BIZMANDU
www.bizmandu.com

सभापति देउवा र आरजुमाथि भौतिक आक्रमणको कांग्रेसले गर्‍यो निन्दा, देउवाको गर्दनमा १२ टाँका

२०८२ असोज ३

सभापति देउवा र आरजुमाथि भौतिक आक्रमणको कांग्रेसले गर्‍यो निन्दा, देउवाको गर्दनमा १२ टाँका
सभापति देउवा र आरजुमाथि भौतिक आक्रमणको कांग्रेसले गर्‍यो निन्दा, देउवाको गर्दनमा १२ टाँका

काठमाडौं। नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा‍. आरजु राणामाथि भएको आक्रमणको निन्दा गरेको छ।

Tata
GBIME
Nepal Life

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लोकतन्त्रका लागि अविचलित लडेका देउवामाथि भएको आक्रमणको भर्त्सना गरेको प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बताए।

‘लोकतन्त्रका लागि आजसम्म अविचलित रुपमा संघर्ष गरेका पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणामाथि अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटको घटनाको नेपाली कांग्रेस कडा शब्दमा निन्दा र भर्त्सना गर्दछ। साथै उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ,’ कार्यसम्पादन समितिको निर्णय सुनाउँदै विश्वकर्माले भने।

जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस सभापति देउवा र आरजुमाथि कुटपिट भएको थियो। देउवा निवासमा तोडफोड र आगजानीसमेत भएको थियो। देउवा अस्पतालमा उपचाररत छन्।

बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले देउवाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको जानकारी गराएका थिए।

‘सभापतिज्यूको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। गर्दनमा गम्भीर चोट लागेको देखिन्छ। धारिलो हतियार प्रहार भएको भनिएको छ। १२ वटा टाँका लगाइएको छ। अहिले बोलचाल गर्न सक्नुहुन्छ,’ उपसभापति खड्काले बैठकमा भने, ‘डाक्टरको परामर्शमा केही दिनमा डिस्चार्ज हुने तयारीमा हुनुहुन्छ।’

कांग्रेसले जेनजीको माग सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेकोसमेत बताएको छ। ‘भदौ २३ र २४ गते जेनजीले अघि सारेका मुद्दा भ्रष्टाचार अन्त्य, सुशासनको प्रत्याभूति एवं सामाजिक सञ्जाल सहज गर्ने जस्ता जायज मागलाई आत्मसात गर्दै विधिवत रुपमा सम्बोधन गर्न कांग्रेस सधैं प्रतिबद्ध रहेको ठहर गर्दछ,’ कार्यसम्पादन समितिको निर्णयमा भनिएको छ।

बैठकले शान्तिपूर्ण भनिएको जेनजी प्रदर्शनमा धेरैले ज्यान गुमाएकोले यसको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेको छ।