काठमाडौं। नवनियुक्त शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणका लागि सात दिनभित्र कार्ययोजना बनाउने बताएका छन्।
उनले सोमबार अपराह्न शहरी विकास मन्त्रालय पुगेर पद्भार ग्रहणका क्रममा एक साताभित्र पुनर्निर्माणको खाका तयार गर्ने बताएका हुन्। कुलमानले आगो लागेका संरचनामा संरचनाहरुमा दसैंअघि नै रंगरोगन गरेर सकारात्मक सन्देश दिने बताए।
‘तत्काल गर्ने भनेको पुनर्निर्माण हो। धेरै क्षति भएको छ। पुनर्निर्माणका लागि सात दिनभित्र खाका तयार गर्छौं। कुन प्रक्रियामा लगेर छिटो गर्न सकिन्छ त्यही गर्छौं। भित्रको संरचना बनाउँदै गरौंला, बाहिर रंगरोगनको काम दसैंअघि नै गर्नेछौं। यसलाई कर्मचारीले पनि हेर्नुहोला,’ उनले भने, ‘२४ घण्टामा १८ घण्टा खटेर काम गर्नुपर्ने अवस्था छ।

उनले पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन्। उनले सार्वजनिक सम्पत्ति नेपालीहरुकै लगानीमा पुनर्निर्माण गर्ने गरी कोष खडा गर्ने घोषणा गर्दै यसमा सहयोग गर्न विदेशमा बस्ने नेपालीहरुसँग आग्रह गरेका छन्।
‘हामीलाई धेरै फन्डिङ जरुरी छ। सार्वजनिक संरचना हामी आफैं बनाउन सक्छौं भन्ने सन्देश दिनका लागि सकेको सहयोग गर्न विदेशमा रहेका नेपालीलाई पनि आह्वान गर्छु। कोषको सही सदुपयोग हुन्छ भन्ने ग्यारेण्टी गर्छु,’ उनले भने।