काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योग व्यवसाय गर्ने वातावरण बनाउन माग गरेको छ।
जेनजी आन्दोलनका क्रममा औद्योगिक एवं व्यावसायिक क्षेत्रमा परेको गम्भीर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्ता त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको सीएनआईले बताएको छ।
लगानीकर्ता त्रसित भइरहने स्थिति भए त्यसको गम्भीर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्वाध उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूति दिलाउन सीएनआईले आग्रह गरेको छ।
‘सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुनर्निर्माणका लागि खर्बौं लगानी आवश्यक पर्ने देखिन्छ। राज्यको स्रोतले मात्रै पुनर्निर्माण गर्न सक्ने अवस्था छैन। राज्यको प्रमुख आय स्रोत निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भयमुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न परिसंघ आग्रह गर्दछ,’ सीएनआईले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी भनेको छ।
अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउनुपर्ने सीएनआईको भनाइ छ।