश्यकता छ। रुपान्तरण आफूलाई केन्द्रमा राखेर होइन सदस्य हित र संस्थागत सुरक्षालाई केन्द्रमा राखेर हुन आवश्यक छ। रुपान्तरणको गति बढ्न आवश्यक छ।

बचत तथा ऋण सहकारी क्षेत्रमा योजनाबद्ध रुपान्तरणको आवश्यकता भएकाले अभियानकर्मीहरू त्यसका लागि तयार हुनु पर्छ।

सुरक्षित रुपान्तरण

सहकारी एकका लागि सबै र सबेका लागि एकको अवधारणामा सदस्यहरूको लागि सदस्यहरूमार्फत सदस्यहरूले नै संचालन गर्ने उद्यम भएकाले आफू आबद्ध संस्थाको रुपान्तरणका लागि सदस्यहरूको भूमिका नै सहकारीमा महत्त्वपूर्ण हुन्छ र हुनु पर्छ। सहकारी सिद्धान्तमा विश्वास गर्नेहरूले सिद्धान्तमा आधारित भइ रुपान्तरित हुन आवश्यक छ। आर्थिक, सामाजिक र राजनीतिक सबै स्वार्थलाई सदस्यहरूको हित र सुरक्षाको स्वार्थले नेतृत्व गर्नुपर्ने हुन्छ। सुरक्षित रुपान्तरण भनेको व्यक्ति वा प्रविधि फेरिनु मात्र होइन। यो त सदस्यहरूको जीवनसँग जोडिएको बचतलाई सुरक्षित रुपमा परिचालन सुनिश्चित हुनेगरि फेरिनु आवश्यक छ।

बचत तथा ऋण सहकारीको व्यवस्थापनमा मानिस, नियामकको कानुन वा सदस्यहरूको सोच बदलिनु आवश्यक छ। तर, त्यसले सदस्यहरूको बचत सुरक्षाको प्रत्याभूति गर्नुपर्छ। सदस्यहरूको नयाँ सोच र आवश्यकता पुरा गर्ने सक्षमता राख्नुपर्छ। यसका लागि बचत तथा ऋण सहकारी अभियान सदस्यहरूसँगको छलफलमा जुट्न आवश्यक छ।

रुपान्तरण सदस्यहरूको हितका लागि हुनुपर्छ। सदस्यहरूको सहभागितामा संचालन हुने भएकाले फेरिएको सदस्यहरूको सोच बचत तथा ऋण सहकारी अभियान व्यवस्थापनमा देखिन आवश्यक छ र त्यसको अनुभुति हुनुपर्छ।

बचत तथा ऋण सहकारी अभियानकर्मीले सुरक्षित साकोस र समुन्नत समाजका लागि काम गर्ने प्रतिबद्धता गर्ने दिन आएको छ। यसका लागि सुरक्षित रुपान्तरण र पुस्तान्तरण गरिनुपर्छ। सदस्य, समुदाय र समग्र अर्थ व्यवस्थामा सहकार्यको माध्यमबाट सुरक्षित रुपान्तरण आजको खाँचो हो। सहकारी भित्रको परम्परागत सोच बदलेर नयाँ सोच विकासको थालनी गर्न सक्नुपर्छ।

अभियान एकाकार भएर वैचारिक रुपमा सहकारी अभियानलाई रुपान्तरणका लागि योगदान गर्न तयार हुनुपर्छ। बचत तथा ऋण सहकारी अभियानमा सदस्यहरूको फरक सुनिएको छ। त्यो समयको माग हो। अभियानकर्मीले सुन्न आवश्यक छ।

६० लाखभन्दा बढी व्याक्तिगत सदस्यहरू जोडिएको बृहत् बचत तथा ऋण सहकारी अभियान कमजोर छैन, क्षेत्रगत रुपान्तरणका लागि सक्षम छ। समानता, सामूहिकता र बचतको महत्त्व अपनाएर सदस्यहरूको स्वामित्वमा रुपान्तरण आजको आवश्यकता हो। सदस्यहरूको हित हाम्रो मूल ध्येय हो र सोच आजको समस्यामा मात्र केन्द्रीत हुने होइन क्षेत्रगत स्थायित्वका लागि निरन्तर परिमार्जनका लागि तयारी हुने भन्ने हो।

सहकारिता मर्दैन। कानुन फेरिएर, नियामक बदलिएर वा अन्य समस्याले सहकारिता मर्दैन। बचत तथा ऋण सहकारीहरूको उपलब्धि मानव पुँजी निर्माण तथा स्थानीय चक्रीय अर्थमा योगदान गर्ने बचत तथा ऋण सहकारी वित्त विकास हो।

सुशासनका लागि रुपान्तरण

विश्व ऋण परिषद्ले सिफारिस गरेको स्तरको सुशासन कायम गर्नु आजको बचत तथा ऋण सहकारी अभियानको आवश्यकता हो। व्यक्तिगत, आन्तरिक र बाह्य सुशासन अभियानमा सुनिश्चित गरिनु पर्छ। आज समाजले सुशासनको अपेक्षा गरेको छ, जुन जरुरी छ। चुनौती सबै क्षेत्रमा जस्तै सहकारी क्षेत्रमा पनि छ।

सहकारीको चुनौती बाह्यभन्दा आन्तरिक र व्यवस्थापकीय स्तरमा नै व्यवस्थापन हुन सक्ने स्तरको देखिन्छ। रुपान्तरणका लागि अभियानमा सुशासन कायम गर्नु आजको आवश्यकता हो। सदस्यहरूको बृहत् हितभन्दा स्वार्थ समूहको हितमा अभियान केन्द्रीत हुँदा सृजना भएको समस्या समाधानका लागि रुपान्तरण चाहिएको छ।

समुदायको विकास प्रतिको सोच, बसाइसराइ, आर्थिक क्रियाकलापको स्वरुप आदिले चुनौती थपेको छ। सहकारीहरूको पहिचान राखेर विकास गर्नु आजको चुनौती हो। प्राविधिक विकासका कारण उच्चस्तरको वित्तीय सेवा प्रदान गर्न आकारको कारण चुनौती भएको छ। कानुन सहजीकरणभन्दा अभियान कमजोर बनाउने खालको व्यवहार अनुभव गरिएको छ। सहकारी अभियानको राजनीति अभियान हितमा केन्द्रीत छैन। स्वार्थी समूहहरूको पनि दबदबा छ। त्यसैले सुशासनलाई केन्द्रमा राखेर रुपान्तरण खोज्नु परेको छ।

सुशासनका लागि बहुनियामक प्रथा तुरुन्त अन्त्य हुन आवश्यक छ। बचत तथा ऋण सहकारीहरूको कारोबार वित्तीय सेवा भएकाले बचत तथब ऋण केन्द्रीय सहकारी संघ एउटा मुख्य कारोबार र एउटा नियामकको पक्षमा छ। यो नै सुशासनको आधार हो। अहिलेको बचत तथा ऋण सहकारीमा छ भनिएको समस्याको जड नै सहकारीलाई हेर्ने दृष्टिकोणमा निहित छ। जुनसुकै कानुन वा नाममा बहुनियामक हुन सक्दैन।

नियामकहरू पनि नेपाल जनताको करबाट चल्ने भएकाले एक निकायबाट हुनुपर्छ। कसबाट गराउने राज्यको कुरा हो। बहुनियामक हुँदा सुशासन कमजोर भएको छ। समस्या देखाउने मात्र होइन व्यवस्थापन गर्न सक्षम नियामक आवश्यकता हो। सरकार मूल ढोकाबाट आउनु पर्छ। सुशासनका लागि सहयोगी बन्न आवश्यक छ।

अभियानमैत्री नियमन

अभियानमैत्री नियमनका लागि हाम्रो प्रयास अनवरत रहन्छ। सदस्यहरूको हित प्रजातान्त्रिक प्रक्रिया हाम्रो आत्मा हो। यो मारेर नियमन पनि हुन सक्दैन। अभियानको काम भनेको माग गर्ने, सवालहरूको जागरण ल्याउने र समाधानका लागि सहकार्य गर्ने नै हो। बचत तथा ऋण सहकारी अभियानको संरक्षण सरकार, सञ्जाल र सदस्य सबैको जिम्मेवारी पनि हो। नियामकीय भारबहन गर्न सक्नेगरि संस्थागत विकास गर्दै सहकारीहरूको नियमन गर्ने सरकारको आवश्यकता छ।

सरकार अभियानमा दण्ड र पुरस्कार दुवै लिएर नियमन गर्न आउन आवश्यक छ। कानुन मात्र सुधारेर नपुग्ने रहेछ। कार्यान्वयन पनि उति नै महत्त्वपूर्ण हुन्छ। बचत तथा ऋण सहकारीहरूलाई बचत तथा ऋण सहकारीकै रुपमा विकास गर्न पनि नियामक बलियो र पारदर्शी हुन आवश्यक छ। सूचकहरू समसामयिक हुन आवश्यक छ।

कानुनभन्दा पनि जोखिम हेरेर सुधार गराउन सक्ने नियामक चाहिएको छ। नियमन प्रबिधिमा आधारित बनाउन आवश्यक छ र नियामकीय सोच पनि फेरिन आवश्यक छ। आकार, प्रविधि र सोचका विविधताले सहकारी क्षेत्रले दुःख पाएको छ। अब यस्तो दिनको अत्यका लागि रुपान्तरण, पुस्तान्तरण र सञ्जालीकरण आजको आवश्यकता हो।

बचत तथा ऋण सहकारीहरू विश्वासमा संचालन हुने र विश्वासका लागि पारदर्शिता र अनुशासन अपरिहार्य हुने भएकाले ‘सहकारीको अपरिहार्यता : पारदर्शिता र इमान्दारिता’ भन्ने अवधारणा कार्यान्वयन हुन आवश्यक छ। सहकारी कानुनहरूको परिपालना र परिमार्जन गरी वित्तीय अनुशासन र पारदर्शिताको माध्यमबाट सहकारी क्षेत्रको रुपान्तरण गर्न सकिन्छ।

नियमनको पहिलो ध्यान सदस्यहरूको बचत सुरक्षामा हुन्छ। हामीले अलग्गै व्यावसायिक भूमिका खोजेको होइन। अभियानका साझा समस्याहरूको साझा समाधान गर्ने संस्थाको रुपमा विकास गरेको हो।

युवा र उद्यमशीलता

नेपालको सहकारी अभियानमा जनसंख्याको संरचना बमोजिम नै आबद्धता भएको पाउन सकिन्छ। जेन जेडका आवश्यकता पुरा गर्न नै सहकारीमा प्रविधिमा आधारित सेवाको परिकल्पना संघले गरेको हो। अभियानमा नयाँ पुस्तालाई स्वागत हुन आवश्यक छ। भूमिका दिन र सेवामा प्रविधिमा आधारित बनाउन आवश्यक छ। विद्यालयमा सहकारी जान आवश्यक छ। युवाका आवश्यकतामा सहकारी जोडिनुपर्ने खाँचो छ।

सहकारीले युवाका आवश्यकताका सेवाहरू विकास गर्न सकेन भने कसरी चल्छ? नयाँ पुस्ताले नयाँ विचार लिएर आएको हुन्छ। सहकारीमा बहुविचार स्वीकार गर्ने संस्कारको विकास गर्नुपर्छ। युवालाई सहकारीमा जोड्न उद्यमशीलतालाई कार्यक्रमकै रुपमा विकास गरिनु पर्छ। युवाका सवालहरूमा कार्यक्रमहरू विकास हुनु पर्छ। नयाँ सपना मारेर नयाँ विकास सम्भव छैन।

वास्तवमा सहकारी क्षेत्र युवामैत्री बन्न आवश्यक छ। सहकारी अभियानकर्मीहरूले बेलैमा सोचौं र व्यवहारमा उतारौँ, बचत तथा ऋण सहकारी अभियान युवामैत्री बनाउनु पर्छ। थप युवामैत्री बन्न यो पुस्ताको सोचमा पनि सामूहिकता विकास गर्न आवश्यक देखिएको छ।

प्रविधिका साझा समस्या साझा समाधान

डिजिटाइजेसन बोलीमा होइन व्यवहारमा आवश्यक परेकाले नै प्रविधि विकासमा सहकार्य चाहिएको हो। प्रविधि विकास र अंगीकार हाम्रो प्राथमिकता हो। साझा प्रविधिमा सहकारी अभियान जान आवश्यक छ। प्रविधिलाई व्यवसायको रुपमा होइन अत्यावश्यक सेवाको रुपमा विकास गरी साझा समस्याको साझा समाधान दिनु आजको आवश्यकता हो।

प्रविधि विकास निरन्तर प्रक्रिया हो। यसमा अभियान पछि नपर्नेगरि काम हुनुपर्छ। एउटै अभियान एउटै प्रविधि हाम्रो ध्येय हो। प्रविधिको लागत घटाउन, क्षमता विकास गर्न र निरन्तर स्तरवृद्धि सहकारीमैत्री एवं सुरक्षित प्रविधिका लागि साझा प्रविधिमा हामी रुपान्तरण आवश्यक भएको छ। प्रविधिविना सञ्जालीकरणको कल्पना कठिन छ। सञ्जालीकरण प्रविधिमा आधारित सेवाको लागि आवश्यक हो। त्यसैले बचत तथा ऋण सहकारी अभियान प्रविधि सम्बन्धि सोच र व्यवहारमा रुपान्तरणको आवश्यकता छ।

सहकारी दशक : रुपान्तरणका लागि मार्गदर्शन

विश्वभरी स्वीकार गरी कार्यान्वयन गरिएको सहकारी दशकका कार्ययोजनाहरूको कार्यान्वयन रुपान्तरणको मार्गचित्र हो। नेपालको बचत तथा ऋण सहकारी अभियानले आइसीएले सिफारिस गरेका तपसीलका मार्गचित्रमा काम गरेर अभियानको रुपान्तरण गर्न आवश्यक छ। त्यसका लािग आन्तरिक कार्यविधिहरूमा व्यवस्था गरी कार्यान्वयन थाल्नुपर्छ।

  • जीवन्तताका लागि सहकारी सिद्धान्तहरू : सहकारी पहिचानको प्रवर्धन, संरक्षण र सञ्चार
  • सहकारी शिक्षा : सहकारी शिक्षाको पहुँच विस्तारका लागि सबैलाई प्रेरित र शिक्षा विस्तार
  • सम्पदा र सिर्जना : सांस्कृतिक सम्पदाको संरक्षण र सिर्जनात्मक प्रवर्धनका लागि विश्वव्यापी कार्यक्रम संचालन
  • प्रभाव प्रदर्शन : समावेशी वृद्धि र दिगो विकासमा सहकारीहरूको मूर्त योगदानलाई हाइलाइट
  • सहयोगी ढाँचाहरू : सहकारी ढाँचा र संचालन प्रणाली स्वीकार हुने कानुन र नियामकीय प्रणालीहरू विकास
  • वित्तीय पहुँच : सहकारी बैंक र क्रेडिट युनियन समेतको सहकारी वित्त उपकरणहरू सबलीकरण
  • शैक्षिक सहकार्यहरू : बिजनेस स्कूल र अनुसन्धान संस्थाहरूसँग सहकारी उद्यमशीलताका लागि सहकार्य
  • बजार पहुँच : उद्यमशीलता वृद्धिका लागि बजार र पूर्वाधारमा सहकारीहरूको पहुँच वृद्धि
  • समावेशी नेतृत्व : सहकारीमा परिवर्तनको नेतृत्व गर्न महिला, युवा र सीमान्तकृतहरूको सशक्तिकरण
  • रणनीतिक नेतृत्व विकास : कार्यकारी नेतृत्व विकास अनुरुपका कार्यक्रमहरूलाई प्राथमिकता
  • सहकारी मौलिकपन : सहकारीको मौलिक पहिचानको आधारमा विश्व अर्थव्यवस्थाको मुख्य खेलाडीको रूपमा स्थापित
  • ज्ञान सिकाइ आदानप्रदान : नवसिर्जना र सहकार्य हाँक्न स्थानीय र अन्तर्राष्ट्रिय सिकाइ अवसरहरू
  • दिगोपना समाधानहरू : सहकारीको नेतृत्वमा जलवायु अनुकूलन र दिगो विकास लक्ष्य प्राप्तिका प्रयासहरू
  • प्राविधिक सञ्जालीकरण : वृद्धि र प्रतिकिकरणको सशक्तिकरण लागि सहकारिता अनुरुप प्राविधिकरण, कृत्रिम बौद्धिकता र डिजिटल समाधानहरू
  • सामनाका लागि सक्षम सञ्जाल : सहकारी मूल्य शृंखलाहरू, परिचरणयुक्त अर्थतन्त्र, सहकारी प्लेटफर्महरूको सबलीकरण
  • प्रभावयुक्त साझेदारी : अनुसन्धान, शिक्षा, दिगोपन, बेन्चमार्कहरू विकासका लागि सहकार्य

बचत तथा ऋण सहकारीहरू समुदायका संस्था हुन्। समुदायले रुपान्तरण र पुस्तान्तरण खोजेको छ। त्यसका लागि अभियानकर्मीहरू तयार रहन आवश्यक छ। कार्यान्वयन गर्न आवश्यक छ। सहकारीहरूको दिगो भविष्य निर्माणका लागि रुपान्तरण, पुस्तान्तरण र सञ्जालीकरणको खाँचो परेको हो। हाम्रा महान पर्वहरूले रुपान्तरणका लागि प्रेरणा प्रदान गरुन्। सबै अभियानकर्मी र शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना।