BIZMANDU
www.bizmandu.com

युद्धग्रस्त भूमिको झल्को दिने सिंहदरबारमा दुई घण्टा फेरो, छिट्टै उठ्ने संकल्प पूरा होला?

२०८२ भदौ ३०

युद्धग्रस्त भूमिको झल्को दिने सिंहदरबारमा दुई घण्टा फेरो, छिट्टै उठ्ने संकल्प पूरा होला?
युद्धग्रस्त भूमिको झल्को दिने सिंहदरबारमा दुई घण्टा फेरो, छिट्टै उठ्ने संकल्प पूरा होला?

काठमाडौं। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटबाट छिर्नासाथ बायाँतिर पर्छ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय। भदौ २४ गते भएको आगलागी र तोडफोडबाट मन्त्रालयको आधा भाग ध्वस्त छ।

Tata
GBIME
Nepal Life

पार्किङमा रहेका कुनै पनि गाडी तथा मोटरसाइकल सद्दे छैनन्। यसअघि काममा व्यस्त देखिने समृद्ध सिंहदरबार परिसरले आइतबार भने युद्धले क्षतिग्रस्त भूमिको झल्को दिइरहेको थियो- बाटोभरि छरपस्ट खरानी र नाकमा ठोक्किने नमिठो गन्धले।  

बिहान साढे ११ बजेतिर मन्त्रालय परिसर पुग्दा अधिकांश कर्मचारी कार्यालय बाहिर अलमलिएका देखिए। केही कर्मचारी आगलागी र तोडफोडबाट भएको क्षतिको विवरण निकालिरहेका थिए – मुचुल्काका लागि।

कोही क्षतिग्रस्त गाडीको च्यासिस र इन्जिनमा चकले घोट्दै थिए- कवाडीमा रुपान्तरित भएका गाडीको पहिचान गर्न। केही कर्मचारी त्यसैको टिपोट गरिरहेका थिए।

संघीय मामिलाजस्तै शिक्षा, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय लगायतका भवन क्षतिग्रस्त भएका छन्। सबै मन्त्रालय परिसरमा रहेका गाडी जलाएर नष्ट पारिएपछि अधिकांश कर्मचारी आइतबार वैकल्पिक उपाय लगाएर मन्त्रालयमा हाजिर भए।

शिक्षा मन्त्रालय परिसरमा रहेका एक कर्मचारीले भने, ‘सहसचिवहरू समेत मोटरसाइकल चढेर अफिस आउनुभयो।’

मुलुककै सुरक्षाको जिम्मा लिएको गृह मन्त्रालय आफैं गम्भीर घाइते भएको देखियो आगलागी र तोडफोडले। आगजनी भएको पाँचौँ दिनमा पनि क्षतिग्रस्त मन्त्रालयमा काम हुन सकेको छैन। अधिकांश कर्मचारी कार्यालय परिसरमा अलमलिरहेका देखिए।

मन्त्रालयमा क्षति पुगेर काम हुन नसकेपछि धेरैजसो कर्मचारी यताउतिका भवन नियाल्दै हिँडिरहेका थिए। सबैभन्दा धेरै भिड चाहिं मुख्य ‘सिंहदरबार’ अगाडि देखियो। जुन भवनको नामबाट देशको प्रशासनिक निकायको नाम रह्यो, २४ गतेको आन्दोलनले त्यही भवनको नामोनिशाना मेटाएको छ।

यसअघि २०७२ को भूकम्पले चिराचिरा पारेको भवनलाई १० वर्ष लगाएर बल्लतल्ल पुनर्निर्माण गरिएको थियो। यो भवन सञ्चालनमा आएको पनि केही महिनामात्रै भएको थियो। अब भने जगैबाट फालेर नयाँ बनाउनुपर्ने देखिन्छ। जसका लागि मुलुकले केही अर्ब खर्च बेहोर्नुपर्ने छ।

भत्किएका संरचना फेरि उठ्लान तर त्यहाँभित्र रहेका महत्त्वपूर्ण कागजपत्र र दस्तावेज जति समय र पैसा खर्च गरे पनि नेपालले फिर्ता पाउन सक्ने छैन। जलेर ध्वस्त भएको सिंहदरबारको शीरमा भने भर्खरै टाँगिएको राष्ट्रिय झण्डा फहराइरहेको थियो। आगलागीपछि कर्मचारीले फेरेको झण्डाले सायद ‘म फेरि उठ्ने छु’ भन्ने संकल्प गरिरहेको हुनुपर्छ।

सिंहदरबार भवनकै पूर्वपट्टिको भागमा छ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय। यो पनि क्षतिग्रस्त अवस्थामा नै छ। सेतो सिंहदरबारको धेरैजसो झ्यालढोकाबाट निस्किएको मुस्लोले बाहिरी भाग कालै बनाएको छ- कतै गाढा त कतै फिक्का।

मन्त्रिपरिषद् कार्यालयको मुख्य ढोकाबाट केही कामदारले सद्दे रहेका सरसामान गाडीमा लोड गरिरहेका थिए। ती अन्यत्र काममा आउनसक्ने भएकाले सार्न थालिएका थिए। यही परिसरमामात्र २७ वटा गाडी जलेर नष्ट भएका देखिए। मोटरसाइकल तथा स्कुटरका अवशेष पनि यत्रतत्रा देखिन्थे।

तत्काल सञ्चालन ल्याउन नसक्ने देखिएपछि प्रधानमन्त्री कार्यालय नजिकै नवनिर्मित भवनमा सारिएको छ। जुन भवन यसअघि गृह मन्त्रालयका लागि बनाइएको थियो।

२०६४ अघि प्रतिनिधि सभा रहेको भवन अगाडि अझ टीठलाग्दो अवस्था छ। जहाँ १०० भन्दा बढी गाडी र मोटरसाइकल खरानी बनेका छन्। कर्मचारी ओसार्न प्रयोग हुने ३ वटा ठूला बसको पनि अवशेष मात्रै बाँकी छ।

२०४६ पछिको संसदीय अभ्यासको साक्षी भनेको प्रतिनिधि सभाको पुरानो भवन अहिले पनि निर्माणाधीन छ। यो आफैंमा एउटा बलियो इतिहास हो जसलाई २०७२ को भूकम्पले गम्भीर घाइते बनाएको थियो। यही भवन २४ गतेको हिंसात्मक आन्दोलनको पनि साक्षी बन्यो। यहाँ पुग्ने जो कोही पनि प्रतिनिधि सभाको त्यो भवनले फेरि यस्ता गतिविधिको साक्षी बन्नु नपरोस् भन्ने कामना गरिरहेका थिए।  

नियमित सेवामा फर्किए यी मन्त्रालय

प्रधानमन्त्री कार्यालय सामुन्ने रहेको अर्थ मन्त्रालयका कर्मचारी आंशिक क्षतिकै बीच नियमित काममा फर्किएका छन्। मन्त्रालयको आधा भवन धुँवाले कालै भएको छ। परिसरमा रहेका १५ वटा गाडी र त्यसभन्दा बढी दुई पाङ्ग्रे कामै नलाग्ने गरी नष्ट भएका छन्। ती कति सरकारी थिए कति निजी अन्दाज गर्न सकिने अवस्थामा छैनन्।

अर्थ मन्त्रालयले आइतबारबाट भुक्तानी प्रणाली पनि सञ्चालन ल्याएको छ। मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले सबै काम नियमित भएको बताए। उनले भने, ‘क्षतिको आकलन गर्नुका साथै नियमित काम सुरु भइसकेको छ। अप्ठ्यारो अवस्था भएकाले झन् छिट्टै उठ्नुपर्ने छ।’

अर्थको छेउमै रहेको परराष्ट्र मन्त्रालय भने आक्रमणकारीको निसानाबाट बचेको छ। यहाँ रहेका हाइ इन्ड सरकारी गाडी सुरक्षित छन्। मन्त्रालयमा नियमित काम सुरु भइरहेको देखियो। यसका साथै महिला बालबालिका, शहरी विकास, वन तथा वातावरण, रक्षा, पर्यटन र भूमि व्यवस्था मन्त्रालयका भवनमा क्षति पुगेको छैन। यहाँ काम गर्नका लागि असहज छैन।

सञ्चार मन्त्रालय, छेउमै रहेको राष्ट्रिय योजना आयोग पनि सामान्य अवस्थामै छन्। त्यस्तै श्रम मन्त्रालय पनि पुरानै अवस्था देखियो।

जसले पहिलेकै अवस्थामा जसरी काम गरेर मुलुक नियमित अवस्थामा रहेको देखाउन खोजेका छन्। तर, भवनभन्दा बढी बिथोलिएको छ कर्मचारीको मन।

काम गर्न सकिने भवनमा पनि कर्मचारी पूर्णरुपमा काम गर्न अलमलिएका छन्। सिंहदरबार जलेको पीडासँगै कतिपय कर्मचारी राजनीति कता जाने र आफ्नो मन्त्रालयको जिम्मेवारीमा को आउला भन्ने विषयले कौतुहल देखिन्थे। त्यसैले मोबाइलमै उनीहरू समाचार स्क्रोल गर्दै गरेका दृश्य स्वाभाविक देखिन्थ्यो।