BIZMANDU
www.bizmandu.com

त्रुटि प्रायश्चित गरेर कांग्रेसलाई नयाँ पुस्ताको आकांक्षासँग जोड्नुपर्छ : डा. शेखर

२०८२ भदौ २८

त्रुटि प्रायश्चित गरेर कांग्रेसलाई नयाँ पुस्ताको आकांक्षासँग जोड्नुपर्छ : डा. शेखर
त्रुटि प्रायश्चित गरेर कांग्रेसलाई नयाँ पुस्ताको आकांक्षासँग जोड्नुपर्छ : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले भदौ २३–२४ मा भएका घटनापछि मुलुक नयाँ राजनीतिक प्रयोगतर्फ अगाडि बढेको भन्दै कांग्रेसलाई जनताको विश्वास पुनः जित्न आह्वान गरेका छन्।

Tata
GBIME
Nepal Life

कोइरालाले शनिबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा देखिएको युवाको ऊर्जा र त्यसकै परिणामस्वरूप बनेको नयाँ सरकारले नागरिकको भरोसा जितेर काम गर्ने विश्वास व्यक्त गरेका छन्। तर, आन्दोलनकै नाममा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र व्यक्तिप्रति गरिएको अमानवीय व्यवहारलाई उनले ‘२१औं शताब्दीको सभ्य समाजले स्वीकार गर्न नसक्ने जघन्य अपराध’ को रूप भनेका छन्।

आन्दोलनमा कांग्रेस सभापति शेरबहादुर देउवा र उनको परिवारमाथि भएको आक्रमणलाई उनले निन्दा गरेका छन्। ‘हामीसँग आँसु बगाएर समय खेर फाल्ने विकल्प छैन,’ कोइरालाले भनेका छन्, ‘विगतका त्रुटिबाट प्रायश्चित गरेर कांग्रेसलाई नयाँ पुस्ताको आकांक्षासँग जोड्नुपर्छ।’

उनले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासहितका अग्रज नेताले लोकतान्त्रिक आन्दोलनमा छोडेका पदचिन्हलाई मार्गदर्शन मान्दै कांग्रेसले भावी दिशा निर्धारण गर्नुपर्ने बताएका छन्। भदौ २४ मा आगजनीबाट जलेको विराटनगरस्थित ऐतिहासिक कोइराला निवास भौतिक रूपमा खरानी बने पनि विचारमा अमर रहने लोकतान्त्रिक आन्दोलनको मन्दिर को रूपमा रहने उनले बतएका छन्। ‘कोइराला निवासको खरानी बिजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौं,’ उनले भनेका छन्।

अहिले कांग्रेसले नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनैपर्ने भन्दै उनले दसैंपछि देशव्यापी बहस र छलफलमा सहभागी हुने तयारी रहेको जानकारी दिएका छन्। ‘अब सत्ताको केन्द्रमा को छ भन्ने गौण प्रश्न हो, कांग्रेस जनताको केन्द्रमा बस्ने अभियानमा लाग्नुपर्छ,’ उनले भनेका छन्, ‘न दाजुको, न भाइको, कांग्रेस कांग्रेसजनकै हो भन्ने भावनासहित अघि बढौं।’