काठमाडौं। जेनजीको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण मनोबल कमजोर भएको निजी क्षेत्रले पुनरुत्थानको प्याकेज ल्याउन सरकारसँग आग्रह गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा राखेको छलफलमा निजी क्षेत्रले पुनर्निर्माणका लागि प्याकेज ल्याउन र सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन आग्रह गरेको हो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले सम्मानित रुपमा काम गर्न सक्ने वातावरणका लागि सरकारबाट सहयोग र सुरक्षाको अपेक्षा गरेको बताए।
‘हामी पनि सम्हालिंदै सरकारसँग सहकार्य गर्न तयार छौं। तर, हामीले सुरक्षित रुपमा व्यवसाय गर्ने वातावरण चाहियो। व्यवसायीको मनोबल बढाउने प्याकेज पनि आवश्यक छ,’ ढकालले भने।
जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते भाटभटेनी सुपर मार्केटका एक दर्जन स्टोर लगायत विभिन्न व्यावसायिक प्रतिष्ठानमा लुटपाट तोडफोड र आगजनी भएको थियो। त्यो घटनापछि निजी क्षेत्रको मनोबल कमजोर हुन पुगेको छ।
महासंघका अध्यक्ष ढकालका अनुसार निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ।
ढकालले आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो क्षति बेहोरेको भन्दै दोषीमाथि कारबाहीको माग गरे। कारबाही नभए दण्डहीनताको अवस्था सिर्जना भै निजी लगानी निरुत्साहित हुने निजी क्षेत्रको भनाइ छ।
निजी क्षेत्रले आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, नयाँ संरचना बनाउन आवश्यक सामान ल्याउन भन्सार लगायत शुल्क र आयकर लगायतमा छुट दिन आग्रह गरेको छ।
महासंका अध्यक्ष ढकालले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पुर्ननिर्माणमा लगाउन सकिने भन्दै त्यसलाई खर्चका रुपमा देखाउन पाउने र अन्य सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराए।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।