काठमाडौं। जेनजीको आन्दोलनका क्रममा क्षति पुर्याइएका भन्सार कार्यालयले सेवा सुरु गरेका छन्।
औषधि, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको जाँचपास नियमित गरिएको भन्सार विभागले जनाएको छ।
विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार कार्यालयहरू नाजुक अवस्थामा भए पनि आपूर्ति प्रणाली टुट्न नदिन जाँचपास सुरु गरिएको छ।
‘अत्यावश्यक वस्तुको सप्लाई चेन टुट्न नदिन विभाग सचेत छ। त्यही भएर क्षतिग्रस्त भएका भवनबाट समेत अत्यावश्यक वस्तुको जाँचपास नियमित गरिएको छ,’ उनले भने।
आगामी साताबाट अन्य वस्तुको समेत नियमित जाँचपास गरिने उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले कार्गो जाँचपास आइतबार सुरु गर्नेछ। विमानस्थल भन्सार कार्यालयका प्रमुख टंक लम्सालले यात्रुतर्फको भन्सार नियमित रहेको र कार्गोको जाँचपास भने आइतबार सुरु गर्ने बताए।
आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण भैरहवा, नेपालगंज, कैलाली, मेची, विराटनगर, काँकडभिट्टालगायत भन्सार कार्यालयमा क्षति पुगेको छ।
विभागका महानिर्देशक भण्डारीका अनुसार कार्यालयहरूमा भएको क्षतिको यकिन विवरण अहिलेसम्म आइसकेको छैन। कुनै कार्यालय पूरै क्षतिग्रस्त भएका छन् भने कुनैमा आंशिक क्षति पुगेको छ।
चीनसँग जोडिएको मुस्ताङको कोरोला नाका पनि आइतबारबाट नियमित सञ्चालन हुने भएको छ। कोरोला नाकामा विभिन्न वस्तु बोकेका ११ वटा कन्टेनर आइपुगेका छन्। ११ वटा विद्युतीय गाडी (ईभी) पनि आएका छन्।
यी सबैलाई आइतबार जाँचपास गरी भित्र्याइने विभागका महानिर्देशक भण्डारीले जानकारी गराए।