काठमाडौं। सागर डिष्टिलरीले सर्वसाधारणका लागि सोमबारदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सोमबारदेखि सेयर निष्कासन गर्न लागेको हो।
सागर डिष्टिलरीले सर्वसाधारणलाई ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता सेयर छुट्याएको छ।
कम्पनीको सेयरमा सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा असोज २ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ।
वैदेशिक रोजगारी, कर्मचारी र सामूहिक लगानी कोषलाई वितरण गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागिएको हो।
सेयर निष्कासन गर्न कम्पनीले गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ दिएको छ।
जसले समयमा वित्तीय दायित्व बहन गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको जनाउँछ। कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।
सागर डिष्टिलरीले आर्थिक वर्ष २०८१/८२ सम्म २३ करोड १३ लाख रुपैयाँ सञ्चित नाफामा रहेको वित्तीय विवरण पेस गरेको छ। त्यस अवधिसम्म प्रति सेयर आम्दानी ०.५९ र प्रति सेयर नेटवर्थ १०६.८७ रुपैयाँ छ।
कम्पनीका अध्यक्ष अल्का गोयल हुन्। कम्पनीमा उनको सेयर स्वामित्व १०.६३ प्रतिशत छ। यस्तै, आशुतोष खेतानको १४.५२, दिपेश खेतानको २.५८, प्रेमबहादुर बरालको २.२०, संदीप जलानको ९.१४ र भोभा मिश्रको ३.४९ प्रतिशत सेयर स्वामित्व छ।