विश्व बैंक र विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले भन्छ ‘स्वास्थ्य क्षेत्रमा गरिने खर्च, लगानी हो जसबाट प्रतिफल मिल्छ।’ यस खाले अध्ययनले पोषण चेतनामा गरिएको १ डलरले १२.२० डलर बराबरको प्रतिफल दिनुले सरकारको खर्चबाट हुने प्रतिफलको व्याख्या गर्छ। तर, के हामीकहाँ भएको लगानी र त्यसबाट हुने लाभको कुनै अध्ययन भएको छ त?
अमेरिकामा सरकारले प्रति नागरिक ८० डलरभन्दा माथि खर्च गर्छ। नेपालमा त्यो तीन चौथाइ कम अर्थात् २० डलर बराबर रहेको देखिन्छ। कम लगानी अर्थात् कम प्रतिफल वा जोखिमतिरको यात्रा। त्यसले नेपालमा कस्तो असर पारिरहेको छ त? डा. नवराज केसीको ‘स्वस्पर्श’ले अर्थतन्त्रको यस खाले आँकडाको व्याख्या त गर्दैन तर दुरूह दृश्यको करुणामय तस्बिर पेस गर्छ।
चिकित्सा सेवाका क्रममा जम्काभेट भएका सर्वसाधारणका कथाव्यथा संगृहित पुस्तक ‘स्वस्पर्श’लाई लेखकले आशा, प्रेरणा र खुसीका कथाका रूपमा अर्थ्याएका छन्। पेसाले चिकित्सक डा. केसीले यसअघि ‘शून्यको मूल्य’ मार्फत आफ्नो लेखकीय यात्राको थालनी गरेका थिए।
आफूसँग उपचार गराउन आएका पात्रको उनी ‘केस स्टडी’ गर्छन्। बिरामीहरू उनका डेटा हुन्। उनले तिनको गुणात्मक विश्लेषणमार्फत दुर्गम भेगको स्वास्थ्य क्षेत्रको अवस्था उजागर गर्छन्। उपचारका क्रममा तिनको आर्थिक अवस्थासँगै समाजशास्त्रको गहिराइसम्म पुग्नु लेखकको विशेषता हो।
उनीसँग पुगेका बिरामीमध्ये उनको छनोटमा परेका प्रत्येक ‘केस’ले स्वास्थ्य क्षेत्रको चेतना र राज्यले गरेको लगानीमाथि बारम्बार प्रश्न गर्छ। मानसिक समस्याको विकराल अवस्थामा त्यससँग भिड्नका लागि आँट र प्रेरणा दिन्छ। कतिपय कथा उनले आफ्ना बिरामीभन्दा बाहिरबाट पनि लिएका छन्। तिनको संघर्ष र सफलताले थपडी बजाउन हौस्याउँछ।
पुस्तकमा तीन अध्याय छन् जसले पाठकलाई बारम्बार मुलुकको जनस्वास्थ्यको अवस्थाले भावुक बनाउँछ। कुरीति र कुप्रथाले झकझक्याउँछ। विज्ञानको विषयमाथि काव्यिक लेखन संरचनाले मन छुन्छ, उद्वेलित बनाउँछ। राज्य र उसले गरेको लगानीमाथि प्रश्न गर्न बाध्य पार्छ। त्यसभन्दा पनि धेरै आत्मविश्वासका लागि सेवाप्रति समर्पित हुन प्रेरणा दिन्छ। प्रेरकप्रति सम्मानको भाव जगाउँछ।
बुद्ध, विज्ञान र बुद्धु
जाजरकोटका पत्रकारमार्फत डाक्टर केसीसम्म ल्याइएका जङ्गबहादुर चल्न चटपटाउन नसक्ने हुन्छन्। उपचार अभावले लामो समय गुज्रिएका उनको उपचार हुन्छ। आमाको ढाडमा आएका उनी ठमठमी हिँड्दै घर फर्किन्छन्। तर ३ महिनाको लागि औषधि लिएर गएका उनी फर्किन्नन्। लेखक उनको प्रतीक्षामा हुन्छन्। तर, ती बालक गायब। पत्रकारले छाडेको ‘फलो-अप’ डाक्टरले नै थाल्छन्। अनि देखिन्छ राज्यले दिने भत्ताको सन्दर्भ।
‘…जङ्गबहादुर अपाङ्ग हुँदा पालिका र अरू संस्थाबाट अपाङ्गता भत्ता वर्षको करिब ४०-४५ हजार पाउने कुरो रै’छ। अब ऊ हिन्न थालेपछि अपाङ्ग भत्ता कट्ने भयो।’
जङ्गबहादुर हिँड्न सक्यो भने उसले भत्ता नपाउने भयो। भत्ता काटिने डरले उनीहरूले औषधि छाडिदिए। डाक्टर केसी लेख्छन्, ‘देशको एउटा दुर्गम गाउँमा अपाङ्गता भएको बच्चाको भत्ताले परिवारको रोजीरोटी र बाबुको दारु पानीको केही अंश चलिरहेको थियो!’
२०८० कार्त्तिकमा गएको भूकम्पले लेखकलाई जाजरकोट पुर्याउँछ। उनी त्यहाँबाट जङ्गबहादुरको घर पुग्छन् कठिन यात्रा गरेर। त्यहाँ जङ्गबहादुरका बाबुले छोरो बचाउन गरेको खर्चको हिसाब किताब सुन्छन्- बाख्रा बेचेदेखि ऋण काडेसम्मका कथा। टुट्नै नसक्ने गरी जकडिएको रक्सीको नशा। भूकम्पपछि सरकारले दिएको राहतका लागि गरेको प्रतीक्षा र त्यसबाट ऋणमुक्त हुनुपर्ने बाध्यताले छोराको उपचारप्रतिको निरीहता सबै बयान गर्छ।
आत्महत्याका लागि ‘सुसाइड नोट’ लेख्दालेख्दै अभिभावकको नियन्त्रणमा आएका किशोरको काउन्सिलिङले सुरु हुने सन्दर्भबाट मानव मस्तिष्कको जिम खानामा प्रवेश गर्छन् र अर्थ्याउँछन् स्वास्थ्य विज्ञान। त्यही जोड्छन् बुद्धको धर्मचक्रप्रवर्तन।
मानसिकता परिवर्तनले कसरी माग्ने श्रमजीवीमा रूपान्तरित हुन्छ भन्ने गर्बेको कथाले पाठकको मन छुन्छ। यही सन्दर्भबाट लेखकले मानसिक रोग र त्यसका विरुद्ध आत्म नियन्त्रण र अभ्यासको विषय उठान गर्छन्। बिपी कोइरालाको दोषी चस्मा यही जोडिन्छ। उनले एन्जाइटी र डिप्रेसनको जरो कसरी बलियो हुन थाल्छ भन्ने सन्दर्भ ल्याएर प्रस्ट्याउँछन्। दोषी चस्माको चक्र तयार पार्छन् र त्यसलाई सुल्टाउने बुद्धको पथ पहिल्याउन सुझाउँछन्- अष्ट मार्ग।
लेखकमा परिवेशको डिटेलिङ गर्ने खुबी गजबको लाग्छ। उनी मन्दिरेको कथा सुनाउँदा उसको आधा काटिएको हात, आधा च्यातिएको टोपी र उनको आकार प्रकार दुरुस्त व्याख्या गर्छन्। त्यही उनले पेस गरेको तस्बिरले कल्पना गर्न निषेध गर्छ – सोझै देखाउँछन् फोटो। मन्दिरे अस्पताल वरपर खाली बट्टा र कागज बटुल्ने व्यक्ति। त्यही दर्शनशास्त्र पेस हुन्छ। डाक्टर केसी लेख्छन्, ‘वास्तविक मानव जीवनको साँचो करेन्सीमा हामी सबैको गरिबी उस्तै-उस्तै छ, अमिर पनि उस्तै-उस्तै छ।’ जस्तोसुकै पीडामा पनि हाँसिरहने मन्दिरेको कथनलाई उनले आफैँले देखे झैँ बयान गरेका छन्। लेखक चिकित्सक भए पन आख्यानमा उनको बेजोडको शक्ति देखिन्छ। अभ्यास र लेखनलाई रोचक शैलीमा सिद्धान्त मिसाउन उनी खप्पिस लाग्छन्। यथार्थबाट एकाएक उनी आख्यानमा पुग्छन्। पात्रको मनोभावलाई सदृश्य व्याख्या गर्छन्। यहाँनेर पाठक झुक्किन्छन् – आख्यान या गैर आख्यान?
पृथ्वीमा एउटा जीवले भोग गर्ने वास्तविक धनको गणना हुँदो हो त संसारका सबैभन्दा धनी र गरिबबिच खासै फरक होला भन्ने लेखकको ठम्याइ हुन्छ।

धन्न प्रकृतिले अक्सिजनको पैसा माग्दैन !
दोस्रो अध्याय प्रश्न र जवाफ सहित सुरु हुन्छ – मान्छे शरीरभित्र समाज बोकेर जन्मिन्छ। कोभिड १९ को सन्त्रास र उपचारका लागि पुगेका कथा, पुर्याउनेका साहस जोडिन्छ। कोरोना सङ्क्रमित पत्नीलाई अस्पताल पुर्याएका वृद्धका वाणीले उनलाई चिमोट्छ। ती वृद्ध भन्छन्, ‘अइल्या मान्छे हराय, बाउ, हरेक थोकाँ भाग तोक्या हन्।’
लेखक त्यसपछि सास फेर्ने हावाको मूल्यको हिसाब निकाल्न थाल्छन्।
‘कोरोनाले सिकाएको- एउटा मानिसले एक दिनमा तीन सिलिन्डर बराबरको सास लिने रहेछ। एउटा सिलिन्डरको मूल्य सात सय रुपैयाँ। एक दिनको २१ सय। एक वर्षमा सात लाख ६६ हजार सात सय। ६५ वर्ष बाँच्ने मानिसले नै करिब पाँच करोड बराबरको निःशुल्क अक्सिजन पाउने रहेछ,’ उनी लेख्छन्, ‘धन्न प्रकृतिले यसको पैसा माग्दैन।’
यसरी नै जीवन अर्थशास्त्रको गहिराइबाट नापो लिन्छन् लेखक। पृथ्वीमा एउटा जीवले भोग गर्ने वास्तविक धनको गणना हुँदो हो त संसारका सबैभन्दा धनी र गरिबबिच खासै फरक होला भन्ने लेखकको ठम्याइ हुन्छ। गरिबीकै अवस्था पनि जीवनमा रङ भरिरहेका उनीसम्म पुगेका बिरामीका कथा उनी उतार्छन्। पीडामा मुस्काउनेहरू उनका लागि प्रेरक बनेर आउँछन्।
पछिल्लो समय सबैभन्दा विकराल बनेको मानसिक रोगमाथि लेखक हरेक अध्यायमा केही न केही समेट्छन्। समकालीन परिवेशमा मानसिक रोगसँग जोडिएका ‘डिप्रेसन’ र ‘माइन्डफुलनेस’ विश्वभर चर्चित शब्द हुन्। डाक्टर केसीले यिनलाई केस स्टडीबाट सैद्धान्तिक धारसम्म पुर्याएका छन् बुझ्ने शैलीमा। तिनलाई बुझ्न दृश्यमार्फत थप सहजीकरण गरिएको छ पुस्तकमा। डिप्रेसनको सिकार पाइला टेक्न नथाल्दै आउन सक्नेप्रति सचेत गराएका छन् उनले। साना बालिकाको अनुहारमा खुसीको अर्थशास्त्र पढ्छन् उनी। ‘आफूलाई चाहिएको माया किन्ने “माया करेन्सी” पनि अरूलाई दिन सकेको माया पो रहेछ!,’ लेख्छन्, ‘आज मैले सानी नानीको अनुहारमा वास्तविक खुसीको अर्थशास्त्र पढ्न पाएँ।’
माथि नै मैले गैर आख्यानभित्र आख्यान घुसेको सन्दर्भ लेखिसकेँ। पढ्दै जाँदा डाक्टरले आफूलाई कविका रूपमा स्वीकारेका रहेछन्। त्यसको असर पुस्तकमा कविता र कविताका अंशहरू समेटिएका छन्।
आत्महत्या गरेका कविहरूले लेखेको कवितामा अरूले भन्दा धेरै ‘म, मलाई र मेरो’ शब्दको प्रयोग हुन्छ। आत्म केन्द्रित नभई अरू कसैको सेवामा लाग्नेले पाउने प्रतिफलको मूल्य अमूल्य रहेको ठम्याउँछन् लेखक केसी।

स्वनिर्माणको सन्दर्भमा साँवा ब्याजको हिसाब किताब
लेखक हिसाब किताबसहित प्रश्न गर्छन् – अरूलाई दिएको एक मुठी खुसीमा ब्याज र साँवा गरेर कति मुठी फिर्ता पाउँछ मन्छेले? तेस्रो अध्यायलाई प्रश्नबाटै अगाडि बढाएका छन् लेखकले। अरूलाई दिन सक्ने सबैभन्दा सुखी र निरोगी हुने कथा हाल्छन् उनी। ‘नवराज भेडा’को डिप्रेसनसँगको संघर्ष कसरी अरूलाई सेवा गर्दा सहज रूपमा पार भयो रोचक लाग्छ। यहाँनेर डाक्टर केसी कथा वाचक बन्छन् नवराजसँग सुनेको आधारमा। डिप्रेसनको र निदाउने ओखतीको लत भएका नवराज सडकमा छाडिएका पशुको सेवामा लागेपछि उनको औषधि टुट्यो। विना औषधि निदाउन थाले।
नवराजले भेडाले कुकुरदेखि गाई हुँदै गिद्धसम्मको उद्धार गरेपछि आफूभित्रको डिप्रेसन र एन्जाइटीका लागि खाँदै आएको औषधिमा विराम लाग्यो। सेवा उनमा स्वनिर्माण भयो। यसैलाई लेखकले विभिन्न तथ्यहरू जोडेर व्याख्या गरेका छन् – आत्महत्या गरेका कविहरूले लेखेको कवितामा अरूले भन्दा धेरै ‘म, मलाई र मेरो’ शब्दको प्रयोग हुन्छ। आत्म केन्द्रित नभई अरू कसैको सेवामा लाग्नेले पाउने प्रतिफलको मूल्य अमूल्य रहेको ठम्याउँछन् लेखक केसी।
त्यसै गरी किरण किशोर सापकोटाको कथाले मानिस मानसिक रूपमा कमजोर हुँदा कसरी उसले सक्ने काम पनि गर्न सक्दैन भन्ने तथ्य स्थापित गर्छ। पोलियोका बाबजुद साइकल कुदाउने उनको हौसला र स्कुल स्कुलमा बिरुवा रोपेर हरियाली बनाउने अभियानले प्रेरित गर्छ – केही गर्न।
लेखकले पुस्तकमा आफ्नो मात्र विचार र दृष्टिकोण दिएका छैनन्, विभिन्न पात्रका अनुभव र अनुभूतिलाई उनीहरूकै मुखबाट बोलाएका छन्। जति पात्र र अनुभूतिको सन्दर्भ आउँछ सबै फरक लाग्छन्। जब प्रेरणाको सन्दर्भ आउँछ सबैको एकै निचोड देखिन्छ।
रिटायर आमाको कथाले बालबालिका हुर्काएको सन्दर्भ उठाउँछ। उनीहरूमाथि गरिने लगानीको विषयले ठाउँ लिन्छ। बालबालिकाको फेरिएको जीवनको मात्र मूल्यांकन गर्दैन, त्यसबाट उनले पाएको प्रतिफलको पनि परिणाम देखाउँछ। लगानी र प्रतिफललाई तथ्यांकीय विषयमा मात्र सीमित गरियो भने घोर अन्याय हुन्छ। तथ्यांकले आत्मसन्तोषको मूल्य निकाल्न सक्दैन। किनकि त्यो अमूल्य हुन्छ।
अस्मिताको कथाबाट लेखकले पुस्तक विट मार्छन्। वादी समुदायबाट आफ्नै बुत्तामा उभिएकी उनी अहिले धेरैलाई आफूजस्तै उभ्याउने कर्ममा तल्लीन छिन्। उनको जीवन अंश यति प्रेरक छ कि त्यसको तुलना कतै पनि हुन सक्दैन।
शून्यको मूल्य पुस्तकबाट लेखन यात्रामा आएका डाक्टर केसीको यो पुस्तकले अघिल्लोभन्दा लेखनीमा स्तरीकरण गरेको छ। लेखन शैली होस् या सम्पादन, दुवैमा पहिलोभन्दा बलियो बनेको छ। पहिलोको अनुभवले उनलाई थप निखारेको छ। पेसाले चिकित्सक हुन् लेखक। तर, लेखन पेसामा रहेका भन्दा अब्बल बनेर उत्रिएका छन्। पात्रमा कथा खोज्नु, त्यसलाई बुद्धले अनुसरण गरेको मार्गमा लगेर जोड्नु र मानवताको अर्थशास्त्र बुझाउन सक्नु उनको सफलता हो।