काठमाडौं। जेनजीको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा करिब ११ अर्ब रुपैयाँको क्षति भएको छ। भाटभटेनीका २० वटा स्टोरमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको हो।
भाटभटेनीको बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरुपमा आगजनी गरिएको छ। १२ वटा भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलेको भाटभटेनी सुपरमार्केटले जनाएको छ।
स्केलेटर, लिफ्ट, फ्रिजलगायत महँगा सामग्री भवनसँगै जलेर नष्ट भएका छन्। भवनभित्र रहेका सबै सामग्री पूर्णरुपमा खरानी भएको छ। त्यसबाहेक नौ वटा स्टोरमा तोडफोड र लुटपाट गरिएको थियो।

नौवटा स्टोरमा आंशिक क्षति पुगेको भाटभटेनीले जनाएको छ। यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले १२ वटा स्टोर पूर्णरुपमा जलाइएको, बाँकी नौ वटामा आंशिक क्षति पुर्याइएको जानकारी गराएका थिए।
गुरुङले भाटभटेनीमा कार्यरत दश हजार कर्मचारीलाई बिदा नगर्ने बरु संकटको अवस्था रहे पनि दसैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने बताएका थिए।
‘सबै स्टोरमा गरी भाटभटेनीमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँको क्षति भएको छ,’ गुरुङले भने । प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटक पटक प्रतिवद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको बताएका थिए।
भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका नौवटा गरी १९ वटा स्टोरमा चार अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ।

यसबाहेक ५ अर्ब ९६ करोड तीन लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरुपमा जलाइएको छ। यस्तै ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट भएको भाटभटेनीले जनाएको छ।
जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते भाटभटेनीमा आगजनी र लुटपाट मच्चाइएको थियो। त्यस दिनको घटनाले निजी क्षेत्रको मनोबल कमजोर हुन पुगेको छ। तैपनि भाटभटेनीले आफ्ना २८ मध्ये २१ वटा स्टोर यसअघि नै सञ्चालनमा ल्याइसकेको छ।
सरकारले जेनजीको आन्दोलनमा क्षति बेहोरेका व्यावसायिक प्रतिष्ठानलाई आवश्यक सहयोग गर्ने निर्णय गरिसकेको छ।