काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले असोज अन्तिम साताका लागि तय पावर समिट स्थगित गरेको छ।
इप्पानले विकसित राजनीतिक घटनाक्रमलाई कारण देखाएर नवौं संस्करणको पावर समिट स्थगित गरेको हो। पावर समिट असोज २९ र ३० गतेका लागि तय गरिएको थियो।
पावर समिटमा ३० भन्दा धेरै देशका लगानीकर्ता, विकास साझेदार, सरकारी अधिकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी, बैंक र बीमा कम्पनीका प्रतिनिधिलाई निम्ता गर्ने इप्पानको तयारी थियो।
इप्पानले सुरुमा असोज १ र २ गतेका लागि पावर समिट गर्ने भनेकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ अन्तिममा भारत भ्रमण गर्न लागेको कारण देखाएर असोज मसान्तमा धकेलेको थियो। ओलीले भारत भ्रमणका लागि निम्ता पाए पनि मिति तय भएको थिएन।