काठमाडौं । सुरक्षाका लागि नागरिकसँग सोझै जोडिने नेपाल प्रहरी जेनजीको प्रर्दशन हिंसात्मक हुँदै गएपछि आफैं सम्पर्कविहीन बन्न पुगे। प्रहरी र जनताबीचको सम्पर्क टुट्यो। सुरक्षाका लागि खोजिने प्रहरी नै असुरक्षित बन्न पुग्यो। प्रहरी शून्यताको अवस्था आपराधिक समूहका लागि अवसरमा रुपान्तरण भयो। त्यसमाथि जसले जे गरे पनि अब प्रहरी आउँदैन भन्ने मानसिकताले उनीहरूलाई हौस्यायो। अहिले पनि धेरैमा संशय छ –आपत् पर्दा प्रहरी नआउने हो कि?
जलेका कार्यालय, लुटिएका हतियार, लुटिएका बर्दीका बाबजुद प्रहरीले आफूलाई छिट्टै ‘रिकभर’ गरेको छ। सुरक्षामा प्रहरी सक्रियता एकाएक बढेको छ। चोरीदेखि जुवाका खालसम्म प्रहरी पुगेर अनुसन्धान गर्न थालेको छ। बंगलादेशमा भएको युवा आन्दोलनपछि प्रहरी यसरी फिल्डमा आउन निकै समय लागेको थियो।
बिहीबार काठमाडौं प्रहरीले रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई पक्राउ गर्यो। उजुरी परेको छोटो समयमा नै साँखुबाट तामाङ गिरफ्तार भए। उनीविरुद्ध जबर्जस्तीकरणीको जाहेरी परेको थियो। साँखुमा रहेको प्रभागले उनलाई पक्राउ गरेको हो।
भदौ २३ र २४ गते जेनजीको आन्दोलनमा साँखु प्रभाग पनि जलेर ध्वस्त भएको थियो। प्रहरी नहुँदा असुरक्षा महसुस गरेका स्थानीय जुटेर प्रभाग मर्मत गरेका थिए। त्यहाँ प्रहरी फर्किने वातावरण बन्दा अभियुक्त पक्राउको आधार बन्यो।
यस्तै, तीन दिन अघि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिमा पर्ने शिव चोकमा एक महिलामाथि खुकुरी प्रहार र लुटपाट भयो। जलेर अस्तित्वविहीन बनेको प्रहरी वृत्त बौद्ध सक्रिय भयो।छोटो अवधिमै खुकुरी प्रहार गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङ पक्राउ परे।
प्रहरी वृत्त बौद्ध जेनजीको प्रदर्शनका क्रममा लुटपाटपछि आगजनीमा परेको थियो। जलेको भवन सफाइ गरेर प्रहरीले त्यहीँबाट काम गरिरहेको छ। शिवचोक नजिकका कागेश्वरी नगरपालिकाको अर्याल गाउँ र गोकर्णेश्वरको जम्बु डाँडामा रहेका प्रहरी बिट पनि जलाइएको थियो। यी दुवै स्थानमा स्थानीयले भोलिपल्टबाट नै भवन मर्मत गरेर प्रहरीलाई भित्र्याए। यसखाले दृश्य धेरै ठाउँमा देखिएको छ जसले प्रहरीको मनबल बढाउन सघाएको छ। त्यसको असर उनीहरूको ‘एक्सन’मा देखिन थालेको हो।

मुलुकभरको तथ्यांक केलाउने हो भने जेनजीको आन्दोलनमा सबै भन्दा धेरै क्षति नेपाल प्रहरीले बेहोर्नु परेको छ। तीन जना प्रहरी ड्युटीका समयमा प्रदर्शनकारीबाट मारिएका छन्। धेरैका बर्दी जलाइएको छ। हतियार लुटिएको छ। त्यसको असर एक दुई दिन प्रहरी आफैं रनभुल्लको अवस्थाबाट गुज्रियो- कसरी काम गर्ने भन्ने मेसो नपाउँदा। तर, नागरिक स्तरबाटै रंगरोगन र चौकी व्यवस्थापना सहयोग पाउन थालेपछि जलेका भवनबाटै काम सुरु भएको छ। सबै प्रहरी ड्युटीमा फर्किएको पनि नेपाल प्रहरीका प्रवक्ता डीआइजी विनोद घिमिरेले बताए।
‘काठमाडौंमात्र होइन, देशभर नै प्रहरी एक्टिभली फर्किएको छ। समाज असुरक्षित हुनुपर्ने अवस्था छैन। अपराध गर्नेलाई प्रहरीले पहिले झैँ कानुनी कारवाहीको बाटोमा ल्याउँछ,’ डीआइजी घिमिरेले भने।
काठमाडौं प्रहरीले दैनिक भएका घटना मात्र होइन, पुराना अपराधमा संलग्नको पनि खोजी थालेको छ। जेनजीको आन्दोलनको मौका छोपेर आपराधिक गतिविधि गर्नेलाई पनि प्रहरीले खोजी गरिरहेको छ। तीमध्ये जिल्ला प्रहरी परिसर काठमाडौंले मात्रै तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-३० रातोपुलस्थित एक घरमा ढुंगामुडा, तोडफोड, आगजनी गरी घरकोठाबाट नगद, सुनचाँदी लगायतका धनमाल चोरी भएको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। पक्राउ पर्नेमा खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका-३ स्थायी घर भई हाल रातोपुल बस्ने २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर भई हाल कामपा-७ बस्ने १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुर हेटौंडा-५ घर भई हाल रातोपुल बस्ने १८ वर्षीय अगम प्रजा हुन्।

अब लाग्छ प्रहरीको १०० नम्बर
जेनजीको प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाभित्र रहेका अन्य कार्यालय झैँ काठमाडौं उपत्यका प्रहरी कार्यालय पनि जल्यो। काठमाडौं उपत्यकाभित्रका सिसिटिभी क्यामरा कन्ट्रोल रुम र जनतासँग जोडिएको कल सेन्टरमा समेत असर गर्यो।
सिंगो मुलुक शून्यमा पुगे झैँ केही दिन त १०० नम्बरको कल लागेन। त्यतिखेर आएका कल उठाउने अवस्थामा प्रहरी नै थिएन। तर अब बिस्तारै प्रहरी नर्मल अवस्थामा फर्किएको छ। अहिले रानीपोखरीमा रहेको कन्ट्रोल रुमलाई काठमाडौं जिल्ला प्रहरी परिसरको भवनमा सारिएको छ।
काठमाडौंभित्र १०० नम्बरमा गरिएको कल यहीबाट ‘रिसिभ’ हुन्छ। त्यस्तै, भक्तपुर र ललितपुरको भने सोही जिल्लाबाट काम भइरहेको छ। १३० जनाभन्दा बढी प्रहरी सीसीटीभी क्यामरा र कल सेन्टरमा २४ सैं घण्टा परिचालित छन्।
‘अहिले समस्या छैन। फोन उठ्छ र प्रहरी घटना स्थलमा पुग्छ। हामीले विभिन्न सिफ्ट गरेर पर्याप्त प्रहरी खटाएका छौँ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले भने।

काठमाडौंभित्र फोन गरेको ५ मिनेटमा ४२ प्रतिशत ठाउँमा पुग्ने गरेको दाबी प्रहरीको थियो। जेनजीको घटनापछि केही समय लम्बिए पनि प्रहरी पुग्न थालेको छ। समुदायले अपराधी समातेमा तत्काल नै पुगेर नियन्त्रणमा लिने अवस्था आइसकेको प्रहरीले जानकारी दिएको छ। नागरिकलाई प्रहरीले बर्दीविनाका प्रहरीका रुपमा अर्थ्याउँदै आएको छ।
सीआइबीले पनि थाल्यो अनुसन्धान
सादा पोसाकमा खटिएर अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) माथि जेनजीको प्रदर्शनमा आक्रमण भयो। लाजिम्पाटमा रहेको कार्यालयमा तोडफोड भयो। अहिले त्यही कार्यालयलाई मर्मत गरेर काम थालिएको छ।
सीआइबीले अहिले जेनजी आन्दोलनको मौकामा चोरी, लुटपाट गर्नेहरुमाथि अनुसन्धान थालेको छ। त्यस्तै, पुराना र ठूला प्रकृतिका अनुसन्धान पनि अघि बढेको छ।
‘हामीले सबै प्रकारका अनुसन्धान थालेका छौं,’ सीआइबीका एसपी युवराज खड्काले भने।
त्यस्तै, काठमाडौं उपत्यकाभित्र गम्भीर प्रकृतिका अनुसन्धान गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि काम थालिसकेको छ। अहिले टेकुमा नै रहेको आफ्नो बन्दै गरेको भवनबाट काम थालेको हो।
प्रहरी टोल टोलमा नपुग्दा र आपराधिक गतिविधि बढेपछि स्थानीयले नै गस्ती गर्न थालेका छन्।