काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जिम्मेवारी सम्हालेकी छन्। उनले देशको ४२औं प्रधानमन्त्रीका रुपमा आइतबार जिम्मेवारी सम्हालेकी हुन्।
सिंहदरबारमा गृह मन्त्रालयका लागि भनेर बनाइएको भवनमा तयार पारिएको नयाँ कार्यालयमा कार्कीलाई मुख्यसचिव एकनारायण अर्याल र सचिवहरुले स्वागत गरेका थिए। यसअघिका प्रधानमन्त्रीलाई जस्तो स्वागतका लागि कर्मचारीको लाइन थिएन। कर्मचारीको हातमा बुके पनि थिएन।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन्। उनले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय पनि गरेकी छन्।
मुख्यसचिव अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी हुन्। १३४ प्रदर्शनकारी र ३४ प्रहरी गरी १९१ जनाको उपचार भइरहेको छ।
प्रधानमन्त्री कार्कीले देश शून्य अवस्थामा पुगेको बताएकी छन्। उनले सिंहदरबार र अदालतमा योजनाबद्ध रुपमा नै आक्रमण भएको आशंका सचिवहरुसामु गरिन्।

‘भवन त बनाउन सकिन्छ। तर, फाइल जलेर हामी शून्यमा पुगेका छौं। मुलुकका आवश्यक संस्थामा छानीछानी प्रहार भएको छ। अदालतका फाइल नष्ट भए। प्रहरीका भवन जले। सिंहदरबारभित्रका फाइल जलाइए। यो देखेर मलाई लाज पनि लागेको छ। यस्तो गर्नेलाई कसरी नेपाली भन्ने? अनुहार देखाउन नसक्ने पुर्याइएको छ,’ उनले भनिन्, ‘प्लान्ड वेमा षडयन्त्रै भएको हो कि भन्ने लाग्छ। यसरी नोक्सान गर्नेलाई अनुसन्धान गरेर कारबाही गर्नुपर्ने अवस्था छ।’
प्रधानमन्त्री कार्कीले आफू ६ महिनाभित्र चुनाव गराउने अठोटसहित जिम्मेवारी लिएको भन्दै सहयोग गर्न कर्मचारी र प्रहरीसँग आग्रह गरिन्। उनले आफू सत्ताको स्वाद लिनका लागि प्रधानमन्त्री नबनेको र जेनजीको माग अनुसार जिम्मेवारी लिएको स्पष्ट पारिन्।
‘कुन परिस्थतिमा यो अन्तरिम सरकार गठन भयो भन्ने यहाँहरुलाई विदितै छ। २७ घण्टामा जनधनको ठूलो क्षति हुन पुग्यो। म रहरले आएको होइन। सत्ताको रसास्वादन गर्न आएको होइन,’ उनले भनिन्, ‘६ महिनाभन्दा बढी नबस्ने र नयाँ जनप्रतिनिधिलाई जिम्मा सुम्पिने अठोटसहित आएको हो। यसका लागि यहाँहरुको सहयोग चाहिन्छ। प्रहरीको सहयोग चाहिन्छ।’