काठमाडौं। चीनसँगका दुई व्यापारिक नाका बन्दको असर विद्युतीय सवारीसाधन आयातमा परेको छ। इभीको आयात ह्वात्तै घटेको छ।
पोहोर साउन र भदौमा १६०२ वटा प्यासेन्जर इभी आयात भएकामा यसपालि सोही अवधिमा जम्मा ४८६ युनिट भित्रिएका छन्।
रसुवा नाका असार २३ देखि बन्द छ भने साउन र भदौमा अधिकांश समय बन्द रहेको तातोपानी नाका कोदारीको पहिरो हटाएपछि सोमबारबाट बल्ल सञ्चालनमा आएको छ।
दुई नाका बन्द भएका कारण व्यापारीले अहिले कोरला नाकाबाट इभी भित्र्याइरहेका छन्। कोरला नाका भदौ ३० बाट सञ्चालनमा आएको हो।
कमर्सियल इभीको पनि आयात ठप्प जस्तै भएको छ। पोहोर साउन र भदौमा ३९४ युनिट कमर्सियल इभी आयात भएकामा यसपालि सोही अवधिमा भ त्यो संख्या ५८ युनिटमा सीमित भएको छ।
दुई पाङ्ग्रे इभीको आयात भने बढेको देखिन्छ। चालु आवमा दुई पाङ्ग्रे इभी ३ हजार १७५ युनिट आयात भएको छ। गत आवको पहिलो दुई महिनामा यो संख्या २ हजार २४० थियो।
भन्सार विभागले मंगलबार प्रकाशित गरेको तथ्यांक अनुसार साउन र भदौमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे प्यासेन्जर र कमर्सियल गरी ७ हजार २२० युनिट इभी आयात भएको छ।
यसमा प्यासेन्जर इभी ४८६, कमर्सियल इभी ५८, तीन पाङ्ग्रे ३ हजार ५०१ र दुई पाङ्ग्रे ३ हजार १७५ युनिट छन्। ती इभी २ अर्ब १५ करोड रुपैयाँका हुन्। इभी आयातबाट सरकारले १ अर्ब ९ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।
इन्धन सवारीसाधनको आयात भने बढेको छ।
पोहोर दुई महिनामा प्यासेन्जर र कमर्सियल चारपाङ्ग्रे इन्धन सवारीसाधन ९८० युनिट मात्रै आयात भएकामा यो वर्ष सोही अवधिमा१ हजार ७४५ युनिट भित्रिएका छन्। २ अर्ब २३ करोड रुपैयाँका इन्धन गाडि भित्रिंदा सरकारले ४ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
यस्तै दुई पाङ्ग्रे सवारी दुई महिनामा ७ अर्ब रुपैयाँ बराबरका ५९ हजार ७५० युनिट आयात भएका छन्। यसबाट सरकारले ७ अर्ब ३२ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ। पोहोर साउन र भदौमा ४७ हजार ९२९ युनिट दुई पाङ्ग्रे सवारीसाधन आयात भएको थियो।