विराटनगर। एकैछिन आँखा चिम्म गर्दा पनि मीनबहादुर गुरुङको अगाडि दनदनी बलिरहेका भाटभटेनी सुपरस्टोरका दृश्यहरु घुम्न थाल्छन्।
३२ वर्षको रगतपसिनाले खडा गरेका स्टोरहरु एकै दिन जलेर खरानी भएको देख्दा उनको छाती भित्र केही फुटेजस्तै हुन्छ।
त्यहाँ स्टोरहरु मात्र खरानी भइरहेका थिएनन्, हजारौं युवाका सपना, साना उद्यमीका आशा र घरेलु व्यापारीका भविष्यहरु पनि सँगसँगै बलिरहेका थिए।
नेपाल बैंकको जागिर छाडेर आफ्नै उद्यममा होमिएका उनले दिनरात, ठण्डी-गर्मी नभनी खटेर तयार पारेका थिए भाटभटेनी।
अघिल्लो दिन १९ जना युवाले एकै ठाउँ ज्यान गुमाएको घटनाले देश नै अनिंदो थियो। मीनबहादुर पनि निदाउन सकेका थिएनन्। भदौ २३ गते गह्रुँगो मन बोकेर उठेका उनले सपनामा पनि सोचेका थिएनन् दिन ढल्दासम्म उनको जीवनभरको मेहनत धुवाँधुवाँ हुनेछ।
नक्सालको भाटभटेनी सुपरस्टोर उनी नियमित पुग्छन्। किनभने यहीँबाट विस्तार भएको हो भाटभटेनीको साम्राज्य। त्यहाँ पुग्दा उनले देखे- सन्तानसरहको स्टोर धुँवाको मुस्लोमा हराएको छ।
‘त्यो दृश्य कहिल्यै भुल्न सक्दिनँ,’ मीनबहादुरको स्वर भत्किन्छ, ‘मेरो छातीभित्र केही टुक्रिएजस्तै भयो। तर, सबैभन्दा पहिले मैले सोचे- मेरा छोराछोरीसरहका कामदारहरू सुरक्षित छन् कि छैनन्?’

सुरुमा उनले श्रीमतीलाई ‘इङ्गेज’ गर्न सानो कोल्डस्टोर खोलिदिएका थिए। चल्न थालेपछि त्यसलाई अलिक ठूलो रुप दिए। नक्सालस्थित कोल्डस्टोर भएको ठाउँमा २०५० साल भदौ १ गते विधिवत रुपमा सुरु भयो- भाटभटेनी सुपरस्टोर।
त्यही बेलादेखि उद्यमको सपनाको उडानलाई आकार दिएका मीनबहादुर अविराम देशभर आफ्नो उद्यमशीलता विस्तारमा लागिरहे। तर, उनको त्यो सपनामा भदौकै महिनामा प्रहार भयो।
देशभर रहेका भाटभटेनीका २८ मध्ये २३ सुपरस्टोर प्रदर्शनकारीको निसानामा परे। तीमध्ये १२ वटामा आगो झोसियो, जहाँ सामानमात्र जलेनन्। रोजगारी गर्ने बाहेक भाटभटेनीका स्टोरमा बिक्री गर्न मकै भुट्ने र रोटी बेल्नेदेखि पूजाका धूप बाट्नेसम्मका मानिसका लागि ढोका बन्द भयो। धेरै घरेलु उद्यमको निर्धक्कको बजार गुम्यो।
अनर्सा, सेलरोटी, पापडदेखि तरकारी, कागती, फलफूल, दूध, दही, घिउ उत्पादन गर्ने किसान र डेरी उद्योग लगायत उद्यमीका सपना एकै निमेषमा खरानी भए। भाटभटेनी जलाउनेले मीनबहादुरको सपना जलाइयो भनेर हर्ष उल्लास गरे।
तर, मीनबहादुरको भन्दा बढी सपना साना व्यापारीका जले, ती स्टोरमा काम गर्ने प्रत्यक्ष रुपमा रोजगारी पाएका १० हजार जनाको सपना खरानीमा परिणत भयो।
‘यी साना र घरेलु अनि स्वरोजगार उद्यमीहरूको मुख्य आश्रय भाटभटेनी नै हो। यस्ता उद्यमी पनि हजारौँको संख्यामा हुनुहुन्छ। ती सबैको सपना जल्यो,’ मीनबहादुरले बिजमाण्डूसँग भने, ‘मेरो उद्यमशीलताको मन्दिर ध्वस्त भयो। तर मलाई रुने छुट छैन। मसँग जोडिएका ती हजारौं व्यक्तिको सपना ब्यूँताउने शक्ति कायम गर्नुछ।’
आगजनीले अर्बौंको क्षति गराएको छ तर उनले यकिन गरिसकेका छैनन् कति गुम्यो। मीनबहादुरले व्यापारको नाफा घाटा कहिल्यै हेरेनन्। भएको नाफा त्यही स्टोरमा लगाए। उब्रिएको नाफा समाज सेवामा।
उनी एक हातले लिन्थे, अर्को हातले दिन्थे। मीनबहादुरले उद्यमशीलता विस्तारसँगै धेरै उतारचढाब ब्योहोरेका छन्। स्वदेशभित्रै कर्म गर्ने र समाजसेवामा मुठ्ठी फुकाउने मीनबहादुर राजनीतिक प्रतिशोधको निशानामा परिरहन्छन्। तर, उनी आफ्नो मनोबल कहिल्यै पनि कमजोर पार्दैनन्।

मीनबहादुर माथि पहिलो पटक आक्रमण भएको होइन। राज्यले बिनाकुनै प्रमाण महिनौं थुन्यो। अनेकौं मुद्दा लगायो। तर मीनबहादुर थाकेनन्। अरुले कुनै न कुनै बहानामा लगानी बाहिर लैजाँदा उनले भने देशभित्रै बिस्तार गरेर बैगुनीलाई गुनले मार्न खोजे।
राजा फर्काउने भन्दै गएको चैत १५ गते भएको प्रदर्शनका क्रममा भाटभटेनीको कोटेश्वरमा रहेको स्टोर तोडफोड र लुटपाट भएको थियो। दुर्गा प्रसाइँ नेतृत्वको आन्दोलनले भाटभटेनीलाई निसाना बनाएको थियो। भदौ २३ र २४ को जेनजी आन्दोलनमा कोटेश्वरको स्टोर खरानीमा परिणत गरायो।
‘अब हामी यसको मूल्य हिसाब गर्न सक्दैनौँ। केवल दुःखी सम्झनाहरू र आँशुका कथा मात्र बाँकी छन्,’ मीनबहादुर भावुक सुनिए।
एउटा सानो स्टोरबाट विशाल भाटभटेनीको संरचना खडा गरेका मीनबहादुर अरूभन्दा फरक छन्। खरानीबाट फेरि उठ्ने आशा सुनाउँछन्।
‘हामी घरेलु उद्यम र स्वरोजगारलाई खरानीमै छाड्न दिनेछैनौं। हामी सबै खरानीबाटै उठ्ने छौं। पहिलाजस्तै हुने छौं र यी ससाना उद्यमी व्यवसायी र रोजगार युवायुवतीका आशा, भरोसा, सपना र विश्वासलाई बलियो बनाउने छौं,’ उनले भने।
निजी क्षेत्रका अरु उद्योगी व्यवसायीलाई पनि मनोबल उँचो पारेर हिम्मतका साथ फर्कन उनले आग्रह गरेका छन्।
‘हामी हारेका छैनौं। यस घटनाले हाम्रो मनोबल टुटेको छैन। हामी पाल टाँगेर भए पनि स्टोरहरू पुनः सञ्चालनमा ल्याउने छौं,’ उनले भने, ‘हामी पहिलेभन्दा राम्रो गर्नेछौं। किनभने हामीसँग इमान र निष्ठा छ। लगनशीलता र प्रतिबद्धता छ। मातृभूमिप्रति अगाध माया छ। अनि आत्मविश्वासका साथ अहोरात्र खट्ने जाँगर र क्रियाशीलता पनि छ।’
भाटभटेनीसँग दसौं हजार जेनजीको भविष्य जोडिएको छ। ती युवाको सकारात्मक पाटोलाई नजिकबाट अनुभूति गरेका छन् उनले। त्यसैले काम गरिरहेका युवालाई सोध्थे– पढाइ चाहिँ कहाँ पुग्यो? उनको यही व्यवहारले धेरै युवालाई प्रगतिको पथमा लम्क्याइरह्यो।
भाटभटेनीका सबै स्टोरहरूमा गरेर १० हजारभन्दा बढी युवा रोजगार छन्। एक वर्षयतामात्रै २ हजारभन्दा धेरै युवाले यहाँ रोजगारी पाए। ती अधिकांश जेनजी पुस्ताका छन्। तीमध्ये ९० प्रतिशत त महिला मात्रै।

‘म उहाँहरूलाई सधैँ देशभित्रै रोजगार भएको, हाँसेको र रमाएको हेर्न चाहन्छु,’ उनले भने, ‘मसित मेरो व्यापारको मात्र होइन, उहाँहरूको जीवन र भविष्य पनि गाँसिएको छ भन्ने मैले ठानेको छु।’
भावुक खालका मीनबहादुरलाई यिनै पुस्ताले भग्नावशेष भवनबाट फेरि उठ्न प्रेरित गर्छ। सबैभन्दा धेरै क्षति ब्यहोरेको कम्पनीका सञ्चालक सबैभन्दा छिटो उठ्ने आँट त्यसै गर्दैन। लगानी थप्ने हिम्मत सजिलै जुट्ने विषय पनि होइन। त्यसैले उनी अरूभन्दा फरक छन्। भन्छन्, ‘मेरो संकल्प छ, म उहाँहरूको भावना र सपनामाथि कुठाराघात गर्दिन। स्टोर छिटोभन्दा छिटो सञ्चालनमा ल्याएर सबैलाई रोजगारीमा फर्काउन चाहन्छु।’
किन पटक पटक भाटभटेनी आक्रमणको निसानामा पर्छ? त्यतातिर मीनबहादुरले मलतब गरेका छैनन्। व्यावसायीलाई साहसी लगानीकर्ता ठान्छन् उनी। त्यसैले मनोबल गिर्न नहुने तर्क गर्छन्।
भाटभटेनीजस्तै सरकारी र निजी क्षेत्रका व्यावसायिक संरचना क्षतिप्रति दु:खी सुनिए उनी। निजी क्षेत्रप्रति सबैभन्दा धेरै क्षति भाटभटेनीले बेहोरेको उनलाई थाहा छ। तर पनि उनमा आँट छ।
‘भाटभटेनीका धेरै स्टोर र यहाँभित्र रहेका सामानहरू खरानी भएका छन्, लुटिएका छन् र फुटेका छन्,’ उनले भने, ‘तर हाम्रो मनोबल र जाँगर खरानी भएको छैन। हाम्रो हिम्मत र साहस लुटिएको छैन। हाम्रो सपना फुटेको छैन।’