BIZMANDU
www.bizmandu.com

आन्दोलनले सातो गएको सेयर बजार : नेगेटिभ सर्किटको ट्रिपल झड्कापछि सुधारको बाटो के?

२०८२ असोज ४

आन्दोलनले सातो गएको सेयर बजार : नेगेटिभ सर्किटको ट्रिपल झड्कापछि सुधारको बाटो के?
आन्दोलनले सातो गएको सेयर बजार : नेगेटिभ सर्किटको ट्रिपल झड्कापछि सुधारको बाटो के?

काठमाडौं। राजनीतिक घटनाक्रमबाट सेयर बजार प्रभावित भइरहन्छ। नयाँ सरकार बन्दा होस् वा मौद्रिक नीतिका कुनै खास घोषणा, बजार कारोबार प्रभावित भएकै हुन्छ। यसपटक जेनजी आन्दोलनको प्रभाव बजारमा देखिएको छ।

Tata
GBIME
Nepal Life

लगानीकर्ता आत्तिएको सेयर बजारको पहिलो कारोबारले नै देखाइसकेको छ। बिक्री चाप अनपेक्षित हुँदा कारोबार नै बन्द भयो। अब फेरि कारोबारको लय के होला भन्ने बजारमा उत्सुकता छ। निर्वाचित सरकार नै आन्दोलनले ढाल्यो। अन्तरिम सरकार गठन भएर मुलुकको राजनीति पुनः लयमा फर्किने संकेत देखिँदा सेयर बजार लगानीकर्ता भने त्रासमा छन्।

नेप्से परिसूचकमा देखिएको भीषण गिरावटले यसको चित्र प्रष्ट देखाइदिएको छ। आन्दोलनपश्चात बिहीबार पहिलो दिन बजार खुलेको केही मिनेटमै लगातार तीन पटक नेगेटिभ सर्किट ब्रेकर लागेर कारोबार बन्द हुन पुग्यो। बजार खुलेको दुई मिनेटमै नेप्से १०७.०४ अंकले घटेर २५६५.२१ विन्दुमा पुगेको थियो। पहिलो सर्किट ब्रेकर लागेपछि बजार २० मिनेट रोकियो। पुनः खुलेको बजारमा गिरावट जारी रह्यो र दोस्रो नेगेटिभ सर्किट लागेर ४० मिनेटका लागि कारोबार बन्द भयो।

दिनभरि जारी गिरावटको क्रममा तेस्रो नेगेटिभ सर्किट लागेपछि बजार दिनभरका लागि बन्द रह्यो। कारोबार ६ मिनेटमात्रै हुन पायो, जसमा कारोबार रकम ७२ करोड ८७ लाख रुपैयाँ थियो। यसले २.६८ खर्ब रुपैयाँको लगानीमा धक्का लागेको छ।

विश्लेषकहरूका अनुसार यस्तो तीव्र गिरावटको मुख्य कारण राजनीतिक अस्थिरता र लगानीकर्तामा आएको अन्योलको सूचक हो। यस पटक गिरावटमा २१७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। विशेषगरी नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स लगायत डेढ दर्जन कम्पनीमा नेगेटिभ सर्किट लागेको छ। जबकी दुवै पुनर्बीमा कम्पनीहरु सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा रहने मात्रै होइन सेयरमूल्य पनि बढ्दै बजारमा लगानीका लागि आकर्षक मानिएका थिए।

यद्यपि दुवै पुनर्बीमा कम्पनीको सेयरमूल्य घट्नुको कारण आन्दोलनपछि खुलेको बजार मात्रै होइन, अन्य व्यवस्थापकीय पनि छन्। आन्दोलनपछिको बजारको चित्र छुट्टै छ। जहिल्यै चाडबाडताका बजारमा कारोबारको गति उच्च हुन्थ्यो। यसपटक दसैंको मुखमा लगानीकर्ता डराए र जति भए पनि आउने भाउमा आफ्नो सेयर बिक्रीमा राख्न थाले। जसले बजारमा अनपेक्षित गिरावट आयो।

चालु आर्थिक वर्षमा नेप्से परिसूचक पहिला पनि उतारचढावको सामना गर्दै आएको थियो। राजनीतिक अस्थिरता, नेपालमा उद्योग र लगानीका चुनौती, विदेशी लगानीको अनिश्चितता, र विश्वव्यापी आर्थिक उतारचढावले बजारमा दबाब बढाएको थियो। भदौ २३ गतेपछि आएको जेनजी आन्दोलनले यो दबाबलाई चरममा पुर्यायो।

सालभरको तुलनामा यसपटक नेप्सेमा थोरै समयमै ठूलो गिरावट देखा परेको छ। यो गिरावटले लगानीकर्तामा चिन्ता बढाएको छ। आन्दोलनले निकै ठूलो क्षति गरेको छ, जसको दाबी भुक्तानीको भार बीमा कम्पनीहरुले उठाउनुपर्ने छ। बीमा कम्पनी बैंकसँग जोडिएका छन्। उनीहरुले विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

दाबी भुक्तानी सुरु गर्दा कतिपय कम्पनीलाई निकै गाह्रो पर्ने अवस्था आउने आकलन सेयर बजारका लगानीकर्ताहरुको छ। त्यसले गर्दा उनीहरु मुनाफा दिन नसक्ने ठानिएका कम्पनीका सेयर बेच्न चाहन्छन्। विश्लेषकहरूका अनुसार, बजार फेरि स्थिरता र सकारात्मक लयमा फर्किन केही प्रमुख कारकहरू आवश्यक छन्।

  • राजनीतिक वातावरण स्थिर हुनुपर्छ – संसद विघटन, सरकार परिवर्तन र आन्दोलनजस्ता घटनाहरूले लगानीकर्तामा डर र अनिश्चितता पैदा गरेका छन्। राजनीतिक स्थिरता आएमा लगानीकर्ताको आत्मविश्वास बढ्ने सम्भावना छ।
  • लगानीकर्तामा विश्वासको पुनःस्थापना – नेप्सेले हालका गिरावट र नेगेटिभ सर्किट ब्रेकर घटनालाई ध्यानमा राख्दै बजार निगरानी, सूचना पारदर्शिता र लगानीकर्ता शिक्षा बढाउने योजना बनाएको छ। यदि लगानीकर्ताले दीर्घकालीन नजर राखेर बजारमा टिक्न सके, बजार फेरि उकालोमा जान सक्छ।
  • कम्पनीको वित्तीय स्थिति र प्रदर्शन – गिरावटमा परेका कम्पनीहरूले आर्थिक योजनालाई मजबुत बनाउनु र पारदर्शिता कायम गर्नु आवश्यक छ। नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र माइक्रो इन्स्योरेन्स जस्ता कम्पनीहरूले आफ्नो वित्तीय स्थिरता देखाउन सकेमा नेगेटिभ असर कम हुनेछ।
  • वैश्विक आर्थिक परिस्थितिको प्रभाव – विश्वव्यापी मुद्रास्फीति, ब्याज दर, र व्यापारिक अस्थिरताले नेपालमा विदेशी लगानी र बजारको लयमा असर पुर्‍याउन सक्छ। तर, स्थिर राजनीतिक वातावरण, कम्पनीहरूको सुधार, र लगानीकर्ताको धैर्यले बजारलाई फेरि सकारात्मक लयमा ल्याउन सक्छ।

अन्तरिम सरकार गठन भएर अर्थमन्त्री नियुक्त भइसकेका छन्। अर्थमन्त्री रामेश्वर खनालले आफू बजार कारोबार बढ्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट पारिसकेका छन्। जनजीवन सामान्य बनिसकेको छ। त्यसैले अब पनि लगानीकर्ताले आत्तिनु कारोबारको हित छैन।

आक्रमणको क्षति खेपेर पनि चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा समूहले फेरि उठ्ने संकल्प गरिसकेका छन्। निजी क्षेत्रबाट आएका प्रतिबद्धता बजारका लागि सुखद् छन्। आगामी फागुनमा चुनाव गराउने म्यान्डेटसहित आएको सरकार पुनःनिर्माणमा गम्भीर देखिएको छ। सरकारले राजस्वको लक्ष्य भेट्न बजार कारोबार चलायमान हुनैपर्छ, जसका लागि वातावरण बनाउने देखिएको छ।

विश्लेषकहरूको सुझावअनुसार लगानीकर्ताले छोटो अवधिको उतारचढावमा हतारिनु हुँदैन। आफूसँग भएका सेयर हतार हतार बेच्नुभन्दा अल्पकालीन र दीर्घकालीन फाइदा दिनेलाई छुट्याउनुपर्छ र, लामो समय राख्दा फाइदा दिनेमा ध्यान केन्द्रित गर्नुपर्छ। यस्तो भए बजारले सुधारको गति लिन सक्छ र सेयर कारोबार फेरि आकर्षक बन्न सक्छ। राजनीतिक स्थिरता र लगानीकर्ताको धैर्यले सेयर बजार फेरि लयमा फर्किन सक्छ।