BIZMANDU
www.bizmandu.com

बीमक संघले भन्यो-जेनजी आन्दोलनबाट भएका साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी

२०८२ असोज ७

बीमक संघले भन्यो-जेनजी आन्दोलनबाट भएका साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी
बीमक संघले भन्यो-जेनजी आन्दोलनबाट भएका साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी

काठमाडौं। बीमक संघ नेपाल अध्यक्ष वीरेन्द्र वैद्यवारले जेनजीको आन्दोलनमा क्षति भएको सम्पत्तिको हकमा साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार गरेको ‘अर्थतन्त्र पुनरोत्थानका लागि अबको आवश्यकता’ विषयक अन्तर्क्रियामा उनले जेनजी आन्दोलनमा भएको क्षतिमा साना खालका दाबी रकम तिहारसम्म भुक्तानी गर्ने बताएका हुन्।

‘निजी क्षेत्रले ८० अर्ब क्षति भएको अनुमान गरेको छ। त्यस हिसाबमा २०/२५ प्रतिशत मात्र बीमाको दायरामा आएको रहेछ। बीमा दाबी गरिएकामध्ये दुई तीनवटा हाई प्रोफाइलका छन्। हामी कम रकमका दाबी तिहारसम्म भुक्तानी गर्छौं,’ उनले भने।

जेनजीको आन्दोलनमा भएको क्षतिमा असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ दाबी परेको छ। २४७८ वटा बीमा दाबी परेको हो। यसअघि २०७२ को भूकम्पले पुर्‍याएको क्षतिमा १७ अर्बको दाबी परेको थियो।

वैद्यवारका अनुसार १ हजार ७ सय दाबी साना प्रकृतिका छन्। ‘यी ४०/५० लाखदेखि २ करोडसम्मका होलान्। साना दाबी भुक्तानीमा समय लाग्दैन,’ उनले भने, ‘ठूला प्रकृतिका दाबीमा हामी एडभान्स दिन्छौं। बीमा कम्पनीहरुसँग २८ अर्ब रिजर्भ छ। आत्तिनुपर्ने अवस्था छैन। हाम्रो पछाडि रिइन्योस्योरेन्सको साथ छ।’